काठमाडौं, १४ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता प्रक्रियाको बाँकी काम वैशाखभित्रै गर्ने भएको छ । ९ वैशाखमा अध्यक्ष र सचिवसहित जिल्ला कमिटीको टुंगो लगाएको पार्टीले एकताको बाँकी काम पनि वैशाखभित्रै टुंग्याउने तयारी गरेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा एकता घोषणा भएको थियो । पार्टी एकता भएको ११ महिनापछि जिल्ला कमिटीले पूर्णता पायो । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा लामो छलफलपश्चात् जिल्ला कमिटीको टुंगो लागेको हो ।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले एकतासम्बन्धी बाँकी सबै काम वैशाख महिनाभित्रैमा टुंगो लाग्ने बताए । जिल्ला नेतृत्व टुंगो लागेको बताउँदै उनले बाँकी काम टुंगो लगाउन शीर्ष नेताहरू आन्तरिक गृहकार्यमा जुटेको बताए ।
‘हामीले जिल्लाको टुंगो लगायौं, बिस्तारै बाँकी काम पनि वैशाखभित्रैमा टुंगो लाग्छ,’ पौडेलले भने, ‘वैशाखभित्रमा सबै बाँकी काम टुंगो लगाउन शीर्ष नेताहरू गृहकार्यमा जुट्नुभएको छ ।’
यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको घोषणा भइसकेको छ । अब पोलिटब्युरो कमिटी, विभाग, प्रवास, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठनसहित स्थानीय तहको एकता अझै टुंगो लागेको छैन । एकतासम्बन्धी बाँकी रहेका काम छिट्टै नै टुंगो लगाएर पार्टीको सम्पूर्ण ध्यान तीनै तहको सरकार सञ्चालनमा केन्द्रित गर्ने पौडेलले बताए ।
अहिले एकताका बाँकी काम टुंगो लगाउनमा पनि समय खर्च भइरहेको बताउँदै उनले अब जनताको काम ठीक तरिकाले अघि बढाउने अभियानमा पार्टी जुट्ने बताए । साथै एकताको सन्देश दिनेगरी देशैभरि जागरण अभियानसमेत पार्टीले सञ्चालन गर्ने उनले बताए ।
एकता टुंगो लाग्नमा ढिलाइ भएका कारण त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ । पार्टीको बैठक, प्रशिक्षण, भेलालगायतका गतिविधि अहिले शून्यजस्तै भएको छ । जिम्मेवारी बाँडफाँट एवं एकता टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता नै बेरोजगार भएका छन् ।
नेकपाका स्थायी कमिटी सदस्य गणेश साहले पार्टीमा अब कोही पनि बेरोजगार वा जिम्मेवारीविहीन बन्नुपर्ने अवस्था नआउने बताए । लामो गृहकार्यपश्चात् जिल्ला कमिटीको टुंगो लागेको बताउँदै उनले बाँकी काम पनि टुंगो लगाउन समय नलाग्ने बताए ।
‘एकतासम्बन्धी धेरै काम टुंगो लागिसक्यो, बाँकी रहेका काम टुंगो लगाउन अब बढी समय लाग्नेछैन,’ साहले भने, ‘शीर्ष तहमा गहन रूपमा तयारी भइरहेको छ, बाँकी काम पनि छिट्टै टुंगो लाग्छ ।’















प्रतिक्रिया