सायद तिमी मेरो साथमा भएको भएको यो दुनियाँको अगाडि म दाबा गरेर भन्दैछु ‘मुना–मदन’, ‘रोमियो–जुलेट’ जस्ता नमुना जोडीको नाम लिने यो समाजले तिमी र मेरो नाम लिने थियो । हो, साँच्चै आज तिमीसँगै भएको भए म कति खुसी हुन्थेँ होला है ! अझैपनि यो सबैको सामु म भन्दैछु –‘मेरो नामको फेसबुक एकाउन्ट तिम्रो नामको पासवर्ड नहानी चल्दैन।’
आजको सुन्दर विहानीसँगै मनमा छुट्टै खुसी छ । कारण आज म तिमीलाई मेरो मनको भारी बिसाउँदै छु । मेरो खुसीहरुको हिस्सा बाँड्न खोज्दैछु । गायक अनिल सिंहले गाएको गीतजस्तै ‘मायाको पहिलो सौगात स्वरुप’ तिमीलाई यो पत्र थम्याउन खोज्दैछु । मलाई मायाको पूर्ण परिभाषा त थाहा छ र ? र, पनि नि आफ्नो जीवनमा देखापरेका तितो यथार्थलाई नै मायाको संज्ञा दिएको छु । रातमा निद्रा नलाग्नु, दिनमा भोकप्यास हराउनु, र हरपल तिम्रै कल्पनामा हराउनुु, अनि हरेकपल तिमीसँगै भएको महसुस हुनुलाई मैले मायाको पर्याबाचिक शब्द भन्दै आएको छु ।
तिमीलाई थाहा छैन होला, जुन जीवन मैले बाँच्दै आएको छु, यो तिमीबिना अपूरो छ, अनि अधुरो पनि । मैले तिमीलाई आजको यो पत्रमार्फत नै मेरो मनमा बर्षौंदेखि उब्जिएको यथार्थ सुनाउँदै छु । बषौंदेखि खिल गढेर बसेको यो मनलाई आजैबाट हलुको वनाउने प्रयास गर्दैछु । हरेक धड्कनसँगै धड्किरहेकी तिमीलाई यो पत्रमार्फत धड्कन बाँड्न आग्रह गर्दैछु । थाहा छैन, यो पत्रसँगै दुई मुटु एक भएर धड्काउँछ या एकल यात्रीको रुपमा समाजमा परिचित वनाउँछ । तरपनि म यति विश्वस्त छु म कि ‘तिमीपनि म बिना अधुरो छौ’ । मैले कहिलैपनि आँट नगरेको र बर्षैदेखि जरो गढेर बसेको मनको भावनाहरु यो पत्रमार्फत पोख्न खोज्दैछु ।
तिमीलाई कसरी भनुँ खै ‘मेरो सुन्दर भविष्य तिमीबिना अधुरो छ’ भनेर । साँच्चै यो मायामा कसरी जालीन पुगें त्यो त मलाई पनि थाहां छैन । तर पनि तिमी मेरा लागि सबथोक बनेर आयौ । कलेजका सुरुवाती दिनहरुमा एक्लै मन पराएको म बुबुरोको अगाडि तिमीलाई अरुले जिस्काउँदा मलाई कति धेरै पोल्थो मलाई, त्यो तिमीले कहिल्यै महसुस गर्न सक्दिनौ । तरपनि म मेरो मायालाई कमजोर नठानी आफ्नो प्रेमलाई निश्चल बनाउने प्रयास गरेँ । सायद तिम्रा साथीहरुलाई पनि थाहा थिए होला, मैले तिमीलाई औधी माया गर्छु भन्ने । तरपनि तिमीलाई भन्ने आँट भने कहिल्यै आएन । त्यसैले होला यादहरुको साहारामा म यो जीवन जिउँदै छु, जुन जीवन आफैलाई बोझ लाग्न थालेको छ ।
