९ कार्तिक २०८३, सोमबार

नेकपा एकता प्रक्रिया : जिल्लामा नहुँदै स्थानीय तहमा धमाधम

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नेकपाको नेतृत्व अझै जिल्ला र प्रदेश तहको एकतामा अल्झे पनि स्थानीय तहमा एकता प्रक्रिया सुरु भएको छ। पार्टी स्थायी समिति र केन्द्रीय समितिले प्रदेश कमिटीलाई अनुमोदन गरिनसके पनि त्यही कमिटीले अहिले कतिपय स्थानीय तहको एकता प्रक्रिया अघि बढाएको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

गण्डकी, सुदूरपश्चिम, प्रदेश ३ र ५ ले जिल्ला मातहतका स्थानीय कमिटीमा एकता प्रक्रिया अगाडि बढाएको सम्बन्धित प्रदेशका पदाधिकारीले बताएका छन्। नेकपाको प्रदेश कमिटीलाई पार्टी सचिवालयले निर्णय गरे पनि स्थायी कमिटी र केन्द्रीय समितिले भने अनुमोदन गरिसकेको छैन। नेकपाको जिल्ला तहको एकता भने सबैभन्दा जटिल छ। जिल्ला नेतृत्वमा शीर्ष नेताहरूकै स्वार्थ बाझिएपछि र आफूनिकट नेतालाई जिम्मेवारी दिन खोजिएपछि एकता प्रक्रिया टुंगो लागेको छैन।

‘जिल्ला कमिटीको नेतृत्वको सवालमा पार्टी केन्द्रको निर्णय पर्खेर बसेका छौं’, प्रदेश ५ का सहइन्चार्ज दलबहादुर रानाले भने, ‘तर जिल्ला कमिटी मातहतका स्थानीय तहको एकता प्रक्रिया भने हामीले धेरै ठाउँमा धमाधम सम्पन्न गरिरहेका छौं।’ प्रदेश ५ अन्तर्गतका ३ जिल्लाबाहेक अन्य जिल्लामा स्थानीय तहका गाउँ, नगर, वडा कमिटीको एकता धमाधम भइरहेको उनले बताए।

‘सबै स्थानीय तहका पार्टी कमिटी बनाउने, कमिटीका साथीहरूको सपथ गराउने र स्थानीय तहका कार्यक्रम बनाउने गरी काम भईरहेका छन्’, उनले भने। सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पनि सुदूरपश्चिम क्षेत्रका स्थानीय तहमा पनि पार्टीले एकता प्रक्रिया थालिसकेको बताए। ‘जिल्लाको मात्रै हो एकता नटुंगिएको, तर प्रदेशका अधिकांश स्थानीय तहमा पार्टी एकता भइसकेको छ’, उनले भने, ‘जिल्लालाई मात्र केन्द्रको निर्णय पर्खेका हौं, स्थानीय तहमा प्रदेशले नै अगाडि बढाएको छ।’

५ असोजमै दुई अध्यक्षले हस्ताक्षर गरी पार्टी पंक्तिलाई पठाएको परिपत्रमा प्रदेश पदाधिकारीलाई आफ्नो तह र मातहतको पार्टी सम्पत्ती एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणाली व्यवस्थित गर्ने, पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्नेलगायत अधिकार दिएको थियो।