७ कार्तिक २०८३, शनिबार

मठाधीशले व्यक्तिलाई बेचे गुठीको जग्गा तीन करोडमा, भूमाफियाहरू मालामाल

12.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । रूपन्देहीको भैरहवामा एक मठाधीशले गुठीको जग्गा तीन करोडमा व्यक्तिलाई बेचेको पाइएको छ ।

गुठी संस्थानले उक्त जग्गा गुठीअन्तर्गतको रहेको जनाएको छ । रूपन्देहीको भैरहवास्थित मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले गुठीको नाममा रहेको झन्डै तीन करोड मूल्यबराबरको ३ कट्ठा ५ धुर जग्गा दुई व्यक्तिलाई बिक्री गरिदिएका हुन् ।

वैष्णवले उदयमान पाण्डे र सरोज पाण्डे नाम गरेका व्यक्तिलाई बिक्री गरेको लालपुर्जाको प्रमाण राजधानीलाई प्राप्त भएको छ । सो लालपुर्जामा जग्गाको सरकारी मूल्य ६१ लाख उल्लेख गरिएको छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले गुठीको जग्गा मठाधीशबाटै बिक्री भएको विषयमा गम्भीर रूपमा छानबिन भइरहेको जानकारी दिए ।

गुठी संस्थानसँग जानकारी माग गर्दा संस्थानको जग्गा रहेको र मठाधीशहरूबीच यस्ता जग्गा नामसारी गर्न सकिने व्यवस्था रहेको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

रानाले भने त्यस्ता जग्गा नामसारी गर्न वा बिक्री वितरण गर्ने सम्बन्धी कुनै कानुनी व्यवस्था नरहेको जानकारी दिए ।

२०३५ सालमा तत्कालीन गाउँ ब्लक (सिंगो गाउँ नै एकै लालपुर्जामा रहने तराईमा मात्रै रहने गरेको व्यवस्था) अनुसार सो जग्गा २०७० सालमा मठाधीशको नाममा गएको देखिन आएको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

तत्कालीन समयमा गाउँ ब्लकअन्तर्गत रहेका जग्गा सम्बन्धित गाउँ विकास समितिले चार किल्ला तोकी व्यक्तिको भएको घोषणा गरेको अवस्थामा व्यक्तिको नाममा हुन सक्ने प्रावधान थियो ।

सोही प्रावधानको गलत व्याख्या गरी मठाधीशले मालपोतका कर्मचारी तथा अन्य विभिन्न पक्षलाई समेत प्रभावमा पारी आफ्नो नाममा गराएको हुन सक्ने स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गुठीको जग्गा मठाधीशले आफ्नो नाममा ल्याएर बिक्री गरेपछि सो जग्गा रोक्का राख्न गुठी संस्थानलाई निवेदन दिन बारम्बार भन्दै आइरहेको छ । संस्थानले भने बेवास्ता गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालयले बारम्बाार रोक्का लागि आवश्यक पहल गर्न आग्रह गरे पनि गुठी संस्थानले यस सम्बन्धमा कुनै पहल नगरेको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।