लण्डन, ९ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गर्दै शानदार जित निकालेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ६–२ ले हराएको हो ।
एभर्टनको पोस्टमा आधा दर्जन गोल गर्ने क्रममा टोटनह्यामका सन हेङ्ग–मिन र ह्यारी केनले दुई दुई गोल गरे । यस्तै डेल अली र क्रिष्टियन एरिक्सनले एक एक गोल गरेका हुन् ।
२१ औँ मिनेटमा थियो वालकोटको गोलबाट एभर्टनले सुरुवाति अग्रता लियो । २७ औँ मिनेटमा सनले टोटनह्यामका लागि बराबरी गोल फर्काए । ३५ औँ मिनेटमा अली तथा ४२ औँ मिनेटमा केनले गोल गरेपछि पहिलो हाफमा टोटनह्यामले ३–१ को अग्रता लियो ।
यस्तै दोस्रो हाफमा पनि एभर्टनले एक तथा टोटनह्यामले तीन गोल गर्न सक्यो । ४८ औँ मिनेटमा एरिक्सनले गोल गर्दै माउरिसियो पोकेटिनोको टिमको अग्रता ४–१ को अवस्थामा लगे ।
५१ औँ मिनेटमा गिल्फी सिगुडर्सनले एभर्टनका लागि गोल गरे । त्यसपछि टोटनह्यामले थप दुई गोल गरेको हो । उसका लागि ६१ औँ मिनेटमा सन तथा ७४ औँ मिनेनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै ६–२ को जित निश्चित गरे ।
जितपछि तेस्रो स्थानको टोटनह्यामले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी दुईमा झारेका छ । टोटनह्यामको १८ खेलबाट ४२ तथा म्यानचेस्टर सिटीको ४४ अंक छ । शीर्षस्थानमा रहेको लिभरपुलको ४८ अंक छ । एजेन्सी















प्रतिक्रिया