२९ आश्विन २०८३, बिहिबार

६५औँ प्रजातन्त्र दिवस भव्य बनाउन २० लाख खर्च गरिदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Freedom-dayकाठमाडौँ, २३ माघ । नेपाल सरकारले ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस बनाउन २० लाख खर्च गर्ने जनाएको छ । सम्पूर्ण तयारीका लागि सरकारले २० लाख रुपैयाँ छुट्याएको हो ।

सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन २० लाख खर्च हुने जानकारी दिनुभयो । सो रकम अर्थ मन्त्रालयबाट निकासा भइसकेको छ । अहिले दिवसको पूर्व सन्ध्यामा तयारी तिव्र बनाइएको छ ।  आगामी फागुन ७ मा मनाइने ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दृष्टिविहीनका लागि तालिम लगायत विभिन्न कार्यक्रम पनि गरिने छन् ।

प्रजातन्त्र दिवस मूल समारोह समिति, प्रचारप्रसार उपसमितिले प्रजातन्त्रसम्बन्धी जनचेतना अभिवृद्धि गर्न लोककल्याणकारी विज्ञापनका रुपमा देशव्यापी रुपमा पत्रपत्रिकामा त्यससम्बन्धी सूचना प्रकाशन गराउने, दिवसका अवसरमा नेपाली जनतालाई दूरसञ्चार संस्थामार्फत शुभकामना प्रचारप्रसार गर्ने, पत्रपत्रिका, रेडियो, एफएम, टेलिभिजनबाट प्रजातन्त्रसम्बन्धी सन्देश प्रसारण गर्ने, प्रभातफेरी गर्ने, विज्ञापनमा प्रजातन्त्र दिवस प्रकाशन गराउने, समाचार सङ्कलन र वितरण गर्ने, अन्तक्रिया गर्ने, प्रत्यक्ष प्रसारण गर्ने लगायत कार्यक्रम छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिअन्तर्गत सरकारले सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

उपसमितिका अन्य सदस्यमा सञ्चार मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका तीन वटै जिविसका प्रमुख, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत विभिन्न संस्थाका प्रतिनिधि रहनुभएको छ ।

छलफलमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले दिवसलाई भव्यताका साथ मनाउन सम्बद्ध सबैलाई आआफ्ना तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । छलफलमा सहभागीले प्रजातन्त्र दिवसलाई परम्परागतभन्दा पनि मौलिक रुपमा भव्यताका साथ मनाउनुपर्नेमा जोड दिएका थिए ।