लण्डन, ३० पुस । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ३–० ले हराएको हो ।
बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरे । मेस्सीले ला लिगामा ४०० गोलको आँकडा बनाएका छन् ।
१९ औँ मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो । मेस्सीले ५३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
५९ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–० को जित निश्चित गरेको हो ।
जितपछि शीर्षस्थानको बार्सिलोनाको १९ खेलबाट ४३ अंक भएको छ र उसले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग पाँच अंकको अग्रता कायम राखेको छ ।
आइतबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई १–० ले हरायो । उसको १९ खेलबाट ३८ अंक भएको छ ।















प्रतिक्रिया