काठमाडौं, २९ माघ । साउदी अरबका राजकुमार अल-वालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद शिकार खेल्न नेपाल आउने भएका छन् ।
विश्वका उच्च ओहदाका व्यक्तिलाई सिकार गराउँदै आएको नेपाल वाईल्डलाईफ सफारीमार्फत् राजकुमार तलाल ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकार गर्न आउन लागेका हुन् ।
चार वर्ष अघि नेपाल आएका बेला उनले सिकारमा रुची देखाएका थिए । सौखिन तलालले ढोरपाटनको लेकमा एउटा नाउर र एउटा झारल सिकार गर्नेछन् ।
सिकारका लागि आवश्यक हतियार र खरखजाना उनैले ल्याउने समाचार कान्तिपुर दैनिकले छापेको छ ।
यसै वर्षभित्र आउने तयारी भए पनि माघ ९ मा काका साउदी राजा अब्दुल्लाह बिन अब्दुल अजिजको निधनका कारण भ्रमण पर धकेलिएको उनलाई सिकार गराउन नेपाल ल्याउन जुटेको कम्पनीका अधिकारीले बताए ।
तलाल तत्कालिन राजा अब्दुल्लाहका भतिज र साउदीका संस्थापक राजा इब्न साउदका नाती हुन् । उनी चर्चित व्यापारीसमेत हुन् ।
‘राजकुमारज्यूले सिकारका लागि हाम्रो कम्पनीसंग बुकिङ गराइसक्नुुभएको छ’, सफारीका मेनेजर अमृत थापाले भने, ‘उहाँको सचिवालयका अधिकारीहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ, उपयुक्त समयमा नेपाल आउने भनी खबर गरिएको छ ।’
त्यसअघि थापाले राष्ट्रिय निकुञ्ज विभागबाट नाउर र झारलको सिकार गराउन अनुमति लिनेछन् ।
विभागले सिकारको लाईसेन्स भएका कम्पनीवीच प्रतिस्पर्धा गरी नाउर र झारलको सिकार अनुमति दिन्छ ।
त्यसपछि कम्पनीले देश विदेशका इच्छुक सिकारी खोजी गरी ढोरपाट ल्याउँछन् ।
विभागले वाषिर्क नाउर २६ देखि ३० र झारल ११ देखि १६ वटासम्म सिकार गर्न दिन्छ । ढोरपाटनमा करिब १६ सय नाउर छन् ।















प्रतिक्रिया