महेन्द्रनगर २३ माघ । नेपाल टेलिकमले सुदूरपश्चिमभरी तिव्र गतिको थ्रीजी इन्टरनेट सेवा विस्तार गर्ने तयारी गरेको छ ।
सर्वसाधारणलाई प्रविधिको पहुँचमा ल्याउन हाल तराईका जिल्लामा मात्रै सञ्चालनमा रहेको थ्रीजी इन्टरनेट सेवालाई सुदूरपश्चिमका सबै जिल्लामा पुर्याउन लागिएको नेपाल टेलिकम दुरसञ्चार कार्यालय महेन्द्रनगरले जनाएको छ ।
नेपाल टेलिकम शाखा महेन्द्रनगरले महाकाली र शाखा धनगढीले सेती अञ्चलका सबै जिल्लामा उक्त सेवा पु¥याउने जनाएका छन् । ११ औं वार्षिकोत्सवका अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनमा सुदूरका अधिकांश ठाउँमा थ्रीजी सेवा पु¥याइसकिएको छ ।
नेपाल टेलिकम शाखा कार्यालय महेन्द्रनगरका प्रमुख जगदिश लेखकले महाकाली चार वटै जिल्ला सदरमुकाममा थ्रीजी सेवा पुगिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरका ३ स्थानमा थ्रीजी इन्टरनेट सेवा सञ्चालनमा छन् ।
डडेल्धुरा, बैतडी र दार्चुलाका १/१ स्थानमा थ्रीजी सेवा सञ्चालनमा छ । टेलिकमका अनुसार कञ्चनपुरका १८ स्थानमा थ्रीजी सेवा विस्तार गरिदै छ । आगामी चैत महिनाभित्र थ्रीजी टावर जडान भइसक्ने छ ।
टेलिकमले कञ्चनपुरका दैजी, चादँनी र गड्डाचौकीमा अहिले थ्रीजी फास्ट इन्टरनेट सेवा दिएको छ । कञ्चनपुरका कृष्णपुर–२ वाणी, तिल्केनी, विष्णुमन्दिर तथा ढक्का, चान्देवमा एनटिसिको नेटवर्क कमजोर भएकाले नयाँ टावर जडान गर्ने काम चाडै सुरु हुने कार्यालय प्रमुख लेखकले जानकारी दिनुभयो ।
‘सेवाग्राही फास्ट इन्टरनेट सेवा पुर्याउन जिल्लाका सबै ठाउँमा अध्ययन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘कमजोर क्षेत्रमा जडान तथा मर्मत कार्य तिव्र भइरहेको छ ।’
अहिले नेपाल टेलिकमले एनटी वाईफाई जिल्लाको सदरमुकाममा मात्रै छोडेको छ । यसको माग बढी भएकाले जिल्लाभरी नै यो सेवा पुर्याउन नेपाल टेलिकमले प्रयास गरिरहेको उहाँको भनाई छ ।
बेलौरीदेखि दैजीसम्म अप्टिकल फाइबर विछ्याउने कामलाई समेत नेपाल टेलिकमले प्रमुख प्राथमिकता साथ अघि बढाउने योजना बनाएको छ । नेपाल टेलिकमलाई गुणस्तरीय सेवा दिनुपर्ने सेवाग्राहीको सुझाव छ ।
टेलिकमका अनुसार महाकाली अञ्चलमा कुल ल्याण्डलाइन फोनको संख्या ८ हजार २ सय ३७ रहेकोमा कञ्चनपुरमा मात्रै ५ हजार एक सय ३२ प्रयोगकर्ता छन् ।
यस्तै, प्रिपेड र पोष्टपेड गरी महाकालीमा कुल २ लाख ६२ हजार ६ सय ७२ वितरण गरिएकोमा कञ्चनपुरमा मात्रै यसको प्रयोगकर्ता १ लाख २५ हजार २ सय ५४ रहेको बताइएको छ ।
सिडिएमए तर्फ महाकालीमा कुल ७२ हजार ५ सय रहेकोमा कञ्चनपुरमा २६ हजार ६ सय ७८ प्रयोगकर्ता छन् ।
















प्रतिक्रिया