कर्णाली प्रदेश प्रवेशकाे क्षणमा दाैरा, सुरूवाल, काेट र टाेपी अनि एडिडाज जुत्ताकाे पाेशाकमा ठाँटिएकाे देखें । खुशी लाग्नुपर्ने बेग्लै कारण हाेइन, क्रमशः बदलिनु भएकाेमा सामान्य नै लाग्याे ।
तपाईकाे बाैद्दिकता, सरलता, गंभीरता, निरन्तर अध्ययनशीलता, सरका, प्रमुख हुँदा काठमाडाैकाे बाटाे फराकिलाे पार्न तथा अर्थमन्त्री हुँदा राजश्व बढाउन लिनुभएका निर्णय र गर्नुभएका कठाेर मेहेनत स्मरणीय, स्तुत्य र ऐतिहासिक थिए ।
अाज तपाईंको प्रधानमन्त्रीकाल डा. केअाई सिहकाे जस्तै भइरहेकाे छ । मदन राई, करिष्मा मानन्धर आदि तपाईका अहिलेका सहयाेद्दाहरूले नयाँ शक्ति नेपाललाई साच्चिकै वैकल्पिक शक्ति बनाउने छन् त ? तपाईं कर्णाली प्रदेशतर्फ लाग्नुभएपछि रसुवामा प्रदेशसभा सदस्य र जिल्ला अध्यक्षसहित तपाईकाे पार्टी नै रित्तिन थालेकाे खबर छ ।
संगत गुनाकाे फल भनेकाे सायद यही हाेला ! २०७४ सालकाे निर्वाचनमा तपाईले जुन कागती राेप्नुभएकाे थियाे, त्यसमै फल लाग्न थालेछ क्यार ? कागती राेपेर सुन्तला फल्ने त कुरै थिएन र भएन । संभवत: याे प्रचण्डसँगकाे अन्तरसंघर्षकाे परिणति हुनुपर्दछ । मार्क्सवाद परित्याग गरेपछि यहाँ पुग्ने निश्चितप्राय: नै थियाे ।
याे पाेशाक कर्णाली प्रदेशकाे मात्र हाेइन, तपाईका बाजेबराजु, छिमेकी गुरूङ, मगर, पूर्वका राई, लिम्बू, काठमाडौं वरिपरिका तामाङ र कर्णाली अनि सुदूर पश्चिमका खस सबैजसाेका पुर्खाहरूले याे पाेशाक लगाउने गर्दथे । जहाँसम्म तपाईले लगाएकाे ढाकाटाेपी छ, याे नेहरू टाेपीबाट प्रभावित भई दिल्ली संझाैतापछि स्वदेश फर्कदा राजा त्रिभुवनले पहिलाेपल्ट लगाउन शुरू गरेर गाैचरन एयरपाेर्टमा ढाका टाेपी लगाएर आएकाे पाइन्छ । त्यसअघि नै भादगाउँले कालाे टाेपी र गाउँगाउँमा सूचीकारले सिलाएका टाेपी लगाइन्थे ।
जहाँसम्म तपाईले अर्थमन्त्री र प्रधानमन्त्री हुँदा लगाउनु भएकाे सुट टाई हाे, नेपालमा त्यसकाे प्रयाेग राणाहरूले गरेका हुन । र, विश्वविख्यात कम्युनिस्ट घाेषणापत्र अनुवाद गरिसकेपछि कामरेड पुष्पलालसँग भेट हुँदा व्यापारी जुद्दबहादुर श्रेष्ठले भनेका थिए रे- “तपाईं हामीलाई त्यसै राणाकाे पक्षधर भन्नुहुन्छ, याे राणाशासन गएपछि सुट टाईमा ठाँटिएर हिड्न हामीलाई रहर छैन ?”
मार्क्स- एङ्गेल्स लिखित कम्युनिष्ट घाेषणापत्र (सन्१८४८) नेपाली भाषामा पहिले अनुवाद छाप्न तिनै जुद्दबहादुरले बीस २००५ सालमा पुष्पलालले ३०० माग्दा ५०० रूपियाँ उपलब्ध गराएर पार्टी स्थापनाअघि २००५ साल चैतमा प्रकाशित भएकाे थियाे ।
अर्थात्, तपाईकाे देश गुनाकाे वेष भन्ने टिप्पणी इतिहास, परम्परा, प्रचलनभन्दा भिन्न मनाेगत रहेकाे तथ्य अवगत गराउन चाहन्छु । फेरि तपाइले नाैलाे र नयाँ भन्ने गर्दा अनाैठाे लाग्ने गर्छ ।
किनभने, नाैलाे जनवाद भनेर जनयुद्धकाे नेतृत्व गर्नुभयाे, संसदीय लाेकतान्त्रिक गणतन्त्रमा अवतरण गर्नुभयाे । नयाँ नेपाल बनाउने भन्नुभयाे, तर पुरानै नेपालकाे स्वाधीनता र हितविरूद्द विप्पा संझाैता थाेपरेर “जुवा” खेल्नुभयाे ।
नयाँ संविधान बनाउन संबैधानिक समितिकाे नेतृत्व गरेर सारा प्रक्रियामा संलग्न हुनुभयाे, तर २०७२ असाेज ३ गते नयाँ संविधान जारी भएपछि आश्चर्यजनक रूपमा विराेध गरेर तत्कालीन माओवादी नै परित्याग गरेर मधेसतिर भर्त्सनामा जुट्नुभयाे । अनि नयाँ शक्ति पार्टी नेपाल बनाउन जुट्नु भयाे । यसकाे नयाँपन २०७४ काे प्रतिनिधिलसभा र प्रदेश सभा निर्वाचनमा देखिइहाल्याे ।
तपाईले नयाँ, नाैलाे भनिरहँदा कुन दिन नयाँ शक्ति पार्टी समेत छाडेर वा विघटन गरेर अर्काे नयाँकाे खाेजीमा जुट्नुहुने हाे ? प्रश्न उठिरहेछ । नयाँ पाेशाक त्यसकै पूर्वाभ्यास त हाेइन ?
जय देश, जय कर्णाली !
















प्रतिक्रिया