७ कार्तिक २०८३, शनिबार

सरकारी जग्गामा भूमाफियाको रजगज

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । बाँके र बर्दियामा ‘संगठित भूमाफिया गिरोह’ले मालपोतका कागजात किर्ते गरी सरकारी जग्गा नामसारी गरेको रहस्य खुलेको छ। मालपोत कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ गरी सरकारी स्वामित्वको जग्गा किर्ते कागज बनाएर आफन्तका नाममा पास गरेको फेला परेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रहरी अनुसन्धानले बर्दियामा ६ बिघाभन्दा बढी र बाँकेमा ११ कठ्ठाभन्दा बढी जग्गा किर्ते गरी पास गरेको फेला पारेको छ। एक जनाको अपहरणपछि हत्या भएपछि यसबारे रहस्य बाहिर आएको हो।

२१ माघ २०७५ मा भारतको बहराइच थाना मोतीपुर घर भई नेपालगन्ज–१६ जयसपुरमा डेरा गरी बस्ने जुनेद अन्सारी अपहरणमा परे। अपहरणको भोलिपल्ट भारतको उत्तरप्रदेशमा पर्नेमा नबाबगन्जमा जलाएर उनको हत्या भयो।

२३ माघमा मृतककी पत्नी गौरी मल्ल अन्सारीले नेपालगन्ज उपमहानगर–३ बस्ने खैरुल भन्ने कौशल अन्सारीले पतिको अपहरण गरी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। प्रहरीले हत्याबारे अनुसन्धान गर्दा भूमाफियाको रहस्य खुलेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता टीकाबहादुर कार्कीले बताए।

मालपोत कर्मचारीसँग सेटिङमा जुबेर र खैरुल मिलेर मालपोत कार्यालयका किर्ते कागज बनाई सरकारी जग्गा आफन्तको नाममा पास गरेको भेटिएको छ। जग्गाको कागजात जुबेरले राख्ने गरेका थिए। कागजका विषयमा विवाद हुँदा खैरुलसहित ५ जनाले जुबेरको हत्या गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ। ३ वर्षदेखि किर्ते काम भइरहेको अभियुक्तले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख छ।

मालपोत कर्मचारीसँग मिलोमतोमा सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेका जग्गाका सक्कली जग्गाधनी पुर्जा र फाँटवारी निकालेर स्रेस्ता जीर्ण रहेको भनी किर्ते कागजात खडा गरी जग्गा आफन्तको नाममा ल्याउने गरेका थिए। यो कार्यमा मालपोतका पियनदेखि प्रमुखसम्म १६ जना कर्मचारी संलग्न भएको खुलेको छ।