१ कार्तिक २०८३, शनिबार

डा.केसीका माग सम्बोधनका लागि वार्ता गर्न प्रा.सुवेदीको आग्रह

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । ब्रिटेन नेपाल प्राज्ञिक परिषदका संस्थापक अध्यक्ष तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले नेपालमा बढ्दो भ्रष्टाचार, शिक्षालाई सेवाभन्दा व्यापारको रुपमा हेर्ने प्रवृत्ति र डा.गोविन्द केसीसंग सरकारको संवाद शून्यताको स्थितिबाट चिन्तित भएको बताएका छन् ।

प्रा.सुवेदीले मंगलबार लन्डनबाट प्रकाशित प्रेस विज्ञप्तिमा नेपालको जनआन्दोलन लगायतका सबै उतारचढावमा नेपाली जनतालाई निरन्तर सहयोग गर्दै आएको भन्दै प्रवासी नेपाली बौद्धिक समुदाय नेपालमा बढ्दो भ्रष्टाचार, शिक्षालाई सेवाभन्दा पनि व्यापारको रुपमा हेर्ने प्रवृत्ति र डा. गोविन्द केसीसंग सरकारको संवाद शून्यताको स्थितिबाट चिन्तित भएको बताएका हुन् ।

प्रा.सुवेदीले भनेका छन्, ‘डा. केसीका मागहरू मुलतः चिकित्सा क्षेत्रको बेथितिसंग छ । तर नेपालको सम्पूर्ण उच्च शिक्षा क्षेत्र नै बेथितिको शिकार भएको धेरै वर्ष भइसकेको छ ।’

‘हालै संसदबाट पारित चिकित्सा शिक्षा ऐन लगायतका उच्च शिक्षा क्षेत्र सम्बन्धि सबै ऐन कानूनको पुनरावलोकन गरी दीर्घकालीन नीति निर्माणका लागि आवश्यक कदम चाल्न नेपाल सरकारसंग आग्रह गर्दछु’, उनले भनेका छन् ।

विद्यार्थीलाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्ने प्रवृत्ति र विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्दा राजनीतिक भागवण्डा गर्ने प्रवृत्तिको अन्त्य गर्ने अठोटका साथ सम्पूर्ण उच्च शिक्षाको स्तर सुधार गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने आश्वासन र प्रस्तावसहित डा.केसीसंग सम्वाद शुरु गर्न नेपाल सरकारलाई प्रा. सुवेदीले आग्रह गरेका छन् ।

संसारका उत्कृष्ट विश्वविद्यालयहरूमा विभिन्न विद्यामा अध्यापन, अनुसन्धान र व्यवस्थापनमा अनुभव संगालेका प्राज्ञिकहरूको संस्था ग्लोबल पोलिसी फोरम फर नेपाल उच्च शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधार गर्न नेपाल सरकारसंग सहकार्य गर्न तयार रहेको कुरा पनि प्रा. सुवेदीले आफ्नो विज्ञप्तिमा जनाएका छन् ।