१ कार्तिक २०८३, शनिबार

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई समस्या पार्नेमाथि कारवाही माग

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । अष्ट्रेलियाका केही कलेजमा नेपाली विद्यार्थीमाथि परेको समस्यालाई लिएर प्रवासी नेपाली मञ्च र जनप्रगतिशील मञ्च अष्ट्रेलियाले चासो देखाएका छन् ।

सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी कलेजमा समस्यामा परेका नेपाली विद्यार्थीको तत्काल जिम्मा लिन उनीहरुले सम्बन्धित शैक्षिक परामर्शदाताहरुलाई आग्रह गरेका छन् ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डे र जनप्रगतिशील मञ्चका अध्यक्ष माण्डवराज कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी कलेजमा नेपालबाट डिप्लोमा अफ नर्सिङ पढ्नका लागि पुगेका नेपाली विद्यार्थीहरु समस्यामा परेको खबरप्रति आफहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

यस्तै समस्या मेलबर्नको एजुकेशन ट्रेनिङ एण्ड एम्प्लोयमेन्ट अष्ट्रेलियामा पनि देखिएको उनीहरुको भनाई छ । ‘विद्यार्थीहरु भर्ना लिनुअघि प्राप्त गर्नुपर्ने सबै अनुमतिहरु नभई कक्षा सञ्चालन गर्ने शिक्षा प्रदायक संस्थाहरु अनि विद्यार्थीको भविष्य अन्योलमा पर्ने थाहा पाउँदा पाउँदै पनि त्यस्ता कलेजमा नेपाली विद्यार्थीहरुलाई भर्ना गराउने शैक्षिक परामर्शदाताहरुलाई तत्कालै आफूले भर्ना गराएका सम्पूर्ण विद्यार्थीहरुको जिम्मा लिँदै उनीहरुको भविष्य सुनिश्चित हुने किसिमले काम गर्न र गराउन हामी माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अष्ट्रेलिया सरकार, अष्ट्रेलियास्थित नेपाली दूतावास, नेपाल सरकार शिक्षा मन्त्रालय लगायतले यस्ता घटनामा संलग्नहरुको छानविन गरी दोषीहरुमाथि कडाभन्दा कडा कानुनी कारवाही गर्न पनि हाम्रो आग्रह छ ।’

नेपालमा नै प्राप्त हुनसक्ने शिक्षाका लागि समेत विदेशमा जान ईजाजत दिने शिक्षा मन्त्रालयले पनि आफ्नो नीतिमा पुनरावलोकन गर्नुपर्ने उनीहरुको माग छ । साथै, नेपालमा रहेका अभिभावकहरुले पनि सुक्ष्म अनुसन्धानपछि मात्रै आफ्ना बालबालिकाहरुलाई यस्ता शैक्षिक प्रदायकहरुकोमा पठाउन अनुरोध गरेका छन् ।