९ कार्तिक २०८३, सोमबार

लगानी बोर्डको मिलेमतोमा बीपीसीको मनपरी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । काठमाडौं । भारतीय कम्पनीको ८५ प्रतिशतभन्दा बढी हिस्सा रहेको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको शेयर एकमुष्ठ रुपमा चिनियाँ कम्पनीलाई बिक्री गर्दा बुटवल पावर कम्पनी (बीपीसी)को ठूलो स्वार्थ लुकेको खुलेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

हिमताल हाइड्रोकोे नाममा रहेको शेयर बीपीसीले खरिद ग-यो भने भारतीय कम्पनी जीएमआरको नाममा रहेको शेयर चिनियाँ कम्पनीले खरिद गरेको थियो । तर, गत वैशाखमा नै खरिद बिक्री भएको आयोजनाका उक्त शेयरको बारेमा बीपीसीले मंगलबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएपछि विपीसीको बद्नीयत बाहिर आएको हो ।

भारतीय कम्पनीले नेपालको नदी चिनियाँलाई बेचेको लामो समयसम्म पनि जानकारी नै नदिई नाफा कमाउँदा समेत लाइसेन्स बेच्न अख्तियारी दिने लगानी बोर्ड चुप बस्नुले बोर्डको पनि मिलेमतो देखिन्छ । बोर्डका अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ । प्रधानमन्त्रीको अध्यतामा नै बसेको बोर्ड बैठकले नेपालको खोला भारतीय कम्पनीले चिनियाँ कम्पनीलाई बिक्री गर्ने गरी अनुमति दियो ।

सो बारेमा लामो समयसम्म गुपचुप राखियो । कोही कसैलार्ई जानकारी दिइएन । सार्वजनिक चासोका विषयमा समेत कुनै जानकारी नदिइ चुपचाप रुपमा खोला बिक्री भयो । माथिल्लो मस्र्याङ्दीको किनबेचका बारेमा संघीय संसदको अर्थ समिति र सार्वजनिक लेखा समितिमा समेत कुराकानी भयो । ती समितिमा राम्रै छलफल पनि भयो ।

अर्थ मन्त्रालय, लगानी बोर्ड, ऊर्जा मन्त्रालयका पदाधिकारी निम्त्याइए । तर, छलफलबाट खासै ठोस निर्देशन दिइएन । निर्देशन दिने क्रममा नै रहेको ती समितिका सभापतिले बताएका छन् ।

नेपालको नदी जिम्मा लिने, आयोजना बनाउने प्रचार गर्ने र काम गर्न नसकेपछि नाफा कमाएर शेयर संरचना नै बिक्री गरेर हिड्ने प्रवृत्ति मौलाउन थालेको छ । सांसदहरुले कानुनी प्रबन्धमा रहेको छिद्रको प्रयोग गरेर केही नाफाखोर कम्पनीले आफ्नो सीमित स्वार्थ सिद्ध गरेको संसदीय समितिको बैठकमा चर्का कुरा गरे पनि निर्णय भने केही पनि गरेका छैनन् ।

बुटवल पावर कम्पनीले ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको १९ दशमलव चार प्रतिशत शेयर खरिद गरेको मंगलबार नेप्सेलाई जानकारी गरायो । कम्पनीले हिमताल हाइड्रोको नाममा रहेको शेयर खरिद गरेको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको उसले पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले हिमतालको नाममा रहेको ६ लाख एक हजार ३ सय कित्ता शेयर बुटवल पावरको नाममा कायम भएको नेप्सेलाई जानकारी गराएका छन् ।

हिमताल हाइड्रो र भारतीय कम्पनीका नाममा रहेको सो आयोजनाको शेयर गत वैशाख २३ गते नै बिक्री भएको समेत प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले उपलब्ध गराएको पत्रमा उल्लेख छ ।

आयोजना लिने र काम नगरी शेयर स्वामित्व मात्रै बिक्री गर्दै आएको भन्दै संसद्को अर्थ समितिमा समेत सो विषयले प्रवेश पाएको छ । आयोजनाको काम अगाडि बढाउनुभन्दा शेयर स्वामित्व हस्तान्तरण भएको विषयमा अर्थ समितिले अर्थ मन्त्रालय, लगानी बोर्डलगायतका निकायसँग यसअघि नै छलफल गरेको थियो ।