३० आश्विन २०८३, शुक्रबार

यो नाटक के को लागि लेनिन बाबु ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्लीराम अम्माई

बेल्जियम । केही वर्ष अगाडि रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले भनेका थिए ‘नेपालमा गरिब जनतालाई प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न वाध्य पारिएको छ । भारतलाई समेत सुरक्षा चुनौती बढाउन सक्ने भएकाले तत्काल धर्म परिवर्तन रोक्न मैंले नेपालका प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराएको छु । धर्म परिवर्तन चिन्ता गर्नुपर्ने विषय भएको र त्यसले नेपाललाई समस्यामा पार्ने बताएपछि दुवै नेताले चिन्ता व्यक्त गर्नुभयो।नेपालको धर्म परिवर्तनले बढोत्तरी पाइरहेमा भारतलाई समेत खतरा आउनसक्ने भएकाले आफूहरू चुप लागेर बस्न सकिन्न ।’

आफूले चाहेको धर्म मान्ने अधिकार सबै नागरिकका लागि छूट भएको तर करकाप र प्रलोभनबाट धर्म परिवर्तन गराउने प्रवृत्ति कदापि मान्य हुन सक्दैन । नेपालमा हिन्दु राज्य कायम हुनुपर्छ भन्ने भाजपाको लाइन हो भनी सोधिएको प्रश्नमा जोलीले भनेका थिए ,‘नेपालमा के हुनुपर्छ भन्ने निर्णयकर्ता नेपाली जनता हुन् भारत सधै त्यसको सम्मान गर्छ। तर धर्म परिबर्तन गराउने बहानामा नेपालबाट दक्षिणतर्फ साम्प्रदायिक बिद्रोहको लागि हुन सक्ने साम्राज्यवादी हस्तक्षेप अस्वीकार्य हुने’ उनले बताएका थिए।

अहिले नेपाललाई सांस्कृतिक,राजनैतिक र एतिहासिक रुपमा आक्रमण गर्ने तत्वहरु भारतबाट नभएर पश्चिमा दुताबास नियोग र आइएनजीओ मार्फत सल्बलाई रहेका छन्। नेपालमा रहेको बाम आन्दोलन समाप्त पार्नु, नेपाललाई एसिया प्यासिफिक पश्चिमा रणनीतिको आधार सिबिरमा स्थापित गर्दै भारत र चिनिया भूराजनैतिक नियन्त्रण गर्नु,सनातन सांस्कृतिक र धार्मिक मान्यता भत्काउन धार्मिक मिसिनरीलाई सक्रिय पार्नु र साम्राज्यबादीहरुको नगदी निर्देशनमा नेपालका सत्तासिन नेता, प्रतिपक्षी नेतालाई असफल राज्य बनाउन क्षमता अनिशारको भूमिका दिनु अहिले उनीहरुले खेल्दै आएका छद्म खेलहरु हुन्। अहिले नेपालबाट एउटा जनयुद्धको बालसैन्य नामक भुत मन्साउन युरोपका केही अनुदारवादी तप्का र त्यसको प्रचार गर्न केहि नामको पछाडी त्यान्द्रो झुण्ड्याउन असक्षम मिडिया समेत लागेका रहेछन। नेपालबाट फर्के पछि त्यो देखेर ताजुप लागेर आयो ।

