७ कार्तिक २०८३, शनिबार

खोलामा आफू चढेको गाडी डुबेपछि के भने मन्त्री महासेठले ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २८ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा.२झ ४०२९ नम्बरको गाडी पल्टेको हो । गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो ।

दैनिक तीनवटा मिनिबस, १० जिप र मालवाहक सवारीसाधनहरू दरौँ खोलाको यही भँगालोबाट वारपार गर्न बाध्य छन् । देशकै पहिलो होमस्टे भनेर चिनिने स्याङ्जाको सिरुबारीसम्म दरौँ खोलो हुँदै सवारीसाधन चल्छन् । पोखराबाट स्याङ्जा सदरमुकाम हुँदै अर्जुनचौपारी बजार आउने गाडी जोखिमपूर्ण रूपमा दरौँ खोलो तरेर सिरुबारीसम्म पुग्छन् । स्थानीयले असोजदेखि जेठसम्म यसरी नै यात्रा गर्नुपर्छ । बर्खाको तीन महिना यो रुटमा यातायात बन्द हुन्छ ।

सहरे खोलामा मन्त्री महासेठले शिलान्यास गरेको पुल तयार भए दरौँमा अर्को पुल आवश्यक नपर्ने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल बताउँछन् । ‘दरौँ खोलानजिकै ठूलो पहरो छ । त्यो पहरो केही महिनाभित्रै फोड्ने योजना छ । त्यसपछि दरौँ नतरी किनारैकिनार सहरे पुगिन्छ । त्यहाँ पुल बनेपछि खोलाबाट गाडी तर्नुपर्दैन,’ उनले भने ।

पुल अर्जुनचौपारी–३ हुँदै आँधीखोला–१ जोडिने मार्गअन्तर्गत पर्छ । तीन करोड सात लाख लागतमा पुल निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जिएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले बताए ।

गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याल भन्छन्–मन्त्री आउने भनेपछि पूरै दुई दिन मेसिन चलायौँ, खोलाका ठूला ढुंगा पन्छायौँ, सडकका खाल्टा पुर्‍यौँ, तर चालकको कमजोरीले मन्त्री खोलामा डुब्नुभयो

सहरे खोलामा पुल शिलान्यास गर्न आउने भनेपछि बाटो बनाउन दुई दिनसम्म म आफैँ खटिएँ । आठ–आठ घन्टा पूरै मेसिन चलाउन लगाएँ । खोलाका ठूला ढुंगा फालियो, सडकमा ग्राबेल हालेर खाल्टा पुरियो । हिजो साँझ र आज बिहान पनि सडक अवलोकन गरेको हुँ । मन्त्रीको गाडी सलल जाओस् भनेर कुनै कसर बाँकी राखिनँ । दुई दिनमा ६० हजार खर्च भयो । तर, मन्त्रीको चालकको कमजोरीले गाडी खोलामा पल्टियो, मन्त्री डुब्नुभयो । धन्न ठूलो दूर्घटना भएन ।

पुल शिलान्यासमा मन्त्री महासेठले भने–चुनावका वाचा पूरा गर्छौँ

सरकार चुनावमा गरेका वाचा पूरा गर्न लागेको छ । सरकारले अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको छ । स्याङ्जाको सेतीदोभान–घन्टे–पर्वत सडक र वालिङ–बारिकुना–चापाकोट–रामपुर सडक प्राथमिकताका सडक हुन् । सरकारले स्याङ्जालाई विशेष रूपमा हेरेको छ । सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागिएको छ ।