नयाँ दिल्ली । भारतमा प्रधानमन्त्रीको रूपमा निर्वाचित नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई आउँदो सोमबार आफ्नो सपथग्रहण समारोहमा सहभागी हुन आमन्त्रण गर्नुभएको छ । यसलाई उहाँको स्पष्ट कूटनीतिक पाइलाको रूपमा लिइएको छ । यसबाट उहाँले दुई मुलुकबीच तनावपूर्ण सम्बन्ध सुधार गर्न चाहनुभएको देखिएको छ ।
मोदीको भारतीय जनता पार्टी (बीजेपी)का प्रवक्ता निर्मला सीतारमणले एएफपीलाई बुधबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सबै सरकार प्रमुखलाई उहाँको सपथग्रहण कार्यक्रममा उपस्थित भइदिन आमन्त्रण गरिएको बताउनुभयो ।
यस विषयमा आठ मुलुक सदस्य भएको समूहका पाकिस्तान तथा नेपालसहित अन्य सदस्य मुलुकले पुष्टि गर्न बाँकी छ । यसले मोदीले भारतको पाकिस्तानसँग कायम दुईपक्षीय सबैभन्दा समस्यायुक्त सम्बन्धलाई सुधार गर्न चाहनुभएको देखाएको छ र यस अवधिमा पाकिस्तानी प्रधानमन्त्री सरिफ पनि वार्ताका लागि इच्छुक हुनुभएको विश्लेषकहरूले बताएका छन् ।
नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको अब्जरभर रिसर्च फाउन्डेसनका मनोज जोशीले यो निकै सकारात्मक संकेत भएको बताउनुभयो ।
हिन्दु राष्ट्रवादी बीजेपीले आमनिर्वाचनमा अत्यधिक मतले विजय हासिल गरेको १० दिनपछि मोदीले आउँदो सोमबार प्रधानमन्त्रीको रूपमा सपथग्रहण गर्नुहुनेछ । भारतमा गत ३० वर्षमा कुनै पनि दलले संसदमा बहुमत प्राप्त गरेको यो पहिलो पटक हो ।
यी कट्टरपन्थी नेताले बलियो विदेशनीति अगाडि बढाउनुहुने अनुमान गरिएको छ । उहाँले निर्वाचन अभियानमा भारतले बलियो नेतृत्व देखाएमा मात्र उसले अन्य मुलुकको सम्मान पाउने बताउनुभएको थियो ।
भारतीय विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले सोमबार विदेशी सरकार प्रमुखहरूलाई स्वागत गर्ने विषयमा अध्ययन भइरहेको तर हालसम्म निमन्त्रणा नपठाइएको बताए ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता तस्निम अस्लामले हालसम्म कुनै निमन्त्रणा प्राप्त नभएको बताए ।
सरिफ आफैँ मध्यदक्षिणपन्थी नेता हुनुहुन्छ र उहाँले मोदीको प्रभावशाली विजयको प्रशंसा गर्नुभएको छ । धेरै कूटनीतिज्ञहरूले यी दुई नेताले पारमाणविक हतियारयुक्त छिमेकीबीच सम्बन्ध बलियो बनाउनसक्ने बताएका छन् ।
सन् १९९९ मा सरिफको दोस्रो कार्यकालमा भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयी एक शान्ति सम्झौतामा हस्ताक्षर गर्न बसबाट लाहोर पुग्नुभएको थियो र त्यसले सम्बन्ध सामान्य हुने अपेक्षा बढाएको थियो ।
त्यसको तीन महिनापछि दुई मुलुकबीच कश्मीरको हिमाली क्षेत्र कार्गिलमा युद्ध भएको थियो ।
भारत तथा पाकिस्तान सन् १९४७ मा स्वतन्त्र भएपछि उनीहरूबीच तीनपटक युद्ध भएका छन् । सन् २००८ मा मुम्बईको व्यापारिक क्षेत्रमा पाकिस्तानी बन्दुकधारीले आक्रमण गरी १६६ व्यक्तिको हत्या गरेपछि दुई मुलुकबीच सम्बन्ध टुटेको थियो ।
पदमुक्त हुनलाग्नुभएका भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा पनि दुई मुलुकबीच सम्बन्ध केही न्यानो बनेको थियो । यसो भए पनि कश्मीरको सीमामा हुने झडपका कारण आपसी अविश्वास कायमै छ ।
मोदीले निर्वाचन अभियानका समयमा हिंसा अन्त्य नभएसम्म पाकिस्तानसँग वार्ता हुननसक्ने बताउनुभएको थियो ।
पाकिस्तानी नागरिक नेता तथा व्यापारिक समुदाय दुई पक्षबीच नजिकको सम्बन्धको पक्षमा रहेका छन् भने सामान्य व्यक्तिमा मोदीप्रति नकारात्मक भावना रहेको छ । गुजरातमा १२ वर्ष अगाडि भएको साम्प्रदायिक दङ्गामा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने मर्नेमा प्राय मुसलमान परेका थिए । यो दङ्गा नियन्त्रण गर्न नसकेको आरोप उहाँमाथि लगाउने गरिन्छ ।
पाकिस्तानको शक्तिशाली सेना पनि दुई मुलुकबीच नजिकको सम्बन्धका विषयमा सजग देखिएको छ र शान्ति स्थापना गर्ने सरिफको प्रयासमा यसले आफ्नो अडान राख्नसक्ने विश्लेषकले बताएका छन् ।
मोदीले प्रधानमन्त्री हुँदा नेपाल नीतिमा कुनै असर नगर्ने पनि बताउनुभएको छ । उहाँको नेतृत्व नेपालका लागि सहज हुने संकेत देखिएको छ । प्रधानमन्त्री बन्ने निश्चित भएपछि मोदीले ट्वीट गर्दै दुई देशबीचको सम्बन्धको व्याख्या गर्दै ‘नेपाल इज एन ओल्ड एण्ड डिप्ली भ्यालुड फ्रेन्ड, यु आर कमिटेड टू स्ट्रेनथेनिङ आवर रिलेशन इन नेपाल इन भेरियस सेफर’ भन्नुभएको थियो ।
नेपाललाई उनले सँधै श्रद्धाको दृष्टिले हेर्ने गरेको र सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटले पनि नेपालमा उनीप्रति सकारात्मक तरंग ल्याएको छ। तर, नेपालका प्रधानमन्त्रीलाई भने उहाँको सपथमा औपचारिक निम्ता पठाइएको छैन ।














प्रतिक्रिया