७ कार्तिक २०८३, शनिबार

यी बालकले आफ्नी दिदीसँग सोधेको प्रश्नले धेरैको मुटु हल्लाइदियो

32.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २८ वैशाख । उनी दुवै खुट्टा टेक्न सक्दैनन् । अरूको सहारामा हिँड्नुपर्छ । नभए ह्विलचियरमा हिँड्छन् । शरीर भने हृष्टपुष्ट छ । बोली प्रस्ट छ । बोल्न र लेख्न कुनै समस्या छैन । ६ वर्षीय यी रविन परियारलाई पोखराको छोरेपाटनस्थित छोरेपाटन माविका प्रधानाध्यापक लक्ष्मण थापाले भने, ‘हामी जिम्मा लिन सक्दैनौं, घरमै पढाउनू ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।

रविन नर्सरी पास गरेर एलकेजीमा पुगेपछि अभिभावकले भर्नाका लागि छोरेपाटन मावि पुर्‍याएका थिए । शिक्षक भने सुरक्षाका कारण देखाउँदै जिम्मा लिन नसक्ने भन्दै टकटकिए । ‘छोरो पढाइदिनका लागि बारम्बार स्कुल धाएको छु । स्कुलले भने घरमै राखेर पढाउन भनेको छ,’ रविनका बाबु कुमारले भने, ‘छोरो स्कुलै गएर पढ्छु भन्छ ।

विद्यालयले जिम्मा लिन सक्दिनँ भनेको छ । पढाइबाट वञ्चित हुने त होइन भन्ने पीर लागेको छ ।’ उनी छोरा पढाइदिन अनुरोध गर्दै ६ पटकसम्म स्कुल धाइसकेका छन् । कुमारका अनुसार त्यसक्रममा एक शिक्षिकाले रविनको नाम लिनासाथ ‘समस्या हाम्रो हैन तपाईँको हो, अब यहाँ हुँदैहुँदैन’ भनेर फर्काइन् ।

रविनकी दिदी रविना पनि त्यही विद्यालयमा कक्षा ८ मा पढ्छिन् । त्यही भएर रविनलाई छोरेपाटनमै पढाउन चाहन्छन् अभिभावक । रविनले ‘दिदी म कहिलेदेखि स्कुल जाने हो, सोधेर आउनुस् है भनेर दिनहुँ पिरिरहने’ गरेको कुमारले बताए ।

‘दिदी विद्यालयबाट आउनासाथ सरले मलाई स्कुल बोलाउनुभएको छ कि छैन भनेर सोध्छ,’ उनले भने, ‘रविना भाइको प्रश्नको उत्तर दिन सक्दिनन् । अक्क न बक्क हुन्छिन् ।’ रविनले ‘सबै साथीहरूले कति धेरै पढिसकेहोला म कहिले जाने ?’ भन्दै दिनहुँ सोध्ने गरेको उनले बताए ।

कुमारले प्रधानाध्यापक लक्ष्मण थापालाई भेटेर शिक्षिका अमृता शाहीले दिएको जवाफ सुनाए । थापाले सुरुमा यस विषयमा के भएको हो आफूले बुझ्ने बताएका थिए । पछि उनै प्रधानाध्यापकले रविनलाई घरमै राख्ने सल्लाह दिए । कुमारका अनुसार रविनका लागि कापीकिताब किनेर लगी घरमै पढ्ने र परीक्षामा सहभागी गराउन ल्याउने सल्लाह विद्यालयले दियो । प्रअ थापाले पनि कक्षामा जे–जे पढाइन्छ, त्यही कोर्स अभिभावकले विद्यालय आएर लैजाने र रविनलाई घरमै राखेर पढाउन बुधबार सल्लाह दिएका थिए ।

‘विद्यालयमा पठाएजस्तो घरमा हुँदैन । रविनको इच्छा पनि विद्यालय नै गएर पढ्ने छ,’ कुमारले भने, ‘विद्यालयमा राख्ने व्यवस्थाका लागि खर्च गर्न तयार भए पनि विद्यालय सहमत भएन ।’ रविनलाई पढ्ने व्यवस्था मिलाइदिन पाए आफ्नो व्यवस्था आफैं मिलाउने आशा रहेकोमा अहिले अन्याय भएको उनले बताए ।

प्रअ थापाले रविन असुरक्षित हुने देखेर घरैमा बसेर पढ्न सल्लाह दिएको बताए । एउटै शिक्षिकाको जिम्मामा ४२ विद्यार्थी छन् । केटाकेटी चञ्चल स्वभावका हुन्छन्, भनेको मान्दैनन् । यसैले रविनलाई केही हुन्छ कि भन्ने सोचेर शिक्षिकाले त्यसो भनेको हुन सक्ने थापाले बताए ।

‘हामीले नपढाउने भनेका छैनौं,’ उनले भने, ‘फरक क्षमता भएकाले सोहीअनुसार व्यवस्थापन गर्नुपर्ने मात्र भनेका हौं । रविनलाई कहाँ र कसरी राख्ने भन्ने सल्लाह गरिरहेका छौं । बच्चा पढ्न पनि पाओस् र सुरक्षित पनि होस् भन्नेतर्फ सचेत छौं ।’