७ कार्तिक २०८३, शनिबार

‘निम्छरा’ भनेपछि भनाभन

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले बोल्नेक्रम सकियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आधा घन्टा स्थगित भएर सुरु भएको दोस्रो बैठकमा एक घन्टा २४ मिनेट लगाएर प्रधानमन्त्रीले सांसदहरूले तीन दिनको छलफलमा उठाएका विभिन्न जिज्ञासाको जवाफ दिए ।

लगत्तै अन्य ३० सांसदले एक–एक मिनेटभित्र प्रतिप्रश्न गरे । सांसदहरूले सरकार नै भ्रष्टाचारमा मुछिएको, भ्रष्टाचारीलाई प्रधानमन्त्रीले नै संरक्षण दिएकोलगायत आरोप लगाए । सांसदका प्रश्नका जवाफ दिन प्रधानमन्त्री रोस्ट्रममा पुगे ।

‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरूको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु,’ प्रधानमन्त्री ओलीले सुरुवातमै यसो भनेपछि तत्काल कांग्रेस सांसदहरू उठेर विरोध जनाए । प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे ।

सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी सांसदलाई शान्त पार्न प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । रेकर्डबाट हटाउने–नहटाउने निर्णय पछि गर्ने भन्दै सांसदहरूलाई बस्न आग्रह गरे । तर, कांग्रेस सांसदहरू उठेर होहल्ला गरिरहे ।

‘यो शब्द संसदीय मर्यादाअनुकूल भएन । यसमा सभामुखज्यूको रुलिङ चाहिन्छ,’ कांग्रेस सांसद डा. मीनेन्द्र रिजाललगायतले भने । लगत्तै सभामुखले भने, ‘म रुलिङ पछि गरौँला । पहिले प्रधानमन्त्रीको जवाफ सुन्न दिनुस् ।’

यहीबीचमा प्रधानमन्त्री बोल्न थाले । ‘रेकर्ड खोलेर सुनियोस्, कुन प्रकारका प्रश्न प्रयोग भएका छन् ? माननीयज्यूलाई आफ्नो प्रश्नको जवाफ चाहिएको छ कि छैन ? प्रश्न सोध्ने अधिकार हो । तर, अपशब्द सोध्ने अधिकार होइन,’ प्रधानमन्त्रीले भने ।

तर, प्रतिपक्षी दल मानेन । सभामुखले पटक–पटक बस्न आग्रह गरे पनि कांग्रेसले नमानेपछि सत्तारुढ दलका सांसद कृष्णभक्त पोखरेलले उठेर भने, ‘नियमावलीमा कसैले पनि बोल्दा संसद्को काममा अवरोध गर्न पाइन्न भन्ने व्यवस्था छ । दोस्रो कुरा कांग्रेसले नियमापत्ति गर्दा कुन नियमअन्तर्गतको नियमापत्ति गरेको हो ?’

सत्तापक्षका सांसदले पोखरेलको कुरामा गडगडाहट टेबुल ठोके, तर प्रतिपक्षी अझै मानेन । ‘सभामुख महोदय ! संसद्को गरिमा आज कायम गर्न सक्नुभएन,’ कांग्रेसका मीनेन्द्र रिजालले भने ।

कांग्रेसको अवरोधबीच सभामुख महराले प्रधानमन्त्री ओलीलाई अघि बढ्न अनुमति दिए । ३० जना सांसदले उठाएको दर्जनौँ प्रश्नअघि प्रधानमन्त्रीले मुस्किलले तीन मिनेट मात्रै बोल्न पाए । उनले कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, लक्ष्मी परियारलगायत अन्य सांसद र सत्तारुढ नेकपाकै सांसद दुर्गाकुमारी विश्वकर्माको केही प्रश्नको जवाफ दिए ।