काठमाडौं, ६ वैशाख । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२ खाली भएको छ । सरकारले उपनिर्वाचन घोषणा त गरेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा–परिचर्चा सुरु भएको छ । विद्यार्थी राजनीतिबाट स्थापित भएका नेकपाका लोकप्रिय नेता अधिकारी ०६४ को पहिलो संविधानसभा निर्वाचनयता लगातार तीनपटक प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
लगातार चुनाव जितेका अधिकारीले पहिलोपटक संसद्मा लेखा समिति सदस्य, दोस्रोपटक विकास समिति सभापति र तेस्रोपटक मन्त्रीको जिम्मेवारी पूरा गरे । उनको निधनसँगै रिक्त चुनाव क्षेत्रमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्नेबारे अड्कलबाजी हुन थालेका छन् । उनको स्थानमा उठ्ने उम्मेदवारबारे नेकपाले कुनै प्रतिक्रिया दिएको छैन । तर, पोखरामा भने अधिकारीको अन्त्येष्टिसँगै सुरु भएको यो चर्चा दिनप्रतिदिन गर्मराउँदै जाने देखिन्छ । पछिल्लोसमय कांग्रेस सभापति शेरबहादुर देउवाले यो क्षेत्रमा हुने उपनिर्वाचनमा जितेर कांग्रेसले देशव्यापी एकताको सन्देश दिनुपर्ने बताएसँगै यहाँ चुनावको चर्चा थप चुलिएको छ ।
सम्भावित उम्मेदवारका रूपमा उनकै पत्नी विद्या भट्टराई, सचिवालय सदस्य वामदेव गौतमदेखि जिल्लाकै पुराना नेताको नाम चर्चामा छ । सुरुमा नेकपाका नेता वामदेव गौतम उठ्ने अनुमान गरियो । तर, गौतमले आफू नउठ्ने प्रष्टीकरणसहित रवीन्द्रको परिवारलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक गरे । उनले आफ्नो चरित्रहत्या गर्न यो प्रचार गरिएको भन्दै खण्डन गरेका थिए । ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ,’ उनले भनेका थिए, ‘मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म रवीन्द्रको क्षेत्रमा उमेदवार बन्ने छैन ।’
सो क्षेत्रका अन्य नेताले पनि खुला रूपमा उम्मेदवारी दाबी नगरेपनि पार्टीले जिम्मा दिएको खण्डमा आफू तयार रहेको बताएका छन् । सबैजसोले अधिकारी पत्नी भट्टराईलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । तर, भट्टराईले अस्विकार गरेको खण्डमा उम्मेदवारीका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।
‘पार्टीले अहिले सोचिसकेको छैन,’ पूर्वमन्त्री तथा कास्की–१ का सांसद खगराज अधिकारीले भने, ‘रवीन्द्र र सिंगो पार्टीको प्रभावले बलियो किल्लाका रूपमा रहेको कास्की–२ मा उपयुक्त ढंगले आएको सिफारिस र प्रक्रियालाई पार्टीले उपयुक्त निर्णय गरेर योग्यता प्रदर्शन गर्नेछ । तर, अहिल्यै बोलिहाल्नु हतारको विषय हुन्छ ।’
०७४ मा निर्वाचितमध्ये चारजना सांसदको निधन भइसकेको छ । देशभर सात सयजना प्रतिनिधिको पद रिक्त छ । सरकारले कुनै पनि क्षेत्रमा उपनिर्वाचनको तयारी गरेको छैन । तर, रवीन्द्रको क्षेत्रमा उनका ‘उत्तराधिकारी’ को चर्चासँगै चुनावी माहौल बन्दै गएको छ । १५ फागुनमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०स्थित सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा अधिकारीसहित सातजनाको निधन भएको थियो ।
