
काठमाडौँ, १५ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आइतबार प्रदेश नं. २ को प्रादेशिक कार्यालय वीरगंजको आदर्शनगरमा स्थापना गरेको छ ।
कार्यालयको आरम्भ समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रदेश नं. २ अन्तर्गत बैंकका ८ वटा शाखाहरु (बीरगंज, औरही, बर्दिवास, गौशाला, जनकपुर, निजगढ, पथलैया तथा कोल्हवी)बाट व्यापार विस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाइजस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले केहीदिन अघि प्रदेश १ मा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याइसकेको छ । अरु प्रदेशमा पनि कार्यालय स्थापनाको तयारी भइरहेको बैंकले जनाएको छ ।















प्रतिक्रिया