काठमाडौं, २४ चैत । त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको छ ।
उक्त रकम शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्य खुलेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
उहाँले आफ्ना श्रीमान् प्राडा रमेशप्रसाद भट्टराईलाई विज्ञ बनाएर परियोजनाका हरेक भ्रमणमा सँंगै लैजाने गरेपछि त्रिविभित्रै आक्रोश बढेको छ । परियोजनाको प्रमुख रेक्टर त्रिपाठीले परियोजनाले अहिलेसम्म कोकोलाई विदेश पठाएको छ भन्ने अधिकांश विषय गोप्य राख्ने गर्नुभएको छ ।
सो परियोजनाअन्तर्गत विदेश भ्रमण जाँदा त्रिविलाई आर्थिक भार नपर्ने उल्लेख गरी बिदा स्वीकृत भए तापनि उहाँले दोहोरो सुविधा लिने गर्नुभएको समाचार स्रोतको दाबी छ ।
उक्त स्रोतका अनुसार रेक्टर त्रिपाठीले पति भट्टराईलाई ग्रिस, चेन्नाई, इटाली, स्पेन, चीन, अमेरिकालगायतका प्रायः देशको भ्रमणमा लैजाँदा परियोजनाको रकम खर्च गर्नुभएको छ । चेन्नाई, इटालीलगायत मुलुक भ्रमणमा रेक्टर त्रिपाठी पतिसँगै पुग्नुभएको छ । भट्टराईले विभिन्न मुलुक भ्रमण गर्दा १० लाख रुपियाँभन्दा बढी एड्भान्स रकम लिनुभएको छ ।
अधिकांशले थोरैमा १ लाखदेखि २ लाख रुपियाँसमेत एडभान्स लिएका छन् । परियोजनामा करिब ३२ हजार युरो अर्थात् करिब ३५ लाख रुपियाँ रकम आएको थियो । तीमध्ये करिब २९ लाख रुपियाँ भ्रमणमै सकिएको छ । विदेश गएपछि बिल पेस गरी रकम लिनुपर्ने प्रावधानलाई लत्याउँदै एड्भान्सको रुपमा रकम लिने गर्नुभएको हो ।
स्रोत थप्छ– ‘भट्टराई सो परियोजनको सदस्यको रुपमा रहनुभएको छ । रेक्टर त्रिपाठीले पनि एड्भान्सकै रुपमा रकम लैजानुभएको छ ।’
सो भ्रमणमा आफू निकटका व्यक्ति र विज्ञका नाममा अनुभव नभएकालाई लगेको भन्दै त्रिविमा आलोचना खेप्दै आउनुभएका रेक्टर त्रिपाठीले सो परियोजना आफूले ल्याएकाले परियोजना विज्ञको रुपमा पति प्राडा भट्टराईलगायतलाई लैजाने गरेको तर्क दिने गर्नुहुन्छ ।
उहाँको भनाइ छ– ‘मेरै पहलमा त्रिविको गुणस्तर सुधार्न ल्याएको बजेट विभिन्न सेमिनारमा खर्च गरिएको हो ।’
रेक्टर त्रिपाठीले नेपाली विभागका प्राध्यापक रहेका श्रीमान् भट्टराईलाई विदेश भ्रमण गर्न दर्जनौंपटक बिदा स्वीकृति दिनुभएको छ ।
अमेरिकाको महर्षी युनिभर्सिटी अफ म्यानेजमेन्ट स्टेट युनिभर्सिटीमा समेत दुवै जना सहभागी हुनुभएको थियो । ‘नेपालीका प्राध्यापक प्राडा भट्टराई व्यवस्थापन विषयको सेमिनारमा गएकोमा अचम्म लागेको छ’ –स्रोत भन्छ ।















प्रतिक्रिया