तिमीलाई याद छ कि छैन हामीसँगै कलेजपढ्दा साथीहरुले मेरो नामले तिमीलाई जिस्काउँदा तिमी कत्ति धेरै लजाउँथ्यौ है ! सायद मैले त्यतिबेलै होला तिम्रो मनमा पनि म प्रति केही माया रहेछ भनेर मन बुझाएको । विजुली चम्किएसरी मेरो जीवनमा आएका खुसीहरुलाई त्यतिबेलै होला, मैले पोल्टोमा सम्हाल्न खोजेको । त्यतिनै बेला होला फेरि दैबले पनि यसले यति धेरै खुसी सम्हाल्न सक्दैन भनेर नजिक नभई टाढा बनाएको । हाँसोहरु बन्धकी राखेको अरुको अगाडि फिस्स हाँस्दै बाँच्नैपर्ने पर्ने जिन्दगी बाँचिरहेको छु म । आज धेरै पनि त्यही यादहरुसँगै बहकिएर तिम्रो लागि समय छुट्टाई यो पत्र थम्याउन खोज्दैछु ।
आज तिमी र धैरै टाढा छौ । र पनि तिमीसँगै भएको आभास हुन्छ । त्यसपछिकै दिनहरुवाट हो मैले लक्ष्य लिन छाडेको । मैले त्यसपछि कहिल्यैपनि लक्ष्य लिइन । बरु सपनाहरु भने देखिरहेँ । कारण म सपनाहरुको भोगी थिएँ । संसारमा सवै रोगको उपचार पत्ता लगाएको बिज्ञानले कसको मुटुमा को बसेको छ भन्ने पत्ता लगाएको भए आज तिम्रो यादको जिन्दगी जिउनुपर्थेन होला, मैले । यतिबेला, ‘म हुन्थेँ, तिमी हुन्थेउँ र हामी हुन्थेउँ, जहाँ मायाको कुरा हुन्थ्यो ।’ सायद तिमी मेरो साथमा भएको भएको यो दुनियाँको अगाडि म दाबा गरेर भन्दैछु ‘मुना–मदन’, ‘रोमियो–जुलेट’ जस्ता नमुना जोडीको नाम लिने यो समाजले तिमी र मेरो नाम लिने थियो । हो, साँच्चै आज तिमीसँगै भएको भए म कति खुसी हुन्थेँ होला है !
तिमी म बाट टाढा भएपछि मैले जीवनमा धेरै कुराको पाठ सिक्ने मौका पाएँ । मैले त्यति नै बेला हो बुझेको ‘सजाय पाउन अपराध होइन, प्रेम गरे पुग्छ’ भन्ने कुरा । अझैपनि यो सबैको सामु म भन्दैछु –‘मेरो नामको फेसबुक एकाउन्ट तिम्रो नामको पासवर्ड नहानी चल्दैन ’ ।
खै चाहेर–नचाहेर जे भएपनि हामीसँगै छैनौं । तिमीलाई त मेरो याद पनि छैन होला । तर म तिम्रो यादमा तड्पिएको छु । यादहरु पठाउने तिमी अन्तै भएपनि, यादहरु लिइरहने म अन्तै भएपनि, तिम्रो यादमा म आजपनि बसिरहेको छु ।
साँच्चै, यो मनको भाव पोखेर तिमीलाई अतित बल्झाउने मन थिएन र पनि बिगतका सम्झनाले आजको मेरो प्रणय दिवस गुज्रिएको छ । सुविन भट्टराईले लेखेको किताब ‘समर लव’ मा भनिएजस्तै रोएर मन हलुको हुने भए यो संसार धेरै अघि नै आँशुको सागरमा डुबिसक्थ्यो होला । त्यसैले म यो सागरमा डुब्नु छैन । आजको यो विशेष दिनमार्फत तिमीलाई पुनः एकपटक सम्झँदैछु । र, फेरि पनि भन्दैछु– तिमी मेरो भ्यालेन्टाइन बन न है !














प्रतिक्रिया