
काठमाडौं, ३ वैशाख । काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा शाखा रहेको गुर्खाज फाइनाइन्सका कर्मचारीमाझ अहिले चर्चा छ– बोर्ड अध्यक्षको मनोमानी र नियतका कारण संस्थाकै बद्नाम भयो ।
‘हामी पनि बद्नामीको भारी बोकिरहेका छौं, अध्यक्षको हर्कतका कारण काम गर्न पनि कठिन भयो । संस्थाको नाम नै हरेक पटक मिडियामा आइरहेको छ ।’
उक्त फाइनाइन्स सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर खापुङका पछिल्ला हर्कत र सनकको चर्चा चल्न थालेको हो । कतिपयले उनलाई फोन गरेरै पनि बद्नामीको भारी आफैं बोक्न र अरुलाई नबोकाउन पनि सुझाव दिएका छन् । आजको जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
अहिले मुलुकमा चलिरहेको बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा पास गराउने मध्ये खापुङ पनि परेको विषयले झन पसिना पसिना भएका छन् कर्मचारी । खापुङ तिनै हुन्, उक्त जग्गा पास गर्ने बेला काठमाडौंको डिल्लिबजारस्थित मालपोत कार्यालयका प्रमूख थिए । उनी अघि र पछिका अन्य प्रमूख पनि यो प्रकरणमा मुछिएका छन् । जसलाई कारबाहीका लागि सरकारले गठन गरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको समितिले नामै किटान गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।
विवादमा मुछिएका खापुङको सनकले फाइनाइन्सका अन्य पदाधिकारी र कर्मचारीलाई तनाब भएको छ, कतिपयले बोर्डका सञ्चालकको कामका कारण संस्थामा काम गर्न कठिन भएको बताउन थालेका छन्
स्रोतले भन्यो,‘एकातिर यो सिफारिसका कारण बद्नाम भइयो, अर्कातिर आफन्तहरू र कतिपय चिनजानका मानिसका जग्गा हडपेको पनि चर्चा चलिरहेको छ ।’
उसो त खापुङ गतिला कहाँ थिए र ? युएन पार्कको जग्गा पनि व्यक्तिका नाममा पास गरेको अभियोगमा अख्तियारमा उजुरी परेपछि सेटिङमा लागेका थिए ।
पछिल्लो प्रकरण के हो ?
जसलाई पदको दुरुपयोग गरी सम्बन्धित व्यक्तिलाई फिर्ता दिने त होइन, दबाबमा राख्ने काम गरेका खापुङको पछिल्लो प्रकरण हो, उनीविरुद्धको उजुरी र मुद्दा । जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरपालिकाको कार्यालय काठमाडौं, नापी विभाग काठमाडौंलगायतका ठाउँमा खापुङले जग्गा हडपेका आफन्त पुगेका थिए ।
खापुङले काठमाडौं–१६ मा रहेको ससुरालीतर्फ सालाकी पत्नी शिवरूपा लिम्बुनीको नाममा रहेको एक रोपनी १० आना जग्गा कब्जा गरेर बसेका छन् । उक्त जग्गा उपभोग गर्न नदिएपछि जिप्रका काठमाडौंमा शिवरूपा र परिवारका अन्य सदस्यले ९१९९ नम्बरमा ‘शान्ति सुरक्षा पाउँ’ भनी गएको २३ फागुनमा उजुरी दर्ता गराएका थिए । शिवरुपाका पति स्व. ललितबहादुर लिम्बुले पत्नी र आफ्ना तीन छोराका लागि भनेर ०४७ सालमा लिएको जग्गा खापुङले रेखदेख गर्दै आएका थिए । तर, १० बर्षदेखि भने कब्जा नै जमाएर फिर्ता दिएका छैनन् ।
उक्त परिवारले जग्गाका सबै कागजातसहित नापसमेत गरी उपभोगको तयारी गर्दा खापुङले जग्गामा अवरोध गरेका हुन् । काठमाडौं जिल्लाको कित्ता नम्बर ८१, ३६ र १११ नम्बरको उक्त जग्गामा खापुङको प्रशासनिक सनकको दादागिरी चलाइएको छ ।
पीडित परिवारसँग रहेको कागजातदेखि विभिन्न ठाउँमा गरेको उजुरीका प्रमाणहरू जनप्रहारले सुरक्षित राखेको छ । पीडित परिवारका सदस्यहरू, जग्गाधनी शिवरूपाका छोरा धीरेन र प्रकाशका अनुसार मिल्नका लागि अनेक पटक भनियो तर उनले पेल्ने नियत राखेर जग्गा छाडेनन् ।















प्रतिक्रिया