८ कार्तिक २०८३, आइतबार

स्वास्थ्यमा बेथिति : क्रिश्चियन संस्थाको शिविरमा ल्याइएका कोरियाली ‘डाक्टर’ को लापरबाही

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको छ। शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टिम ल्याइएको थियो। तिनले दिएका झोल दबाईमा पनि के लेखिएको छ, बुझिँदैन। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

फाल्गुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको शल्यक्रिया भएको थियो। तीमध्ये अधिकांशमा महिना नबित्दै आँखामा गम्भीर समस्या देखिएको थियो। कर्जन्हा नगरपालिका ८ थल्हा र आसपासमा सोमबार अन्नपूर्ण पोस्ट् पुग्दा ५ जनाको ज्योति गुमेको पाइयो। अन्य गाउँबाट उपचार गराएकाहरूको अवस्था खुल्न सकेको छैन।

ज्योति गुमाउनेमा थल्हाका कलम हुसैन, रामझरी पासमान, देवलाल राउत, गौतारीका गोलियादेवी पासमान र विन्देश्वरी पासवान छन्। उनीहरूले फाल्गुन १५ गते फुलकुमारी महतो मेमोरियल अस्पतालमा भएको शिविरमा मोतिबिन्दुको शल्यक्रिया गराएका थिए।

फुलकुमारी मेमोरियल अस्पतालमा ‘रिचिङ द नेशन’ (आरटीएन) स्कुलले शिविर आयोजना गरेको थियो। त्यसमा अस्पतालको साझेदारी रहेको बताइए पनि उसले ठाउँमात्र दिएको दाबी गरेको छ। आरटीएन स्कुल क्रिश्चियन संस्थाले चलाएको हो।

उसले दक्षिण कोरियाबाट ३० जनाभन्दा बढीको टोली शिविरका लागि ल्याएको थियो। त्यसमा विशेषज्ञ चिकित्सक भएको बताइए पनि प्रमाणित हुन सकेको छैन। शल्यक्रियापछि उनीहरुलाई दुई किसिमका झोल औषधी दिइएको थियो। त्यसलाई एक महिनासम्म प्रयोग गर्न भनिएको थियो।

औषधीको नाम कोरियाका माषामै छ। उनीहरुको के के जाँच भयो ? शल्यक्रियापछि कुन कुन औषधी दियो ? त्यो उल्लेख छैन। आफूहरुलाई नामदर्ताको पुर्जासमेत नदिएको पीडितले सुनाए।

‘गाउँमा विदेशी डाक्टरबाट निःशुल्क उपचार हुँदैछ भन्ने खुब प्रचार सुनें, त्यसकै भरमा लागेर शिविरमा गएँ,’ हुसैनले भने, ‘निःशुल्क शल्यक्रियाले आँखाको ज्योती नै लग्यो। खेतमा गहुँ कटान गर्नुछ, आँखामा समस्या भएपछि काम गर्न सकेको छैन।’ शल्यक्रिया गराएको ५ दिनभित्रै आँखाको दृष्टिमा समस्या आउन थालेको उनले सुनाए।