कसैलाई सम्पति भए राष्ट्रियता नचाहिने, कसैलाई राष्ट्रियता धनभन्दा ठूलो !
‘नेपालको भूमिमा आएर लुटपाट गर्ने र सिमाना मिच्नेलाई सक्ने भए छपाछपी खुकुरीले छप्काउन हुन्थ्यो ।’ एकाविहानै चिया पसल पुगेर चिया पिउन लाग्दा सुनेको यो भनाइले मेरो ध्यान मोडियो । मिति याद भएन, ओखलढुंगा सदरमुकामस्थित गणेशटोलको चिया पसलमा एक ५० वर्ष हाराहारीका भरिया दाइसहित ५/७ जना सँगै चिया पिउँदै थिएँ ।
नाम सोधिन । जाडो याम भए पनि चप्पल, हाफ प्यान्ट र च्यातिएको ज्याकेट थियो उनको आँङमा । उनी कसैको भारी ओसार्न आएको अन्य कुराकानीले प्रस्ट्याउँथ्यो । उनले बिहानै रेडियोमा सुनेको समाचारको प्रसंग कोट्याउँदै माथिको आक्रोश पोखेका थिए । दशगजा क्षेत्रमा जंगे पिलर हराएको र नेपाली भूमि भारतले मिचेको समाचार रेडियोबाट बजेको थियो ।
००००
सोही चिया पसलमा अर्कातिर बसेर चियाको चुस्की लिइरहेका अलिक खाइलाग्दा अधबैंसे ती भरियाको खण्डनमा उत्रिए । ‘के को पिलर खोजेको नि ? नेपालमा ग्याँस, तेलको कुरो छाडौं, सियो समेत भारतबाट आउँछ । दुध दिने गाइको लात्ती सहनु भन्छन्, बरु नेपाल पनि भारतले लिए हुन्छ ।’ उनले आफूले व्यवसाय गर्दा विभिन्न काननु देखाएर कमाइभन्दा बढी कर तिराएको, गरी लगानीको सुनिश्चितता नभएको गुनासो गरे । र, टन्न कमाउन पाए, मोजमस्ती गर्न पाए ‘देशशेष’को अर्थ नभएको दलिल गरे ।
उनको समर्थनमा देखिएका अर्का व्यापारीको कुरा भुइँमा झर्न नपाउँदै भरिया दाइले प्रतिवाद गरिहाले– ‘विदेशीको नोकर भएर कमाउनुभन्दा बरु स्वतन्त्र देशमा बसेर एक छाक मात्र खाइन्छ ।’
चिया पिइ नसक्दै यो सम्वादले मलाई गम्भीर बनायो । राष्ट्रिताको बहस देशभरि चलिरहेको बेला चिया पसलको यो सम्वादले कुन वर्ग राष्ट्रियताको पक्षपाति, स्वतन्त्रताको हिमायति रहेछ भनेर खुट्याउन सजिलो हुनेछ । कसैलाई सम्पति भए राष्ट्रियता नचाहिने, कसैलाई राष्ट्रियता धनभन्दा ठूलो ! यो सम्वादमा सहभागी दुई जनाले दुुई फरक फरक वर्गको प्रतिनिधित्व गर्दछन् । भरियाले हुँदा खाने अर्थात्, श्रमजीवि वर्ग र व्यापारीले हुनेखाने मधयमवर्ग ।
यही चिया–सम्वादलाई आधार मान्ने हो भने अहिले चलिरहेको राष्ट्रियताको बहसमा जसले जे–जे तर्क गरे पनि अन्ततः राष्ट्रियताका हिमायती अभावमा पिल्सिएका नेपाली नागरिकहरु नै हुन् । उनीहरुको आफ्नो आदर्श राष्ट्रियता हो भन्न सकिन्छ । किनकी मध्यमवर्गीय र पूँजीपतिहरु धन आर्जन जुन व्यवस्थामा हुन्छ । त्यसैमा अनुकुलित हुने गर्दछन् । आर्थिक हिसावले माथिल्लो घरानाका व्यक्ति या नेपालको कर्मचारीतन्त्र स्वार्थ मिले जेजस्तो व्यवस्था वा आदेश हो सोही अनुसार अनूकुलित भएका उदाहरण ०४७, ०६२-०६३ को आन्दोलनले पनि प्रष्ट गरेको छ ।
यो प्रसंग यहाँ जोड्नुको आशय अहिले संविधानसभादेखि सडकसम्म लागेका राष्ट्रियताका नारा केवल स्वार्थ अनुकूलित हुन् । सत्ता मिले राष्ट्रियता धेरैपटक जुवाको दाउमा राखिएकै हो । र, यदि मनैबाट राष्ट्रियताप्रति कसैको माया छ भने आम हुँदा खाने श्रमजीवि वर्गमै उत्कट रुपमा रहेको छ, हुनेखाने वर्गमा होइन, भन्दा अत्युक्ति नहोला ।














प्रतिक्रिया