७ कार्तिक २०८३, शनिबार

तत्कालीन एमालेबाट निर्वाचित सप्तकोशीका नगर प्रमुखसहित चार जनालाई पक्राउ पुर्जी

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, जेठ । राष्ट्रिय वन क्षेत्रको जग्गालाई हानी नोक्सानी गरेको भन्दै सप्तकोसी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा र १ का वडाध्यक्ष नारायणकुमार आचार्यसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । मेयर शर्मा र वडाध्यक्ष आचार्य तात्कालीन नेकपा एमालेबाट निर्वाचित हुन् । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

सप्तरी जिल्ला अदालतको जेठ ८ को अनुमतिले डिभिजन वन कार्यालय राजविराजले उनीहरु विरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेको हो। शर्मा, आचार्यसँगै सप्तकोसी नगरपालिका–१ का दुर्गा फुयाल र तुलाराम लुइँटेलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन प्रमुख धिरेन्द्र सिंहले बताए। उनका अनुसार फुयाल र लुइँटेल राष्ट्रिय वनको जग्गामा भइरहेको कुलो निर्माणमा लागेकाहरू हुन्।

राष्ट्रिय वनलाई नै क्षति पुग्ने गरी ९७ मिटर लामो, २ मिटर गहिरो र २ मिटर चौडाइको कुलो खन्न थालिएको अवस्थामा पटक पटक लिखित रुपमा काम रोक्न पत्राचार गर्दा पनि नमानेपछि अदालतको अनुमतिमा पक्राउ पूर्जी जारी गर्नुपरेको सिंहले बताए। ‘राष्ट्रिय वनमा आफूखुसी जथाभावी कुलोपैनी निर्माण गर्न पाइदैन,’ डिभिजन वन प्रमुख सिंहले भने, ‘रोक्नका लागि भन्दाभन्दै पनि मानेनन्। अनि बाध्य भएर मुद्दाकै प्रक्रियामा जानुपर्‍यो।’

चारै जनालाई ल्याउन सुरुमा वनकै सुरक्षाकर्मीको टोली जाने भएको छ। वनको टोलीसित नआए प्रहरीको सहयोगमा पक्राउ गरिने सिंहले बताए। चारै जनामाथि वन क्षेत्रको जग्गा हानी नोक्सानी गरेको मुद्दा छ। उक्त मुद्दामा कसुर प्रमाणित भए १० हजारसम्म जरिवाना र १ वर्ष सम्म कैद हुने कानुनी प्रावधान छ।

यसबारे बुझ्न खोज्दा सप्तकोसीका नगरप्रमुख शर्मासित सम्पर्क हुन सकेन। वडाध्यक्ष आचार्यका विरुद्ध भने वन कार्यालयको यो दोस्रो पक्राउ पुर्जी हो। उनीविरुद्ध गत पुस ४ मा पनि पक्राउ पुर्जी जारी भएको थियो।

आचार्यको ना ४ त १८४५ नम्बरको ट्रयाक्टरबाट सप्तकोसी-१ को अमाहा खोलाबाट गैरकानुनीरूपमा बालुवा–गिटी उत्खनन् गरि निकालेको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो।

खोलामै ट्रयाक्टर पक्राउ गरिएपछि वडाध्यक्ष आचार्य र उनका छोरा सुशीलले भीड जम्मा गरी ट्रयाक्टर जबर्जस्ती लिएर गएको भन्दै दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि वनले अझैसम्म नियन्त्रणमा लिन सकेको छैन। डिभिजन वन प्रमुख सिंहले वडाध्यक्ष आचार्यलाई पक्राउ गर्न प्रहरीले सहयोग नगरेको आरोप लगाउँदै आएका छन्।