२८ आश्विन २०८३, बुधबार

राजदूतहरूको ‘टीओआर’ मस्यौदा तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको मापदण्ड र कार्यविवरण (टीओआर) मस्यौदा तयार गरेको छ ।

राजदूत नियुक्तिको प्रक्रिया र उनीहरूको भूमिका पछिल्लो समय विवादास्पद बन्न थालेपछि मन्त्रालयले यसलाई व्यवस्थित बनाउन खोजेको हो ।

मन्त्रालयले यसलाई अन्तिम रूप दिएको परराष्ट्रका निमित्त सचिव शंकरदास बैरागीले बताए । ‘मन्त्रीस्तरीय वा मन्त्रिपरिषद् कहाँबाट पास गराउने भन्ने निर्णय गर्न बाँकी छ,’ उनले भने ।

यसअघि बृहत् ढाँचामा भियाना सन्धिले राजदूतको आचारसंहिता र भूमिकाबारे उल्लेख गरे पनि मन्त्रालयले पहिलो पटक देशअनुसारको टीओआर बनाउन लागेको हो ।

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूतका काम, नीति र क्रियाकलापका आधारमा मूल्यांकन हुने नीति बनाएर राजदूत नियुक्ति गरिने बताउँदै आएका छन् । लामो समयदेखि १६ मुलुकमा रिक्त राजदूत पदमा सरकारले नियुक्त गर्न सकेको छैन ।

छिमेकी भारतमा झन्डै तीन वर्षयता यो पद खाली छ । थाइल्यान्डमा पनि लामो समयदेखि खाली छ । ब्राजिल, क्यानडा, इजिप्ट, जर्मनी, कुबेत, कतार, श्रीलंका, बेलायत, अमेरिका, स्वीट्जरल्यान्ड, दक्षिण अप्रिmका लगायतमा राजदूत छैनन् ।

नयाँ कार्यविवरणमा राजनीतिक, आर्थिक, श्रम, डायस्पोरालगायत कूटनीतिसँग जोडिने क्षेत्रमा राजदूतको काम, कर्तव्यबारे उल्लेख गरिएको बैरागीले बताए । ‘यसले राजदूत नियुक्तिको मापदण्डलाई पनि समेटेको छ,’ उनले भने, ‘राजदूत हुने व्यक्तिको नेगोसिएसन स्किल, कूटनीतिक विषयमा अध्ययन अनुसन्धान, भाषागत दक्षता हुनुपर्ने र स्वार्थ बाझिएको हुन नहुनेलगायतका मापदण्ड समावेश छन् ।’

राजनीतिक सिफारिसमा अयोग्यलाई पनि राजदूत बनाउने अभ्यासले मुलुकको कूटनीतिक छवि बिग्रन थालेपछि सरकार यसप्रति चनाखो भएको हो । राजनीतिक नियुक्तिमा गएका दक्षिण कोरिया, साउदी अरब र कतारका राजदूत बढी विवादमा तानिएपछि जथाभावी नियुक्त नगर्न सरकारलाई दबाब परेको छ ।

सही मान्छे पठाउन नसक्दा राष्ट्रले लगानी गरेर पनि उल्टै हानि बेहोर्नुपर्ने अवस्था रहेको विज्ञहरूको भनाइ छ । सोही कारण पेसागत क्षेत्रबाट बढी नियुक्त गर्नुपर्ने माग उठ्न थालेको हो । पछिल्लो समय राजनीति र पेसाबाट ५०/५० प्रतिशत नियुक्ति गरिँदै आएको छ । कान्तिपुर दैनिकबाट