२९ आश्विन २०८३, बिहिबार

औद्योगिक विकास ऐन अन्तिम चरणमा : मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetबनेपा, २४ माघ । उद्योग मन्त्री महेश बस्नेतले औद्योगिक व्यवसायी ऐन अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग विभागले धुलिखेलमा दुई दिनसम्म आयोजना गरेको वार्षिक बजेट तर्जुमा गोष्ठीको समापनमा उहाँले ऐन लगभग अन्तिम अवस्थामा पुगेको र केही दिनमा नै संसद्बाट पास हुने बताउनुभयो ।

कृषिजन्य र पर्यटनसम्बन्धी साना उद्योग दर्ताको दायरामा नआएकाले अवैध रुपमा सञ्चालन भएको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता उद्योगलाई दर्ताको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले उद्योग विभागलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिँदै एक निर्वाचन क्षेत्रमा एक औद्योगिक ग्रामको अवधारणालाई स्थापित गर्नुपर्ने बताउनुभयो ।

परम्परागत व्यवसाय सम्भ्रान्त परिवारको पेसाका रुपमा स्थापित हुन खोजेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यस्ता व्यवसायलाई संरक्षण गरेर राज्यले लाभ लिन सक्नुपर्छ भन्नुभयो ।

घरेलु तथा साना उद्योगको विकासका लागि बजेटको आकार सानो भएको उल्लेख गर्दै उहाँले आगामी वर्ष बजेटलाई समयसापेक्ष बनाइने बताउनुभयो ।

घरेलु तथा साना उद्योग विभागका महानिर्देशक नारायणप्रसाद विडारीले स्वदेशी श्रम र सीपको विकास गरी रोजगारीमा जोड दिएको उल्लेख गर्दै साना उद्योगलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । रासस