साथीहरुलाई थाहा हुनु पर्ने हो यहाँबाट लगिएका अधिकतम आइएनजीओ वा अन्य मिसनरी नेपाली जनहितको लागी आएका हैनन्। त्यहाँका कमजोरी खोज्ने, भाषिक, सांस्कृतिक र धार्मिक स्थापित आस्था ध्वस्त पार्ने र नेपालको आत्मा सम्मानलाई पराधिन बनाउने यिनीहरुको रणनीति हो। जसमा लेनिन बिष्ट जस्ता अति महत्वाकांक्षी पात्रलाई समातेर नेपाली नेताहरुको मौलिक स्वाभिमानलाई किनबेचको लागि बार्गेनिंग गर्ने वा बाध्य पार्ने उनीहरुको अन्तिम लक्ष हो। त्यसमा लेनिन पनि काम नलाग्ने गरि दुरुपयोग हुने छन् र उनलाई हिरो बनाएर साम्राज्यवादीको दैलोमा न्यायको भिख माग्न हिडाउनेहरु , सस्तो प्रचार गरिदिनेहरु सामाजबाट सर्पको काचुली झैँ फ्याकिने निश्चित छ। म त अझै भन्छु, साथीहरु बिदेशी अदालतले दिने न्याय भनेको फिरंगीले औपनिवेशिक कालमा अफ्रिकन वा भारतियहरुलाई दिएको न्याय भन्दा फरक हुने छैन। कृपया एक अबोध नेपालीलाई कुनै स्वार्थबस आइएनजीओको कुनै एक मिसनारिले उचाल्यो भन्दैमा ‘हा हा’ मा ‘हो हो’ नमिलाउनु होस्। हाम्रो देश निरिह बनाउन तल्लिन, हाम्रा नेता देश द्रोही बनाउन तल्लिन त्यहि मिसनरीको रमिता हेरेर बस्ने संस्कारको साक्षी नबनौं। यी मिसिनरी भन्दा दलदलमा फँसेका भएपनि नेपाली नेताहरु राष्ट्रबादी छन्। नेपाली नेताहरु जनमुखी हुन नसके पनि हामीलाई दलालहरुको भन्दा हाम्रै नेताको माया लाग्नु पर्छ।

‘विदेशीले न्याय दिन्छन भनेर बिदेशका गल्लि गल्लि झुकेर हिड्नु भन्दा लेनिन बाबु,जाउ न्यायको लागि पशुपति , स्वयम्भु र मुक्तिनाथको माटोको टिका लगाएर गर्बसाथ मन्डेलामा अनसन बस, सकिन्छ हाम्रो धर्ति चिरेर बगेका तीन नदीले स्नान गरेर आफ्नो माग सहित आवाज सुनाउ। तर मेरो देशमा राजनैतिक, सांस्कृतिक र धार्मिक हस्तक्षेप गर भनेर फिरंगीसंग तिम्रो न्यायलाई नसाट।’ उनलाई महान सम्झेर हिड्ने साथीहरुले पनि बुझ्नु पर्ने हुन्छ कि प्रचलित संविधान, ऐन–कानुन वा नियमभन्दा पनि मौलिक परम्परा, स्थापित मान्यता र सामाजिक मर्यादासहित बाँचेको आत्मिक दृढता सतिसाल जस्तो अजम्बरी हुन्छ, आँधीबेरीहरूमा त्यो बेपत्ता हल्लिन्छ– ढली नै चाहिँ हाल्दैन ।

“अब भने हस्तक्षेप गर्ने अवस्था हुन लाग्यो लौ युरोपियन वा कुनै काका बाबु मेरो न्यायको लागि हस्तक्षेप गर …” भन्ने कोकोहोलो साम्राज्यबादी मिसिनरी र तिनको तलुवा चाट्ने कथित मानब अधिकारबादीहरु मार्फत शुरु हुन थालेको छ।

‘लेनिन भाई ! तिमीलाई त यिनीहरुले सरण दिनेछन् वा तिम्रो आफ्नोपन वा आत्माबिस्वासको खरिद गरे बापत केहि दिनको गर्जो टार्ने गरेर माग्यौ भने खर्च पनि देलान। तर देश यस्तै यस्तै कारणबाट साम्राज्यबादीहरुको एसिया प्यासिफिक रणनीति केन्द्र बन्यो भने त्यसको मूल्य तिमीले दिन सकौला ? यो मेरो प्रश्नको सक्यौ भने उत्तर दिनु, अपेक्षा गर्ने छु !’
राष्ट्रिय स्वाभिमान भनेको बन्धन हो जुन चुडाल्न अत्यान्त गाह्रो हुन्छ। जसलाई धेरै सुत्रहरुले जेलेको हुन्छ। राष्ट्रियता पनि तिनै सूत्रहरुको जेलो हो। जसलाई बैधानिक संस्थाले नेतृत्व दिएको हुन्छ। हामी त्यसलाई राज्य वा देश भन्दछौँ। हामी मधेशसंग जोडिने एउटा सुत्र हो धार्मिक सुत्र, हिन्दु धर्मसंग जोडिनुको कारणले हामी पहाड र तराई जोडिएका छौं। त्यो कमजोर त्यान्द्रो हैन तर साम्राज्यबादी त्यो सुत्र चुडाल्न चाहन्छन। त्यो राजनैतिक कारणले मात्रै चुडिन मुस्किल हुन्छ।

