काठमाडौं, २३ चैत । ‘पञ्चायतमा पनि बारभन्दा बाहिर उभिएर जात्रा हेर्ने रहर मेट्नुपथ्र्यो, प्रजातन्त्र आएपछि पनि नजिकबाट हेर्न पाइएन,’ शुक्रबार टुँडिखेलको बार समाएर जात्रा चियाउँदै गरेका ७१ वर्षीय पवनराज बस्नेत भन्दै थिए, ‘नियम फेरियो तर शासक वर्गको मानसिकता फेरिएन।’
बस्नेतले त्यसरी कष्ट बेहोर्दै घोडेजात्रा हेर्न थालेको दुई दशक भयो। तर उनले अहिलेसम्म नजिकबाट जात्राको रौनक अवलोकन गर्न पाएका छैनन्। नागरिक दैनिकले समाचार छापेको छ ।
बस्नेत एक प्रतिनिधि पात्र मात्र हुन्। जात्राको बेला टुँडिखेलभित्र ‘पहुँचवाला’ र उच्चपदस्थ व्यक्ति छिरे पनि सर्वसाधारणलाई त्यस्तो अवसर दिइन्न। जात्रा हेर्न टुँडिखेल पुगेका हजारौं सर्वसाधारण गेटबाटै फर्काइन्छन्।
टुँडिखेलबाहिरबाटै जात्रा नियालिरहेकालाई शुक्रबार नेपाली सेनाका सुरक्षा गार्ड र ट्राफिक प्रहरीले धपाए। उनीहरूले बाहिरबाट चियाएर पनि जात्रा हेर्न पाएनन्।
प्रहरीबाट धपाइँदै गरेको त्यो दृश्य देख्ने जोकोहीलाई जनतामाथि अपमान भइरहेको अनुभूति हुन्थ्यो। यो दृश्य नयाँ होइन, केही वर्षयता बर्सेनि दोहोरिँदै आएको नियति हो। विगतमा पनि सर्वसाधारणले यसरी नै जोखिमपूर्ण ढंगले जात्रा हेर्दै आएका छन्।
जात्रा हेर्ने रहर मेट्न कतिपय सर्वसाधारण रूखमा चढ्छन्, कतिपय बारमा झुन्डिन्छन्। कतिपय जात्रा हेर्ने उद्देश्यले वरिपरिका अग्ला भवनको छतमा पुग्छन्।
सरकारले सर्वसाधारणको जात्रा हेर्न पाउने अधिकारलाई ध्यानमा राखेर थोरै ठाउँ तोक्ने अवस्था रहे पनि त्यसो गरेको छैन। बरु बारमा कष्ट झेलेर हेर्नेहरूलाई पनि पराईझैं व्यवहार गरिरहेको छ।















प्रतिक्रिया