यूएई । चेलिवेटीको सम्मानमा यूएईमा रहेका प्रवासी नेपालीले माघे सक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् ।
यस अवसरमा तमु समाज र तमु प्ये ल्हु संघ यूएईले संयुक्त रुपमा चेलीवेटस् सम्मान तथा भोज कार्यक्रमको आयोजना गरेका छन् ।
विगत बर्षहरुमा जस्तै माघे सक्रान्तिको अवसरमा तमु समाज युएई र तमु प्ये ल्हु संघ यूएईले यूएई स्थित अबुधाबिको मुसफा स्थित अरब उडुपी रेष्टुरेण्ट एण्ड होटेलमा सम्मान तथा भोज कार्यक्रमको आयोजना गरेका हुन् ।
तमु जातिको ल्होसारपछिको दोस्रो ठुलो नारी (महिला) पर्व माघे सक्रान्ति एक भव्य कार्यक्रमबीच भोज तथा सम्मान गर्दै आफ्नो मौलिक तमु परम्परालाई कायम राख्दै स्योँकै खाएर मनाएको हो ।
तमु प्ये ल्हु संघ युएईका अध्यक्ष तथा तमु समाजका उपाध्यक्ष एकाजङ्ग प्ल्हेँ तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा तमु प्ये ल्हु संघ युएईका महिला सल्लाहकार श्रीमती मिना कुमारी तमुस्यो प्रमुख अतिथि रहेका थिए ।
तमु समाज युएईका संरक्षक याम तमु, प्रमुख सल्लाहकार राजु तमु, तमु समाज युएईका अध्यक्ष श्याम तमु, अबुधाबि क्षेत्रिय तमु समाजका सल्लाहकार गुन्जमान तमु, लम्जुङ्ग सम्पर्क समितिका अध्यक्ष राजु घले, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डेरराज लम् तमु, तमु समाज महिला विभाग प्रमुख उषा तमुस्यो तथा तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईका विशिष्ट व्यक्तित्वहरुको क्रमशः आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि श्रीमती मिना कुमारी तमुस्योको बाहुलीबाट पानसमा दियो प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख सल्लाहकार राजु तमुले स्वागत मन्तव्य राखेका थिए । महिलाहरुको तर्फबाट ईशानी तमुस्यो र पुरुषहरुको तर्फबाट क्षेत्रिय अबुधाबि तमु समाजका प्रमुख सल्लाहकार गुन्जमान तमुले स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए ।

जनवरी ९मा सम्पन्न भएको तमु ल्होसार २०१५ कार्यक्रममा आफ्नो कुशल कला प्रस्तुत गरी कार्यक्रमलाई मनोरन्जनात्मक एवं सफल बनाउन योगदान दिएका स्थानिय कलाकारहरुलाई प्रमुख अतिथि श्रीमती मिना कुमारी तमुस्यो तथा अन्य अतिथिहरुद्धारा कदरपत्र सहित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण चेलीवेटीहरुलाई तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईले मायाको चिनो पछ्यौरी दिएका थिए । यसैगरी हरेक बर्ष आयोजकको तर्फबाट प्रदान गरिने उत्कृष्ट चेली अवार्ड प्रमुख सल्लाहकार याम तमुको बाहुलीबाट उत्कृष्ट चेली उषा तमुस्योलाई प्रदान गरिएको थियो ।

अमृत तमु, ईन्द्र तमु र महासचिव मुक्ति टु तमुले क्रमशः औपचारिक, साँस्कृतिक र सम्मान कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रमको अन्तमा विभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
यसैगरी मृगौला पिडित स्याङ्गजा जिल्ला, मनकामना गाउँ निवासी नरमती तमुको सहयोगार्थ तमु प्ये ल्हु संघ युएई तथा तमु समाज युएईको पहलमा संकलन गरिएको आर्थिक रकम Dh 1,719 ने.रु. ४६०० वहाँका भाई तमु समाजका सल्लाहकार सदस्य रोशन तमुलाई हस्तारण गरिएको थियो ।
अन्तमा चेलीवेटी भोज तथा सम्मान कार्यक्रमका प्रायोजकहरु यमप्रसाद तमु राजु तमु मुक्ति तमु डेरराज तमु शिव लम तमु एकजङ तमु राजु घले ममता जिया तमुस्यो तमु प्ये ल्हु संघ युएईका चेलीबेटीहरु र आयोजक, प्रायोजक सबैलाई धन्यवाद दिँदै अहिलेको अवस्था तमु जातिको पहिचानको लागि एकता हुनुपर्ने हो भन्दै विश्वभरि छरिएर बसेका सबै तमुहरुलाई मौलिक संस्कार, सँस्कृति तथा भाषा संरक्षण र सम्र्बधनको लागि आव्हान गर्दै समापन गरिएको थियो ।















प्रतिक्रिया