भाषिकरुपमा हामी फरक छौं तर धर्मको आधार एउटै भएकोले देश अझैसम्म एकताबद्ध छ। भारतले पनि नेपाल हिन्दु सापेक्ष चाहनुको कारणले अलग देशको अस्तित्वलाई मजाले समर्थन गरेको हो। तर पश्चिमाहरुको नेपालमा यसरीनै सांस्कृतिक अतिक्रमण भै रह्यो भने छिमेकीले राम रमिता हेरेर बसिरहला भन्न सकिन्न । नेपालमा हुने राम्रा नराम्रा कुराहरुको असर भारतमा परि हाल्छ। यी यावत कुरामा नेपालले पंचशीलको आधारमा आफ्नो परराष्ट्र कुटनीति कायम राख्नु पर्छ। सांस्कृतिक जुडावलाई मजबुद बनाउदै लग्नु पर्छ र विपदमा छिमेकीसंग सल्लाह पनि लिनु पर्छ। सरकारले यी कुराहरुलाई बिशेस कुटनितिबाट हाल गर्दै जाला भनेर कामना गरौँ। कूटनीतिक संयोजनको अर्थ आत्मसमर्पण कदापी होइन ।

तिमीले समेत बुझेका हौला भाइ !,पश्चिमा हस्तक्षप अहिले नेपालमा बढेर गएको छ। ति कुराहरु बहसमा ल्याइएका छैनन् तर विभिन्न बहानामा देशलाई बेदेशीहरुले प्रयोगशाला बनाउने गरेर हस्तक्षप भएका छन्। द्वन्द्वकाल, शान्ति प्रक्रिया तथा संविधान लेखनको संक्रमणकालमा उनीहरूले नेपाललाई एउटा प्रयोगशाला बनाए, हाम्रो मुलुकलाई आ–आफ्नो ‘भिजन’ मा ढाल्न खोजे । मुख्य गल्ती शुरु भयो इयान मार्टिन नेतृत्वको युनाइटेड नेशन्स् मिशन टू नेपाल (अनमिन) को कार्यकालबाट । राष्ट्रसंघको सुरक्षा परिषद्लाई बुझाइने अनमिनका आधिकारिक प्रतिवेदनहरू मार्फत नेपाल राज्यप्रतिको सकारात्मक अन्तर्राष्ट्रिय दृष्टिकोणलाई बंग्याइयो र त्यहि बहानामा क्रिश्चियन धार्मिक मिसनरी नेपाल भित्र्याउने काम केहिबाट भयो।

