महेन्द्रनगर, २५ माघ । कञ्चनपुरमा मोबाइल प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिल्लामा एक वर्षमै ४५ प्रतिशतले मोबाइल प्रयोगकर्ता बढेका छन् ।
आर्थिक वर्ष २०६९र७० कोभन्दा आव ०७०र०७१ मा ४५ प्रतिशत मोबाइल प्रयोगकर्ता बढेको नेपाल टेलिकम शाखा कार्यालय कञ्चनपुरले जनाएको छ । टेलिकम कार्यालयका प्रमुख जगदीश लेखकका अनुसार महाकाली अञ्चलमा कुल ल्यान्डलाइन फोनको सङ्ख्या आठ हजार २३७ रहेकामा कञ्चनपुरमा मात्रै पाँच हजार १३२ प्रयोगकर्ता छन् ।
त्यस्तै प्रिपेड र पोष्टपेड गरी महाकालीका दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा कुल दुई लाख ६२ हजार ६७२ सीम वितरण गरिएका छन् । कञ्चनपुरमा मात्रै एक लाख २५ हजार २५४ प्रयोगकर्ता रहेको कार्यालय प्रमुख लेखकले जानकारी दिनुभयो ।
सिडिएमएतर्फ महाकाली अञ्चलमा कुल ७२ हजार ५०० प्रयोगकर्ता रहेकामा कञ्चनपुरमा मात्र २६ हजार ६७८ प्रयोगकर्ता छन् । “गत वर्षदेखि कार्यालय बाहिरबाट समेत सीम वितरण थालिएपछि सेवाग्राही बढेका छन् ।” कार्यालय प्रमुख लेखकले भन्नुभयो–“ग्राहक बढेसँगै सेवा पनि गुणस्तरीय बनाउँदै लगेका छौँ ।”
त्यसैगरी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरका साथै जिल्लाको ११ स्थानबाट थ्रिजी इन्टरनेट सेवा प्रदान गरिएको टेलिकम कार्यालयले जनाएको छ । “११ स्थानबाट थ्रिजी सेवा दिइसकेका छौँ”, लेखकले भन्नुभयो, “थप १८ स्थानबाट सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।” उहाँले थप १८ स्थानमा थ्रिजी सेवा विस्तारका लागि प्रविधि जडान भइसकेको बताउनुभयो ।
कार्यालय प्रमुख लेखकले केही दिनभित्रै सेवा सुचारु हुने बताउनुभयो । सुदूरपश्चिमभरि तीव्र गतिको थ्रिजी इन्टरनेट सेवा विस्तार गर्ने तयारी गरिरहेको टेलिकम कार्यालयले जनाएको छ । हाल तराईका कैलाली र कञ्चनपुरमा थ्रिजी इन्टरनेट सेवा सञ्चालनमा रहेको छ । “सेवाग्राही फास्ट इन्टरनेट सेवा पुर्याउन नपाएका सबै जिल्लामा अध्ययन गरिएको छ”, कार्यालय प्रमुख लेखकले भन्नुभयो, “कमजोर क्षेत्रमा जडान तथा मर्मत कार्य तीव्र रुपमा भइरहेको छ ।”
















प्रतिक्रिया