काठमाडौ, २८ माघ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि लिखित आह्वान गरे पनि संवाद सुरु हुन सकेको छैन ।
विपक्षी मोर्चा सकारात्मक नभएपछि राजनीतिक गतिरोध कायमै छ ।
दुई दिनअघि प्रधानमन्त्री कोइरालाले वार्ता गर्न आह्वान गर्दै जारी गरेको वक्तव्य अमूर्त रहेको भन्दै विपक्षी मोर्चाले तत्काल बार्तामा नबस्ने अडानमा रहेकाले संवाद अघि बढ्न नसकेको हो बिपक्षी मोर्चाले ।
सार्थक बार्ताका लागि विश्वासको वातावरण बनाउन आग्रह गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
प्रधानमन्त्री कोइरालाले आफू लचक भएर नै सडकमा गएका एमाओवादीसहितको विपक्षी मोर्चालाई बार्तामा ल्याउन लिखित आह्वान गरेको बताएका छन ।
मंगलबार कांग्रेसका जिल्ला समितिका कोषाध्यक्षहरुको तालिममा कोइरालाले धम्की र घुर्की नदेखाई बार्तामा आउन आग्रह गरेका छन् ।
एमाओवादीले भने प्रधानमन्त्रीबाट वार्ताका लागि मुर्त रुपमा आह्वान हुनुपर्ने बताएको छ । ‘प्रधानमन्त्रीले अझै विश्वासको वातावरण बनाउनुपर्छ, वार्ताका लागि औपचारिक आह्वान गरेरमात्र हुँदैन’ एमाओवादी नेता अग्नि सापकोटाले भने, ‘यही अवस्थामा तत्काल वार्ता हुन गाह्रो छ ।’
बिपक्षी मोर्चा नै तयार नभएपछि संवाद सुरु हुन नसकेको सत्तारुढ दलका नेताहरुको भनाइ छ ।
तर अनौपचारिक रुपमा सबै पार्टीका नेताहरुबीच टेलिफोन कुराकानी भइरहेको छ । ‘अनौपचारिक कुराकानीका क्रममा सहमति गर्नुपर्छ भन्ने भावनामात्र व्यक्त हुन्छ, तर सहमति कसरी खोज्ने भन्नेमा गम्भिर कुराकानी भने भएको छैन’ एमालेका एक वरिष्ठ नेताले भने ।
ती नेताका अनुसार सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीेले नै संवादका लागि पहल गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्रीले नै वातावरण बनाएपछि संवादमा बस्ने भन्दै एमाले नेताहरु अघि सरेका छैनन् । ‘प्रधानमन्त्रीको तर्फबाट केही पहल भएको होला, हाम्रो औपचारिक कुराकानी भएको छैन’ एमाले उपाध्यक्ष भीम रावलले भने ।
बिपक्षीले संविधानसभामा सुरु भएको बहुमतीय प्रक्रिया स्थगित गर्न वा सहमतिबाट संविधान जारी गर्ने प्रतिवद्धता गर्न प्रधामन्त्रीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार टेलिफोन कुराकानी भएको थियो ।
तर राजनीतिक गतिरोधभन्दा पनि संबैधानिक निकायमा नियुक्तिका लागि संबैधानिक परिषदको बैठक बोलाउने बिषयमा मात्र कुराकानी भयो ।















प्रतिक्रिया