अनमिनको कार्यकाल त २०६७ सालमा सकियो, तर यसका असरहरू पछिसम्म रहिरहे । पछिल्लो समयमा अनेक बहानावाजी सहित स्थानीय निर्वाचन हुन नदिन विभिन्न बहुराष्ट्रिय र ‘बाइल्याटरल’ निकायहरू लागे, त्यसलाई पनि अनमिनकै ‘देन’ भन्न सकिन्छ । तर आजको दिन ‘अनमिन प्रवृत्ति’ सालाखाला निर्मूल भएको छ । जागरुक नागरिक तहबाट आन्दोलन शुरु गरिएको छ। केहि ‘लेनिन’हरु बिदेशमा देश खतम छ भन्दै राजनीतिक शरणको आधारभुमि तयार गर्न लागेपनि चेतनाको तहमा देशको राष्ट्रियता गर्जिने अबस्थामा पुग्दै छ।
पूर्वाग्रह नराखी सहयोग गर्न चाहने पश्चिमा मित्रहरूमा चिन्ता र बहिष्कृत भएको भावना जगाएको छ भने त्यो राम्रो हैन । ‘लेनिन’ जस्ता केहिले न्यायको निहुँ देशको कुप्रचार गर्ने, प्रयटन बिकासमा अविस्वास पैदा गर्ने, पार्टीका भ्रष्ट नेतालाई आफ्नै जनताले कारवाही गर्छन भन्ने स्वाभिमानी जनभावना बिपरित देशको अन्तराष्ट्रिय बद्नाम, नेताहरुको बद्नाम गर्दै अन्तराष्ट्रिय अदालतमा मुद्धा हाल्ने धम्कि कदापि राष्ट्रियता सापेक्ष हुदैन। त्यसले साम्राज्यबादीलाई हस्तक्षेप गर्ने, आफ्नो आत्मसम्मान सुम्पन बाध्य पार्ने थप मसला दिन्छ। अझ त्यो प्रवृतिलाई मलजल गर्दै हिड्ने हाम्रा साथीहरु ! दोहोरो चरित्र नराख्नुस है,राष्ट्रियता र स्वाभिमान प्रति थोरै पनि तपाइहरुको आत्माबिस्वास छ भने । नेपालको बृहत्तर हित, देशलाई चाहिने अन्तर्राष्ट्रिय मित्रता तथा पर्यटनदेखि अन्तर्राष्ट्रिय लगानीसम्मको चाहना राख्नेले यस्तो आत्मघाती ‘ट्रेन्ड’ लाई तुरुन्तै रोक्नुपर्दछ ।

कसरी र कहिले देखि भैरहेछ नेपाल माथि अतिक्रमण :

१९५४ को दशकमा ‘युनाइटेड मिसन टु नेपाल’लाई नेपालमा कार्यालय स्थापना गर्न स्वीकृती प्रदान गरेर मिसिनरी कार्यक्रम सञ्चालन र क्रिश्चियन धर्म प्रचार गर्न खुला गरिनु धर्मको नाममा विदेशी हस्तक्षेपको औपचारिक तथा बैधानिक निमन्त्रणा थियो । मिसनले ‘नेपालका मानिसहरूको सेवा गर, खासगरी ती व्यक्ति जो गरिबीमा बाँचेका छन्, उनीहरूले यशु मसिहको प्रेम र शिक्षामा प्रेरित गर’ भन्ने नाराका साथ नेपालका पूर्वी पहाडी जिल्ला ओखलढुंगादेखि पश्चिमी पहाडी जिल्ला पाल्पासम्म विभिन्न स्थानमा अस्पतालसमेत खोलेर धर्म प्रचारप्रसार गरेको पाइन्छ । अझ रोचक तथ्य के छ भने ‘युएमएन’ मिसनरीलाई नेपालमा स्थापना गर्न अनुमति दिएपछि मात्र नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाएको थियो । पटक–पटकको प्रयासपछि सन् १९४५ को १० वर्षपछि सन् १९५५ मा मात्र नेपाल संयुक्त राष्ट्रको सदस्य भयो । यो उदाहरणबाट भन्न सकिन्छकि कतिपय अबस्थामा संयुक्त राष्ट्र संघ समेत स्वतन्त्र निकायको रुपमा नभई केही शक्ति राष्ट्रको स्वार्थ अनुसार काम गरिरहको छ भनेर भन्ने ठाउहरु छन् ।

लेनिन भाई तिमीले बुझेका छौ कि छैनौ ? बहुभाषीक, बहुसांस्कृतिक देश नेपाललाई भाषा, धर्म र संस्कृतिमाथि विभेद नल्याई साम्राज्यबादिको आफ्नो मिसन पूरा हुँदैन । यसरी धर्मको विषयलाई लिएर विभिन्न चरणमा नेपालको राज्य सत्तालाई प्रभावित गरेको पाइन्छ । जब धर्ममा मान्छे लठ्ठ हुन्छ त्यसमाथि आफ्नो स्वार्थ लाद्न सजिलो हुन्छ भन्ने महान् चिन्तक माक्र्सले धर्मलाई अफिमको संज्ञा त्यसै दिएका थिएनन् । पश्चिमाहरूको नेपालमाथि पनि धर्ममा हस्तक्षेप गरेर मात्र आफूलाई फाइदा पुग्ने बुझाई रहेको पाइन्छ । त्यसैले नेपालजस्तो र बहु भाषिक जनसमुदाय तथा बहुआयामिक संस्कृति भएको देशमा पश्चिमा संस्कृतिलाई बढावा दिएर नेपालको मौलिक संस्कृतिलाई लगातार मास्ने काम भइरहेको छ । के यसबारे युरोपियनमा बिरोध गर्यौँ वा रिफुजी प्रमाणीकरणको लागि प्रचण्डको बिरोध गरेबापत सरकार वा उनको धम्कि रुपी प्रमाण कुरेर बसेका छौँ ? तिम्रा गतिविधिले संका गर्ने प्रसस्त ठाउ दिएको देखिन्छ।

