काठमाडौं, १८ माघ । नबिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आफ्नो खुद नाफा १८.४५ प्रतिशतले बढाउँदै दुई अर्ब १७ करोड ६८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।
इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९७ करोड र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ९६ करोड खुद नाफा कमाएर क्रमशस् दोस्रो र तेस्रो ठूलो स्थानमा छन् ।
निजी क्षेत्रबाट सञ्चालित बैंकहरुमा बलियो रुपमा प्रस्तुत गर्दै आएको तथा नेपालको धनाढ्य विनोद चौधरीको समेत लगानी रहेको यस बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा अनुपातमा उल्लेख्य सुधार गरेको छ ।
समीक्षा अवधिमा बैंकले व्यवसायको आकार बढाउँदै प्रतिशेयर आम्दानीमा समेत उत्साहजनक प्रगति गरेको छ । आफ्नो जगेडा कोषको आकार झण्डै दोब्बर बनाएको वित्तीय विवरण प्रकाशन गरेको छ ।
बैंकले बुधबार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार नबिलले पुस मसान्तसम्ममा वितरण योग्य नाफा (फ्रि प्रोफिट) दुई अर्ब ४ करोड ५०लाख रहेको छ ।
गत वर्ष बैंकको फ्रि प्रोफिट एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ११.२८ प्रतिशतले बढेको हो ।
नबिल बैंकको फ्रि प्रोफिट भने राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्ट वापत १३ करोड १८ लाख रुपैयाँ व्यवस्था गर्दा खुद नाफाभन्दा घटेको छ ।
एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शीर्षकहरूमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।
बैंकले दुई अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको उल्लेख छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा ३३ करोड ९ लाख बढी हो ।
बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोषको आकार झण्डै दोब्बर बनाएको छ ।
गत पुस मसान्तसम्ममा ७ अर्ब ८५ करोड ५३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार १४ अर्ब ५२ करोड ३७ लाख पुर्याएको छ । यससँगै बैंकको शेयरधनी कोष साढे २२ अर्ब बढी पुगेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख रुपैयाँमा स्थिर रहेको छ ।
आर्थिक वर्षको नाफाबाछ १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले बोनस पूँजीकृत नगर्दा प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ । पूँजी स्थिर भएर बैंकको नाफा सुधारले बैंकको प्रतिशेयर आम्दानीमा करिब ९ रुपैयाँले बढोत्तरी भएको छ ।















प्रतिक्रिया