१ कार्तिक २०८३, आइतबार

चालकका लागि उमेर र ड्रेस कोड लागू हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Driverकाठमाडौं, २५ माघ । सरकारले चालकका लागि उमेर तोक्ने र ‘ड्रेस कोड’ लागू गर्ने भएको छ ।

मोटरसाइकल तथा स्कुटर चालकका लागि २१, साना मझौलाका लागि २३ र ठूला सवारीका लागि २५ वर्ष उमेर निर्धारण गर्न लागिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा मंसिर २५ मा गठित उच्च स्तरीय कार्यदलले तयार गरेको ‘सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी प्रतिवेदन’ मा यातायात क्षेत्रमा फेरबदल गर्नुपर्ने औंल्याउँदै उक्त सुझाव दिएको हो ।

कार्यदलले मन्त्रिपरिषद्मा बुझाएको प्रतिवेदनमा केन्द्रीय ट्राफिक कार्यालयको स्थापना एवं सञ्चालन गर्ने, यातायात निरीक्षकको नियुक्ति गर्ने, सार्वजनिक सवारी साधनतर्फ सडकको क्षमता एवं गुणस्तर हेरी सम्भव भएसम्म ठूला सवारी साधनको प्रयोगलाई अनिवार्य गर्दै जाने र यस्ता साधन सञ्चालनका लागि थप सुविधा दिन सुझाव दिइएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सवारी चालक, परिचालक, चेकर तथा हेल्परलाई व्यवसायी एवं सरोकारवालाहरूको सहकार्यमा ‘ड्रेस कोड’ तयार गरी परिचयपत्रसहित अनिवार्य लगाउन सुझाव दिइएको छ ।

प्रतिवेदनमा सवारी चालक र परिचालकले ड्रेस कोड पालना नगरेमा पटकैपिच्छे सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गर्नुपर्ने र यातायात निरीक्षकले नियमित रूपमा अनुगमन गर्ने भनिएको छ ।

कार्यदलले सिन्डिकेट तोड्न सरकारले नियमन र अनुगमन बढाउनुपर्ने सुझाव दिएको छ ।

सिन्डिकेट र आलोपालो गर्नेहरूलाई इंगित गर्दै प्रतिवेदनमा भनिएको छ, ‘एकाधिकारलाई प्रश्रय हुने गरी प्रतिस्पर्धा रोक्न गरिने बन्द, हडताल लगायत सार्वजनिक सडकमा सवारी साधन राखी अवरोध गर्ने कार्य निरुत्साहित गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘ग’ बमोजिम कारबाही गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई स्पष्ट निर्देशन दिनु पर्नेछ ।’