काठमाडौं, ५ माघ । राष्ट्र बैंकले महँगी अघिल्लो वर्षको तुलनामा कम भएको जनाएको छ । बैंकको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रूपले मात्र बढेका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा चालु खाता घाटा विस्तार भई १ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा ६४ अर्ब ११ करोड थियो । शोधनान्तर स्थिति पनि ८५ अर्ब ३२ करोडले घाटामा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ अर्ब ४८ करोडले घाटामा थियो । पुँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७८ करोड रहेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रुपैयाँ थियो ।
कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको ११ खर्ब २ अर्ब ५९ करोडबाट घटेर मंसिर मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोडमा सीमित भएको छ । विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत छ । बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
पाँच महिनामा वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गन्तव्यका आधारमा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३०.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोसाक, पस्मिना, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, रोजिन, छाला र जुत्ता–चप्पललगायतका वस्तुहरूको निर्यात घटेको छ ।















प्रतिक्रिया