तिमीलाई थाहा होला केहि बर्षदेखि राजनीति, धर्म र त्यपछि कृषिमा समेत साम्राज्यबादीहरुका मालिक बहुराष्ट्रिय कम्पनीहरुले आक्रमण तिब्र पारेका छन् । विश्व बैंकको ७० को दशकका परम्परागत कृषिमा परिवर्तन ल्याउने बहानामा उनीहरु नेपाल पसे तर त्यसले कृषिमा झनै परनिर्भरता बढाएको कुरा हामीले सम्झन छाडेका छौँ । जब विश्व बैंकले किसानलाई आधुनिक बीउबिजनसँगै मल उपलब्ध गरायो । त्यसपछि केही समय राम्रो उत्पादन दियो, यसरी राम्रो उत्पादन देखेर किसानहरूले बीउबिजनको भण्डारण त्यागेर उनिहरुसंग बिउ किन्न थाले । अहिले नेपालमा जुम्लिमार्सि धानबाहेक कुनै पनि परम्परागत बीउबिजन पाउन मुस्किल छ । विदेशबाट आयातीय उन्नत जातको भनिएको बीउका कारण आज नेपालका किसानले लगाएको मकैमा दाना लाग्दैन भने धान नुहिँदैन । विश्व बैंकले सन् २०१६ मा तयार गरेको रिपोर्टमा सन् १९८५ मा कृषि उत्पादनमा ५ नम्बरमा रहेको नेपाल देश सन् २०१० मा आईपुग्दा १० औं स्थानमा झरेको छ । साम्राज्यबादीका कारण हामी क्रमश कृषिमा समेत परनिर्भर बन्दै गइरहेका छौं।

आन्तरिक व्यवस्था बलियो नहुन्जेल र शासकमा राष्ट्रियताको भावना नहुन्जेलसम्म विदेशी संघ संगठनहरूले सबैतिर हस्तक्षेप गर्दछन भन्ने उदाहरण हो यो । उनीहरुको पहिलो आक्रमण साँस्कृतिक आक्रमण हो। किनकि उनीहरुलाई त्यो देशको सांस्कृति ध्वस्त बनाएपछि देश सक्न सजिलो हुने कुरा थाह छ।

कुरो अलिक पुरानो हो। चार वर्षको गोप्य अनुसन्धानपछि सन् १८६० मा भारतमा रहेका क्रिश्चियन धर्मगुरुहरूले मद्रासमा सम्मेलन गरेर पादरी एलेक्जेन्डर डफको भनाइ लागू गर्दै जातजातिबाट मात्र धर्म फैलाउन सजिलो पर्ने निचोड निकाल्दै विभिन्न जातको वर्गीकरण गरेका थिए । त्यसैअनुरुप नेपालमा पनि जातजातिको वर्गीकरणको माध्यमबाट नै धर्ममा हस्तक्षेप भएका उदाहरणहरू पाइन्छन् । अहिलेको संबिधानमा जातिय संघियताको बिउ त्यसै छिराइएको थिएन । जुन पश्चिमा पहलबाट छिराइएको हो। ‘अहिले तिमी जोसंग न्यायको भिख माग्न आएका छौ र प्रचण्डको बिरुद्ध जुन आरोप पत्र लेखेर मुद्धा भनेर प्रचार गराउदै छौ त्यो गलत हो वा हैन बहस हुदै गर्ला तर त्यहि आधारलाई टेकेर भोलि साम्राज्यबादीहरुले हाम्रा नेताहरुलाई ब्ल्याक्मेलिंग गरेभने त्यसको भागेदार तिमी हुनु पर्ने छ। त्यस्तो राष्ट्रिय अस्मितासंग सम्बन्धित अक्षम्य अपराध अन्जानमा भयो भनेर इतिहासले अहिलेसम्म कसैलाई माफी दिएको छैन र तिमीलाई पनि दिने छैन।’

