९ कार्तिक २०८३, सोमबार

विदेशस्थित कूटनीतिक नियोगमा सैन्य सहचारी टोली राख्न प्रस्ताव

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । सेनाले विदेशस्थित कूटनीतिक नियोगमा सैनिक सहचारी र सल्लाहकार टोली नै राख्न सरकारसँग प्रस्ताव गरेको छ।

विश्वका अधिकांश देशले कूटनीतिका विभिन्न पाटामध्ये सशक्त मानिने सैन्य कूटनीतिमा पनि जोड दिइरहेको भन्दै एक जना सहचारीले सहयोगीबिना नियोगमा प्रभावकारी काम गर्न नसक्ने भन्दै सेनाले त्यस्तो टोली बनाउन प्रस्ताव गरेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सहायक रथी र महासेनानी स्तरीय सैनिक सहचारी एवं सल्लाहकार जाने तर उनीहरू खुम्चिएर रहनुपरेको भन्दै सेनाले टोली आवश्यक रहेको तर्क गरेको हो।

नियोग तथा दूतावासमा सैनिक सहचारीको वरिष्ठता राजदूतपछिको हुने हुनाले सरकारले ध्यान दिनुपर्ने सेनाका एक अधिकारीले बताए। छिमेकीद्वय भारत र चीनमा सहायक रथी सैनिक सहचारीका रूपमा छन्। वासिङटन, ढाका, लन्डन र इस्लामाबादमा महासेनानीस्तरका सैनिक सहचारी रहन्छन् भने न्यूयोर्कमा पनि महासेनानी स्तरकै सैन्य सल्लाहकार छन्।

उनीहरू नेपालमा पनि गाडी र अन्य सुविधा पाउने तहका भएकाले पोस्टिङमा पनि त्यही तहअनुसार व्यवस्था हुनुपर्नेमा सेनाको जोड छ। उनीहरूले आफ्नो टिम नै बनाएर स्वतन्त्र ढंगले राजदूतको सल्लाहबमोजिम काम गर्न पाउनुपर्ने पनि सेनाको धारणा छ। विशेषगरि भारत र न्यूयोर्कमा सैनिक सहचारीको व्यस्तता धेरै हुने हुनाले त्यहाँ अधिकृतस्तरीय सहायक सहचारी पनि आवश्यक पर्ने माग सेनाको छ।

शान्ति सेनामा जानेका लागि सबै काम न्यूयोर्कबाट हुने र भारतमा हजारभन्दा धेरै सैनिक प्रशिक्षणमा हुने हुनाले बिदालगायत सबै काम दूतावासबाट तय हुने भन्दै त्यस्ता प्रशासनिक काम महासेनानी र सहायक रथी (सैन्य सहचारी) एक्लैले गर्न कठिन हुनाले सेनाले यस्तो प्रस्ताव गरेको हो। निर्णायक तहदेखि प्रशासनिक कामसमेत गर्नुपर्ने भएकाले सहायक राख्ने र गाडी सुविधा तथा ड्राइभरको समेत व्यवस्था गर्न सेनाले जोड दिएको हो।