काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालालाई भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन दबाब परेको छ। मोदीले शपथ कार्यक्रममा सार्क मुलुकका सरकार प्रमुखलाई निमन्त्रणा गरेपछि प्रधानमन्त्री कोइराला छोटो समयका लागि भए पनि भारत भ्रमणमा जानुपर्ने दबाबमा परेका हुन्।
भारतको विदेश मन्त्रालयले शपथमा सहभागी हुन औपचारिक पत्र पठाएपछि प्रधानमन्त्रीका सहयोगीहरूले बैठक नै बसेर उनलाई भारत जान दबाब दिएका छन्। मोदीको नि ता स्वीकार गर्दै शपथ ग्रहण समारोहमा सार्क मुलुकहरू श्रीलंका र आफगानिस्तानबाट सरकार प्रमुख तथा बंगलादेशबाट सभामुख सहभागी हुने भएका छन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतबाट प्रधानमन्त्रीलाई आएको निम्तोलाई सकारात्मक रूपमा लिएको बताए।
उनले भने, ‘यसबारे बिहीबार प्रधानमन्त्री कोइरालासँग सल्लाह गरेर निर्णय लिनेछौं’ छिमेकमा शान्तिपूर्ण ढंगबाट आमनिर्वाचन सम्पन्न भएको र त्यसबाट चुनिएर आएका नेताले आफ्नो शपथ ग्रहणमा सार्क मुलुकहरूलाई विशेष महत्त्व दिएर बोलाएको अवस्थामा १८ औं शिखर सम्मेलन गर्न लागेको नेपालले सकारात्मक रूपमा लिनुपर्ने उनको तर्क छ।
भारतीय विदेश सचिव सुजाथा सिंहले नेपाल समकक्षी शंकरदास बैरागीलाई मोदीका तर्फबाट प्रधानमन्त्री कोइरालालाई शपथग्रहण कार्यक्रममा सहभागी हुन बुधबार निमन्त्रणापत्र पठाएकी छन्।
भारतले नयाँ शैली अपनाएको भन्दै प्रधानमन्त्रीलाई सहभागी हुन केही मन्त्री र दलका नेताहरूले भेटेर वा टेलिफोनमार्फत सुझाउ दिएको प्रधानमन्त्री निकट स्रोतले बतायो। ‘छिमेकी हाम्रा लागि महत्त्वपूर्ण हुन् र सरकारको प्राथमिकतामा पनि छन्। आर्थिक विकासका लागि दुवै छिमेकी भारत र चीनसँगको सहकार्य अपरिहार्य छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक अधिकारीले भने।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले भने, ‘भारतले प्रधानमन्त्रीको शपथमा छिमेकी मुलुकको उपस्थिति गराउन चाहनु राम्रो हो। कुन स्तरको सहभागिता रहने छलफल गरी टुंगोमा पुगिनेछ। दक्षिण एसियाली मुलुक तथा छिमेकप्रति मोदीले देखाएको सद्भाव र महत्त्वको सम्मान गर्नुपर्छ।’
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाका अनुसार भारतका प्रधानमन्त्रीले पहिलोपटक आफ्नो शपथमा छिमेकी मुलुकका सरकार प्रमुखलाई पनि बोलाउनु नितान्त नौलो विषय हो। उनले भने, ‘सार्क मुलुकमा पहिलोपटक यस प्रकारको परिपाटी मोदीले सुरु गर्न खोज्नुभएको छ। यो राम्रो हो, जानु उपयुक्त हुन्छ। यसले सार्क मुलुक र छिमेकलाई उनले महत्त्व दिएको स्पष्ट हुन्छ।’
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वप्रमुख निश्चलनाथ पाण्डेले भने, ‘युरोपेली मुलुकका प्रधानमन्त्रीहरू एकअर्का मुलुकमा ब्रेकफास्ट तथा लन्च मिटिङमा जान्छन् र फर्कन्छन्। अहिले यो काम मोदीले सुरु गर्न लागेका छन्, यस्तो अवसर नेपालले छुटाउनु हुँदैन।’ उनले भारतको निम्तो तथा चीनको एक्स्पो दुवैमा प्रधानमन्त्री जानु राम्रो हुने बताए।
चीनको युनान प्रान्तको कुन्मिङमा जेठ २३ देखि २७ सम्म हुने दक्षिण एसिया एक्स्पो उद्घाटनसत्रमा सहभागी हुन प्रधानमन्त्री कोइरालालाई चीनबाट नि पहिला नै आइसकेको अन्नपूर्ण पोष्टमा खबर छ ।
















प्रतिक्रिया