९ कार्तिक २०८३, सोमबार

शून्य विद्यार्थी, आठ प्राध्यापक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इतिहास केन्द्रीय विभागमा ८ जना प्राध्यापक कार्यरत छन् । तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ ।

८ जना प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक पचास लाख रुपैयाँ भन्दा धेरै रकम खर्च गरिरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

त्रिविले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको मासिक तलब सुविधा अधिकतम क्रमशः ५४ हजार, ४९ हजार र ४३ हजार रुपैयाँ तय गरेको छ । विभागको वार्षिक प्रशासनिक खर्च नौ लाख रुपैयाँ छ ।

विद्यार्थीबाट उठाएको रकमबाट प्रशासनिक खर्च चल्थ्यो । विद्यार्थी नै नभएपछि यो खर्च कसरी धान्ने भन्ने चिन्ता विभागलाई छ ।

विभागका प्रमुख शंकर थापाले भने, ‘प्राइभेट विद्यार्थीको थेसिस हेर्ने र नयाँ विद्यार्थी कसरी ल्याउने भन्ने योजना बनाएर दिन बित्छ ।’

विभागमा विद्यार्थी नभएको यसपटक मात्र होइन । २०७३ मा एक, २०७२ मा दुई र २०७१ मा ६ जना विद्यार्थी भर्ना भएका थिए । २०६९ मा ९३ विद्यार्थी भर्ना भएका थिए ।

‘केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने वर्ष परेका कारण चुनाव लड्न विद्यार्थी भर्ना भएका रहेछन्’, विभाग प्रमुख थापाले भने, ‘चुनाव सकिए पछि थुपै्र विद्यार्थीले भर्ना हुँदा तिरेको रकम फिर्ता गरिदिन अनुरोध गर्दै निवेदन दिन आए । भर्ना हुँदा तिरेको पैसा फिर्ता दिन नमिल्ने बतायौं । त्यसपछि त विद्यार्थी आउनै छाडे ।’