तिमीले के बुझ्नुपर्छ भने विदेशीले थोपरेका निहित स्वार्थको बीउ भोलि प्यालेस्टाइन, युगान्डा, लिवियामा झैं नेपालमा नफैलियोस् । तिमीलाई थाहै होला,ती देशहरूमा अशान्ति आफैं उत्पत्ति भएको हैन, त्यहाँका शासकले विदेशीको इसारामा नागरिकविरुद्ध विदेशीकै इच्छाअनुसार काम गर्दै गएर अहिलेको अवस्था सिर्जना भएको हो । ति समस्या तिमीले न्याय माग्ने देशले दिएका उपहार थिए भन्दा तिमीलाई दुख लाग्ला। तर सत्य त्यहि थियो र हो।

त्यसैले अर्धउपनिवेशबाट मुक्त राष्ट्र निर्माणको नाराको कारण वामगठबन्धनलाई जनताले सरकारमा पु-याए, तर वाचा पूरा गर्ने सवालमा उनीहरुले विभिन्न किसिमले दुख दिएका छन्। सरकारले काम गर्न नसक्नुको पछाडिको प्रमुख कारण घेराबन्दी वा बाह्य हस्तक्षेप हो भन्ने आमनागरिकको बुझाईमा सत्यता छ । त्यसैले हामीले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने जुनसुुकै तत्वलाई पनि परास्त गर्नुपर्छ र त्यस्ता तत्वलाई निषेध गर्नुपर्छ । बाह्य हस्तक्षेपलाई निम्तो दिएर राष्ट्रियतामा आघात पार्ने तिम्रो मनसाय हो भने कृपया त्यो छोड लेनिन भाई । तिमीले सहेको अन्याय भन्दा ठुलो हाम्रो स्वाभिमान र राष्ट्रियता हो। राष्ट्रियतामा हस्तक्षेप गर्ने बहाना खोजिरहेका फिरंगीहरु सामु स्वाभिमानी हातले लेनिन नामबाट कथित न्याय माग्दा दुख लाग्यो भाई मलाइ त !

तिम्रो कुरा मनमा खेल्दै गर्दा मैले हाम्रा नेताको जनवरीतिरको त्यो गर्जना पनि सम्झेको छु भाई । गत जनवरीमा स्वीजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठक (माघ ७–११) मा सहभागी भइरहेका बेला नेपाली र विदेशी कूटनीतिज्ञ लगायतको अगाडि प्रष्ट रुपमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘के नेपालमा द्वन्द्व व्यवस्थापन हुनु राम्रो होइन? अनावश्यक रुपमा विदेशी दूतावासहरुले गठजोड र गुटबन्दी गर्न जरूरि छैन। हिजो लडाइँ थियो। मारामार थियो । हामीले शान्ति प्रकृया अगाडि बढायौं। लडाकु व्यवस्थापन गर्यौं। हतियार व्यवस्थापन गर्यौं। शान्ति प्रकृयामा विदेशी मित्रहरुले सहयोग पो गर्नुपर्छ । कतै द्वन्द्व व्यवस्थापन होला भन्ने चिन्ता हो कि के हो?’ देशको स्वाभिमान र आत्मसम्मानको यो भावनाले तिमीलाई सुखानुभूति हुन्छकी हुदैन खै ! के उनले नराम्रो नै भनेका हुन् त भाई,तिम्रो बिचार जान्न पाए हुने थियो ?

