७ कार्तिक २०८३, शनिबार

स्व. सांसदको नाममा तेलकोट–भट्टेडाँडा सडक

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित तेलकोट–भट्टेडाँडा सडकलाई प्रदेश सभा सदस्य स्व. हरिशरण लामिछानेको स्मृतिमा ‘हरि गुरु मार्ग’ नामकरण गरिएको छ ।

ट्र्याक खोलिसकिएको सडक विस्तार र कालोपत्रेका लागि मंगलबार कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रदेश ३ भक्तपुर–१ (क) का सांसद लामिछानेको मस्तिष्क घातका कारण ३१ वैशाख ०७५मा निधन भएको थियो । लामिछानेलाई चाँगुनारायणवासीले हरि गुरुका नामले सम्बोधन गर्थे । वर्ष दिनको पुण्य तिथिको अवसर पार्दै तेलकोट–भट्टेडाँडा सडकको नामकरण हरि गुरु मार्ग गरिएको मेयर सोमप्रसाद मिश्रले बताए ।

सडक कालोपत्रेका लागि केन्द्र सरकारले दुई करोड ८५ लाख र चाँगुनारायण नगरपालिकाले पाँच करोड ६१ लाख रुपैयाँ विनियोजन गरेका छन् । सडक शिलान्यास गर्दै पोखरेलले सार्वजनिक खरिद ऐनका केही प्रावधान संशोधन गर्न आवश्यक रहेको बताए ।

उनले केही ठूला निर्माण व्यवसायीले निर्माण कार्यको ठेक्का सम्झौता गरी २० प्रतिशत अग्रिम भुक्तानी लिने र राजनीतिक पहुँचका आधारमा काम नगर्ने परिपाटीको विकास भएको भन्दै त्यस्तो प्रणालीको अन्त्य गर्न ऐन संशोधन जरुरी भएको उनले बताए । पोखरेलले विकासको काम कुनै पार्टी विशेषको नहुने भन्दै सबै पार्टी मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका उपमेयर विना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिनालगायतले सांसद लामिछानेको नामबाट नामकरण भएको सडक समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए ।