
काठमाडौँ, २५ माघ । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन् ।
बिहान साढे २ बजे एक्कसी चट्याङ लागेर सरस्वतीको घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर बझाङका गोगन दौल्यालको पनि बिहान ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन् । घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन् ।
घाइतेहरुको अवस्था समान्य छ । चट्याङ लगेर सरस्वती नाथको घरमा एक दुहुनो गाई र एक हल गोरुसमेत मरेका छन् ।












प्रतिक्रिया