
हेटौँडा, १४ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला अवलोकन गर्न पुग्नेहरुलाई रिद्धि सिद्धि सिमेन्ट उद्योगले निःशुल्क ओसारपसार गर्ने भएको छ ।
व्यापार मेला सहज होस् भन्ने हेतुले हेटौंडा १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडा बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडा सम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको हो ।
सिमेन्ट उद्योगले उद्योगको उत्पादनलाई सहज ढंगले आम उपभोक्ता समक्ष पुर्याउन समय समयमा विभिन्न स्थानहरुमा हुने मेला प्रदर्शनीहरुको ठूलो भूमिका रहनेजनाएको छ । यीनै विषयलाई मध्यनजर गर्दै मकवानपुर उद्योग वाणिज्य संघको आयोजना हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागी हुन पाउँदा खुसी भएको क्षेत्रीय विक्री प्रबन्धक विक्रम खतिवडाले बताए ।
विभिन्न पेशा, व्यापार, उद्योगमा संलग्न व्यक्ति, युवा, वृद्ध, तथा विद्यार्थी गरी करिव ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने मेलाको लागि रिद्धि सिद्धि सिमेन्ट प्रालिको तर्फबाट ३ वटा निःशुल्क बस सेवा संचालन गरिने खतिवडाले बताए ।
आउँदो १६ गतेदेखि संचालन हुने मेलामा हेटौंडाको विभिन्न स्थानबाट निःशुल्क बस सेवा संचालन गरि दैनिक २ हजार जनालाई प्रत्यक्ष सेवा दिने लक्ष्य रहेको समेत खतिवडाले बताए । साथै, मकवानपुर जिल्लाका आसपासमा रहेका सामुदायिक विद्यालयहरुसँग समन्वय गरी मेला अवलोकनका लागि हरेक दिन सेवा दिइने पनि बताए ।
हेटौंडा बजारको जिल्ला प्रहरी कार्यालय, मउवासंघको चोक र सिमाचोक शितल महलचोकबाट बस सेवा हुनेछ । शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा निर्माण सम्पन्न हुनै लागेको रिद्धि सिद्धि सिमेन्ट प्रालिले यस्तो मेलाको अवसरमा सेवा प्रदान गर्न लागेकोमा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले धन्यवाद दिदै सँगै सहकार्य गरि अघि बढ्ने समेत बताए ।















प्रतिक्रिया