९ कार्तिक २०८३, सोमबार

यसरी आयो दाहालको वक्तव्य

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । स्रोतका अनुसार भेनेजुयलामा राजनीतिक संकट बढ्न थालेपछि त्यसमाथि वक्तव्य निकाल्न माहोल बनाउनेमध्येका एक नेता थिए– बलराम बाँस्कोटा। बाँस्कोटा नेकपाका केन्द्रीय सदस्य र राष्ट्रिय सभाका सांसद हुन्। कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनी दुई साताअघि राष्ट्रपति मडुरोको शपथग्रहण समारोहमा समेत सहभागी थिए। उनले त्यहाँ चुलिँदै गएको संकटबारे पार्टीले बोल्नुपर्ने सन्देश अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसमक्ष पुर्‍याए।

त्यहाँ अमेरिकी हस्तक्षेप भएको, जननिर्वाचित राष्ट्रपतिलाई हटाउन खोजिएको कदमबारे नेताहरूलाई ब्रिफिङ गरे। एउटा कम्युनिस्ट पार्टीले कुनै पनि हस्तक्षेपप्रति मौन बस्न नहुने भन्दै नेताहरूबीच वक्तव्य दिने समझदारी बन्यो।

वक्तव्यको भाषा कस्तो हुने र कसरी जारी गर्ने भन्ने टुंगो थिएन। नेकपाकै एक नेताले वक्तव्य तयार पारे र दाहालसमक्ष पुर्‍याइयो। दाहालको नामबाट वक्तव्य जारी भयो। बाँस्कोटाले वक्तव्य सही आएको तर आफूहरूसँग सल्लाह नभएको प्रतिक्रिया दिएका छन्।

‘राजनीति भनेको स्पष्ट हुनुपर्छ, आफ्नो क्याम्प क्लियर गर्नुपर्छ, अध्यक्षले भेनेजुयलाको सन्दर्भमा जुन विश्लेषण गरेर वक्तव्य दिनुभएको छ त्यो सही छ,’ उनले भने, ‘वक्तव्य जारी गर्ने विषय मसँग सल्लाह भएको होइन।’

स्रोतका अनुसार वक्तव्य जारी गर्ने विषयमा नेता नेपाल र अध्यक्ष दाहालबीच कुराकानी गर्ने नेतामा बाँस्कोटा नै थिए। उनको भेनेजुयलालगायत मुलुकसँग हुने साना पार्टीको अलाइन्समा संलग्नता छ।

उनी दुई साताअघि एउटा सम्मेलनमा त्यहाँ पुगेका थिए। सम्मेलनबाट मडुरोको शपथग्रहणमा सहभागी भएका थिए। आउँदो फेब्रुअरी २२ देखि २७ सम्म जनपक्षीय पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नेता नेपाल र बाँस्कोटालगायत जाने कार्यक्रम छ। ‘माधव कमरेड र म त्यो कार्यक्रममा जाने तयारीमा छौं,’ उनले भने, ‘यही सम्मेलनको तयारीका लागि यसअघि भेनेजुयला गएको हुँ।’