काठमाडौं, ४ चैत । सबैभन्दा धेरै कारबाहीमा पर्नेमा मोटरसाइकलचालक छन् । गत आर्थिक वर्षमा ५ लाख ५७ हजार ८ सय ७८ मोटरसाइकलचालक कारबाहीमा परेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यस्तै, ३ लाख ८७ हजार १६ पटक ट्रक/ट्यांकरचालक, २ लाख २४ हजार ५ सय ६४ पटक बस/मिनिबसचालक, ३ लाख २२ हजार ३० पटक कार/जिप र भ्यानका चालक, १ लाख १३ हजार ५ सय ६५ पटक ट्र्याक्टरचालक तथा ४४ हजार ७ सय ८८ पटक ट्याम्पो तथा अन्य सवारीचालक कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको तथ्याङकअनुसार ट्राफिक नियम मिचेर कारबाहीमा परेकाहरूको संख्या झन् उच्च छ ।
एक वर्षमा बिभिन्न किसिमले ट्राफिक नियम मिच्ने १६ लाख चालक कारबाहीमा परेका छन् । आर्थिक वर्ष ०७४/७५ को तथ्यांकअनुसार १६ लाख ३९ हजार ८ सय ४३ जना कारबाहीमा परेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।
उनका अनुसार पटक–पटक कारबाहीमा परेका एकै चालक पनि सो तथ्यांकमा समेटिएका छन् । कारबाहीबाट १ अर्ब ३ करोड राजस्व संकलन भएको छ । सबैभन्दा धेरै उपत्यकामा ४ लाख ७३ हजारजना चालक कारबाहीमा परेका छन् ।
आव ०७३/७४ मा १६ लाखभन्दा धेरै चालक कारबाहीमा परेका थिए । १६ लाख ८२ हजार ९ सय ३ चालकलाई कारबाही गरी ट्राफिक प्रहरीले १ अर्ब २ करोड ६ लाख ३९ हजार राजस्व संकलन गरेको थियो । त्यस्तै, आव ०७२/७३ मा १५ लाख ४ हजार १ सय ३९ जना चालक कारबाहीमा परेकोमा ५७ करोड ६५ लाख ५६ हजार राजस्व संकलन भएको थियो ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकको संख्या बढ्दो छ । प्रहरीका अनुसार गत वर्ष ४२ हजार ८ सय ७३ चालक मापसे कारबाहीमा परेका छन् ।
सिटबेल्ट प्रयोग नगरी सवारी चलाएकोमा ५० हजार ६ सय ६९, ओभरलोड राखिएकोमा १ लाख ९६ हजार १ सय ६२, छतमा यात्रु राखेकामा १७ हजार ४ सय ८८ तथा लेन अनुशासन मिचेकोमा ७३ हजार २ सय पाँचजना चालक कारबाहीमा परेका छन् ।
सबै किसिमका ट्राफिक नियम अवज्ञा र कारबाहीको संख्या विगतको तुलनामा बढ्दो रहेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । ट्राफिक नियमको अवज्ञा नेपालमा ठूलो समस्या बनेको अवकाशप्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथु बताउँछन् ।















प्रतिक्रिया