
काठमाडौँ, २२ फागुन । विश्वका अर्वपतिमध्ये नेपालका एकमात्र विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । चौधरीले गत वर्षभन्दा २१४ स्थान माथि उक्लिने क्रममा २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थपेको फोर्ब्सले जनाएको छ ।
फोर्ब्सले जारी गरेको विश्वका अर्बपतिहरुको सूचीमा चौधरी १३४९औँ स्थानमा छन् । आजको डलर विनिमयअनुसार चौधरीको सम्पत्ति २२ अर्ब ६५ करोड रुपैयाँ बढेको हो ।
चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । गत वषै उनको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको थियो । चैधरी चौधरी ग्रुप (सीजी)को प्रमुख हुन् । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ ।
यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी छ । चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत यो चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल छन् ।
फोर्ब्सका अनुसार चौधरीको होटलतर्फ २९ वटामा लगानी स्वामित्व र ७० वटामा व्यवस्थापकीय सम्पत्ति समेत रहेको छ, जुन इन्डियाको प्रसिद्ध ताज होटलको चेन होटलका रुपमा सञ्चालनमा रहेका छन् ।
उनका छोराहरुमध्ये निर्वाणले नेपालमा बसेर चौधरीलाई सघाउँछन् भने वरुण र राहुलले नेपालबाहिर बसेर बिजनेस हेर्छन् । चौधरी नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद पनि हुन् ।















प्रतिक्रिया