झापा, ८ वैशाख । गैरकानुनी हिरासतमा नाबालकको मृत्यु भएको घटना तोडमोड गर्न प्रहरीले जनप्रतिनिधिलाई समेत प्रयोग गरेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको थुनुवा कोठामा १ वैशाखको राति ज्यान गुमाएका मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जी भारतीय भएको पुष्टि गर्न प्रहरीले राति नै जनप्रतिनिधिलाई मुचुल्कामा सही गराएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्काले राति २:३० बजे बोलाएर झुटो विवरण भएको मुचुल्कामा सही गर्न लगाएको जनप्रतिनिधिहरूले बताएका छन् । बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, सोही वडाका वडा सदस्य लक्ष्मी बास्कोटा र अर्जुनधारा नगरपालिका–१० का वडाध्यक्ष बलदेव गोम्देनले मुचुल्कामा हस्ताक्षर गरेका छन् । प्रहरी कार्यालय आसपासका बासिन्दालाई पनि त्यो मुचुल्कामा हस्ताक्षर गराइएको छ ।
‘राति अढाई बजे गाडी लिन आयो र प्रहरी टोलीले हामीलाई इलाका प्रहरी कार्यालय लगेर सहीछाप गर्न लगायो,’ मुचुल्कामा हस्ताक्षर गरेका वडा सदस्य बास्कोटाले नयाँ पत्रिकासँग भने, ‘मृतक भारतीय नागरिक भएको र १९ वर्षको भन्दै प्रहरीले हामीलाई झुक्याएछ ।’
किरणले आत्महत्या गरेको दाबी प्रहरीले गरिरहेको छ भने आफन्तले यातनाबाट उनको मृत्यु भएको बताएको छ । सहीछाप गर्न जाने जनप्रतिनिधिहरूलाई हिरासतभित्र रहेका अन्य थुनुवाले आफूहरू निदाइसकेपछि घटना भएकाले केही थाहा नभएको बताएका थिए । प्रहरीले मृतकको उमेर पनि लुकाउने प्रयास गरेको छ ।
‘भारतको पानीट्यांकी बस्ने १९ वर्षीय किरण दर्जी’ लेखिएको मुचुल्कामा जनप्रतिनिधिलाई सही गर्न लगाइसकेपछि प्रहरीले सञ्चारकर्मीलाई किरण भारतीय नागरिक भएको झुटो विवरण दिन थालेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले मृतक भारतीय नागरिक भएको नयाँ पत्रिकालाई बताएका थिए ।
गैरकानुनी हिरासतमा नाबालकको मृत्युबारे नयाँ पत्रिका दैनिकले निरन्तर समाचार प्रकाशन गरेपछि बिर्तामोडका डिएसपी सुवास खड्काले फलोअप नगर्न दबाब दिएका छन् । ‘हामीसँग किन यसरी रिसाउनुभएको ?’ नयाँ पत्रिकासँग उनले टेलिफोनमा भने, ‘यसरी नरिसाइदिनुस् न । समाचार त्यसरी किन लेखिदिनुभएको ? किन खनिनुभएको हामीमाथि ?’ तर, जनप्रतिनिधिलाई राति नै ल्याएर मुचुल्कामा सहीछाप गर्न लगाउनुको कारण सोध्दा डिएसपी खड्काले जवाफ दिन सकेनन् ।















प्रतिक्रिया