चितवन २६ माघ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली युवाले चितवनका बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् ।
चितवनको रत्ननगर–५ बाघमारामा रहेका बाढीपीडित तथा सुकुम्वासीलाई प्रवासी नेपाली युवाको खाद्यान्न, कपडा र आर्थिक सहयोग सोमबार वितरण गरिएको हो ।
लालीगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अगुवाईमा कुवेतमा रहेका नेपालीहरुबाट सहयोग रकम संकलन गरिएको थियो ।
संकलित सहयोग रकमबाट बाढीपीडित र सुकुम्वासीलाई खाद्यान्न, कपडा र आर्थिक सहयोग गरिएको हो । गत साउन महिनामा आएको बाढीबाट पीडित २१ घर परिवारलाई प्रतिपरिवार एक वोरा चामल, ५ किलो दाल, एउटा ब्लाङकेट र एक हजार रुपैयाँका दरले सहयोग गरिएको महासचिव लोप्चनले जानकारी दिनुभयो ।
आर्थिक अभावले जीवनयापन गर्न समस्या भोग्दै आएका बाढीपीडित सुकुम्वासीले खाद्यान्न, कपडा र आर्थिक सहयोग पाएपछि राहत महसुस गरेका छन् ।
लायन्स क्लब अफ राईनो सिटीले स्थानीय स्तरमा संयोजन गरी आयोजना गरिएको सहयोग हस्तन्तरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल र लालीगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव डिवी लोप्चनले संयुक्त रुपमा सुकुम्वासीहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै, चितवनकै रत्ननगर–१७ मा रहेको टासी उर्गेन गुम्बालाई पनि कुवेतमा संकलित रकम मध्य ६० हजार ५ सय रुपैया सहयोग गरिएको छ । सो अवसरमा लालीगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव लोप्चनले कुवेतमा साँस्कृतिक कार्यक्रम गरेर उठेको र कुवेतमा रहेका नेपालीहरुवाट संकलित रकमवाट सुकुमवासीलाई खाद्यान्न, कपडा र आर्थिक सहयोग गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स क्वल अफ राईनो सिटीका अध्यक्ष राजाराम रेग्मी, रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वन, लोक गायक मिलन लामा, राईनो सिटीका पूर्व अध्यक्ष निरज श्रेष्ठ, सचिव पुष्पराज श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।















प्रतिक्रिया