
गत बिहीबारको भेट नै मेरो लागि रबीन्द्र दाईसँगको अन्तिम भेट भयो । त्यतिबेला म, मेरो श्रीमती र उहाँ बसेर धेरैबेर कुराकानी गरेका थियौं । दुःख-सुख साटेका थियौं । सँगै एउटा फोटो पनि खिच्यौं । त्यही फोटो नै उहाँसँगको अन्तिम फोटो बन्यो । हाम्रो बिवाह पनि उहाँले नै गराइदिएकाले हाम्रो पारिवारिक सम्बन्ध थियो । एउटा असल अभिभावक गुमाउनु पर्दा मुटु टुक्रिए जसरी पीडा भएको छ ।
– राजीव पहारी (युवा संघ पूर्वकेन्द्रीय अध्यक्ष एवं गण्डकी प्रदेश प्रदेशसभा सदस्य)
रबीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको खबर सुन्दा साथ म छाँगाबाट खसेजस्तो भएँ । छट्पटी बढ्यो । चिट्चिट्ती पसिना आए । त्यही पनि सकुशल रहेको खबर सुन्ने आशा जीवितै रह्यो । केहिबेरमै उहाँसहित हेलिकप्टरमा सवार सातै जनाको ज्यान गएको खबर आयो । मुटु भारी भयो । आँखाबाट आशु बर्षिए ।
गत बिहीबारको भेट नै मेरो लागि रबीन्द्र दाईसँगको अन्तिम भेट भयो । त्यतिबेला म, मेरो श्रीमती र उहाँ बसेर धेरैबेर कुराकानी गरेका थियौं । दुःख-सुख साटेका थियौं । सँगै एउटा फोटो पनि खिच्यौं । त्यही फोटो नै उहाँसँगको अन्तिम फोटो बन्यो । जीवनभरको सम्झना बन्यो । हाम्रो बिवाह पनि उहाँले नै गराइदिएकाले हाम्रो पारिवारिक सम्बन्ध थियो । एउटा असल अभिभावक गुमाउनु पर्दा मुटु टुक्रिए जसरी पीडा भएको छ । आज हाम्रो परिवारमा ठूलो बज्रपात भएको महसुस गरेको छु । मलाई राजनीतिमा संगठित गरेर स्थापित गराउन उहाँको ठूलो भूमिका रह्यो । म १० वर्षको छँदा उहाँसँग परिचित भएको हुँ । त्यसपछि निरन्तर भेटघाट र सम्पर्क भइराख्यो ।
उहाँले नेतृत्व गरेका आन्दोलनमा हामी सँधै पछि–पछि हुन्थ्यौं । हरेक परिवर्तनका आन्दोलनमा रबीन्द्र दाईको योगदान उच्च छ । विद्यार्थी आन्दोलनमा उहाँको भूमिका अतुलनिय छ । विद्यार्थी आन्दोलनबाटै उहाँ स्थापित हुनु भएको हो । पृथ्वीनारायण क्याम्पस र त्रिविको स्ववियु सभापति बन्नुभयो । एमाले कास्कीको सचिवालय सदस्य हुँदै पार्टीको नेतृत्व समेत गर्नुभयो ।
अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदा उहाँले विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याउनु भयो । उहाँ ०६४ र ७० को संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र नं. ३ र गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट भारी मतका साथ विजयी हुनुभयो । ०६४ र ७० को निर्वाचनमा उहाँको क्षेत्रमा मैले नै निर्वाचन परिचालन कमिटीको नेतृत्व गरेको थिएँ । उहाँले मलाई धेरै विश्वास गर्नुहुन्थ्यो । म पनि उत्तिकै विश्वास र सम्मान गर्थेँ । उहाँ पछिल्लो समय नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
उहाँको जन्म वि.सं. २०२६ साल वैशाख २२ गते पोखरा महानगरपालिका ३३ भरतपोखरीमा भएको हो । कास्कीमा उहाँ सबैको आँखाको नानी जस्तै हुनुहुन्थ्यो । उहाँ विकासवादी र सौद्धान्तिक नेता हुनुहुन्थ्यो । त्यतिमात्रै होइन उहाँलाई स्पष्ट र प्रखर वक्ताको रुपमा पनि चिन्ने गरिन्थ्यो । जसको फलस्वस्प कम उमेरमै लगातार तीनपटक निर्वाचनमा जित हासिल गर्नु भएको हो । ढाँट, छलकपट कहिल्यै गर्नुहुँदैनथ्यो। राम्रो कामको मात्रै वकालत गर्ने उहाँको प्रमुख विशेषता नै थियो । उहाँ असाध्यै सामाजिक र व्यवहारिक हुनुहुन्थ्यो । पार्टीमा उहाँको लोकप्रिय उच्च थियो । त्यही लोकप्रियताकै कारण उहाँ पछिल्लो समय मन्त्री बन्नुभयो ।
मन्त्री बनेपछि उहाँले धेरै राम्रा कामहरुको थालनी गर्नु भएको थियो । वाइडवडी खरिद प्रकरणमा उहाँको कुनै संलग्नता नहुँदा–नहुँदै पनि उहाँलाई जोडेर गलत प्रचार गरिनु निकै दुःखदायी पक्ष थियो । रबीन्द्र दाई आज हाम्रो सामु हुनुहुन्न । यो मुलुकको वृहत्तर हितका लागि उहाँको खाँचो थियो । तर, उहाँलाई अब हामी पाउन सक्दैनौं । उहाँका धेरै सपना र योजनाहरु थिए । ती योजनाहरु उहाँले सँधै हामीलाई शेयर गर्ने गर्नुहुन्थ्यो । हामी उहाँका योजना र कामबाट प्रभावित थियौं । उहाँबाट धेरै आशा गरिएको थियो । दाई आज भौतिक रुपमा हाम्रो सामु नरहे पनि उहाँका सपनाहरुलाई हामी मर्न दिने छैनौं ।
उहाँले धेरै यादहरु छाडेर जानु भएको छ, थुप्रै सम्झनाहरु दिलाउनु भएको छ । रबीन्द्र दाईलाई कहिल्यै भुल्ने छैन । कहिल्यै बिर्सने छैन ।
प्रस्तुति – अर्जुन भुसाल / दैनिक नेपाल















प्रतिक्रिया