राजदूतहरूको गठबन्धनअघि नै सरकारले न्याय निरुपण तथा मेल मिलाप आयोगको म्याद थप्ने तर आयोगका पदाधिकारीलाई बिदा गर्ने निर्णय गरेको थियो, जसलाई औपचारिक रूपमा सार्वजनिक गरिएको थिएन । पश्चिमा राजदुतहरु रिसाउनुको एक कारण त्यहि थियो।अष्ट्रेलिया , जर्मनी, युरोपियन युनियन, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्वीजरल्याण्ड, बेलायत, अमेरिका र राष्ट्रसङ्घको यो मोर्चाबन्दी नेपालको मानवअधिकारप्रति चिन्तित भएर बनेको होइन । उनीहरुको निरन्तर हस्तक्षेप गर्ने चाहनामा रुकावट आएकोलॆ बाम सरकारसंग आक्रोस ब्याक्त गरेका हुन। नेपाल अब राजनीतिक रूपमा स्थिर भयो, शान्ति प्रक्रिया सम्पन्न भयो, आर्थिक लगानीका लागि अनुकूल वातावरण निर्माण भयो । त्यो पिर हो उनीहरुको।
जुनबेला विश्वलाई प्रधानमन्त्रीले यही सन्देश दिइरहनु भएको थियो, काठमाडौँमा भने राजदूतहरू सरकारविरुद्ध मोर्चाबन्दी गरिरहेका थिए । राजदूतहरूले शान्ति प्रक्रियाबारे नेपालको भाष्यमाथि प्रश्नमात्र उठाएनन्, आन्तरिक पक्षमा खेल्ने कामसमेत गरे । एउटा देशसँग मित्रताको नाटकमा अर्को देशलाई घेराबन्दी गर्ने पश्चिमी गतिविधिको जालो अत्यन्त खतरनाक छ। त्यसलाई नाच्यातेसम्म देशको बिकास, राष्ट्रियताको जगेर्ना र मौलिक सांस्कृतिक परिस्कार सम्भब छैन। यो बारे बुझ्न भर्खरै प्रकासित युबराज सरको ‘साउथ एसिया चाइना जिओइकोनोमिक्स’ किनेर पढ। पश्चिमाहरुको कलो खाने रहर पालेका छैनौ भने धेरै कुराहरु बुझ्ने छौ भाइ त्यो पढेर ।

प्राध्यापक डाक्टर युवराज संग्रौलाबाट लेखिएको नयाँ पुस्तक ‘साउथ एसिया चाइना जिओइकोनोमिक्स’मा केही एनजीओ र आईएनजीओहरूले कुन प्रकारले देशको अस्थिरता र ध्वंसलाई झन् मलजल गरिरहेका छन् भन्ने कुराको पनि चर्चा गरिएको छ । सेवा र सहयोगको नाममा कसरी पश्चिमाहरू आफ्नो स्वार्थपूर्ति गर्दै नेपाली समाज, संस्कृति र विकासलाई झन जीर्ण बनाउँदै छन् भन्ने देखाउँदै विकासको नारामा विनाशको प्रवर्धन उनीहरूको ध्येय भएको तर्कलाई तथ्यसहित प्रमाणित गरेका छन् । सके सबैले पढ्दा अझै राम्रो !
परे अझै लेखौला भाई ! तिम्रो भिख मगाईसंग मेरो सरोकार थिएन ! तर तिमीमाथि भएको अन्यायको कुरो उपयुक्त ठाउँमा राखेका छौ त ? के यिनले हामीलाई न्याय दिन्छन ? हाम्रा नेता भ्रष्ट नै भएछन रे ! के नेपालको माया हाम्रा नेताले भन्दा यिनले गर्लान ? के यिनले भियतनाम, कोरिया, जापान, निकारागुवा, भेनेजुवेला, क्युवा, कोरिया, आफ्रिका,भारत लगायत देशलाई न्याय दिए ! अनि तिमीले न्याय पाउला ? अहं मलाइ त बिस्वास छैन, खासमा तिमीलाई पनि बिस्वास छैन होला किनकि तिमीले पनि औपनिवेशिक कालको नियति पढेका छौ जस्तो लाग्छ। अहिले पनि उनीहरुको न्याय प्रणाली कसको हितमा जम्दछ तिमी अबुझ छैनौ होला। दुई छाक रोटीको लागि थाल थाप्न आएका हौ भने नढाट ! यति दुख गरे पछि यिनीहरुले राजनैतिक शरण देलान कि जस्तो लाग्छ ! भाई लेनिनको उत्तरोत्तर प्रगतिको कामना !