सम्भावित उम्मेदवार
विद्या भट्टराई :कास्की–२ मा उम्मेदवार बन्ने सबैभन्दा बढी सम्भावना भएकी व्यक्ति हुन् रवीन्द्र अधिकारीकी जीवनसंगिनी भट्टराई । उनले चाहेमा अरू कसैले पनि उम्मेदवारी दाबी नगर्ने धारणा पार्टी पंक्तिमा छ । तर, भट्टराईले यसबारे खुलेर केही बताएकी छैनन् । ‘मैले यस विषयमा अहिले सोचेकी छैन । सिंगो पार्टी छ, परिवार छ । पार्टीले सोच्ला, परिवारसँग छलफल होला,’ उनले भनिन्, ‘अहिले पार्टी र परिवारसँग छलफल भएको छैन ।’ उनले उम्मेदवार जोसुकै भए पनि कास्की–२ बाट नेतृत्व गर्ने व्यक्ति राष्ट्रियस्तरमा काम गर्न सक्ने र जनताबीच लोकप्रिय हुनुपर्ने बताएकी छन् ।
सोमनाथ अधिकारी प्यासी : तत्कालीन एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्षसमेत रहेका अधिकारी कास्कीका पुराना नेता हुन् । अर्कै निर्वाचन क्षेत्रका भएकाले उनले उम्मेदवारीमा दाबी गर्ने अवस्था छैन । ‘पार्टीको निर्णयलाई मान्छु,’ उनले भने, ‘उपनिर्वाचन हुने नै भयो भने पार्टीले जिम्मेवारी दिएको खण्डमा तयार हुन्छु । तर, दाबी गर्दिनँ ।’
तुलबहादुर गुरुङ : तत्कालीन एमाले पोलिटब्युरो सदस्य गुरुङ अहिले नेकपाका केन्द्रीय सदस्य छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष पनि रहेका उनले ०४८ र ०५६ मा त्यही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । कास्कीमा पुराना नेता भएकाले उनी उम्मेदवारको स्वभाविक दाबेदार मानिन्छन् । अधिकारीको उदयपछि छायाँमा परेका उनले परिवारलाई नै पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘कास्की–२ मा विद्या भट्टराई नै पहिलो प्राथमिकतामा छिन्,’ गुरुङले भने, ‘उहाँले पक्कै मान्नु हुनेछ । उहाँ राजी हुनुभएन भने विकल्पमा पार्टीले उपयुक्त निर्णय गर्छ । पार्टीले जिम्मेवारी दिँदा म तयार नहुने कुरै भएन ।’
धनराज आचार्य : रवीन्द्र अधिकारीका बालसखासमेत रहेका आचार्य विद्यार्थी राजनीतिमा लामो समय सँगै काम गरेका व्यक्ति हुन् । पछिल्लो समय राजनीतिभन्दा बढी व्यवसायमा सक्रिय आचार्यलाई पनि कास्की–२ को सम्भावित उम्मेदवारका रूपमा हेरिन्छ । तत्कालीन एमाले समर्थित व्यापारीको संगठन नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्षसमेत रहेका उनले उम्मेदवारीमा आफ्नो दाबी नरहेको बताए । ‘पहिलो प्राथमिकता रवीन्द्रको परिवार नै हो,’ उनले भने, ‘यदि परिवारले मानेन भने मेरो दाबीभन्दा पनि पार्टीको निर्णय मुख्य हुनेछ ।’
रश्मी आचार्य : अनेरास्ववियुका उपाध्यक्ष आचार्य सोही क्षेत्रका हुन् । सम्भावित उम्मेदवारका रूपमा उनलाई लिइए पनि आचार्य काठमाडौंकेन्द्रित विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा समय दिन सकेका छैनन् । आचार्यले पार्टीले जिम्मा दिए आफू उम्मेदवार बन्न तयार रहेको बताए । ‘युवा नेतृत्व स्थापित भएको ठाउँमा अब फेरि पुराना नेतातर्फ फर्किन्नु हुन्नँ,’ उनले भने, ‘युवालाई नै अगाडि बढाउनुपर्छ ।’















प्रतिक्रिया