
बेलायत । बेलायत संसारको अति विकसित मुलुकमा पर्दछ । योे देशमा वर्षेनी ६ सय जना घरवारबिहीनहरुको चिसो, ड्रग्स, आत्महत्याको कारणले मृत्यु हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, एक रिपोर्ट अनुसार ५ बर्षको अवधीमा इंगल्याण्ड र वेल्समा मात्रै २६२७ बेलायती घरबारबिहीनहरुको असमयमै मृत्यु भएको छ ।
यही कुरालाई मध्यनजर गर्दै बेलायतमा बसोबास गर्ने नेपालीले स्थानीय घरबारबिहीनहरुको लागि खाना र न्यानो कपडा व्यवस्था गर्न एक च्यारिटी कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेका छन् । आयोजक बेलायतस्थित बेजिंगस्टकमा बसोबास गर्ने समाजसेवी शिवजी श्रेष्ठले आफ्नो व्यवसायिक संस्थामा आयोजित च्यारिटी कार्यक्रमबाट उठेको रकमले क्याम्रोज डे सेन्टर र नाइट लाइट विन्टर सेल्टर संस्था मार्फत असहाय घरबारबिहीनहरुलाई अत्यावश्यक वस्तुको व्यवस्था गर्ने बताए ।
कार्यक्रममा स्थानीय बेजिंगस्टक एण्ड डिन काउन्सिलका मेयर सोन केटिंगले एउटा नेपालीले बेलायतमा रहेका बेलायती असहायहरुको लागि यस किसिमको कार्यक्रम गर्नु सह्रानीय कार्य भएको उल्लेख गर्दै नेपाली हृदयको सम्मान गर्ने बताए । रकम संकलनको लागि लिलाम बढाबढ गर्न आफ्ना नातिनीले आफूलाई दिएको उपहार प्रदान गरेको उनले बताए ।
त्यसैगरी स्थानीय लेबोर पार्टीका अध्यक्ष तथा काउन्सिलर किम टेलरले बेलायतमा रहेका नेपालीहरु बेलायती समाजको अभिन्न अंग रहेको कार्यक्रमले प्रमाणित गरेको टिप्पणी गरे । नेपाली डिनरसहित नेपाली परम्परागत सारंगीबाट शुरु भएको कार्यक्रममा सयपत्री सांस्कृतिक समाजका अध्यक्ष डम्बर सिंह, प्रभा बिक, बिष गुरुङ, शुभाशिश श्रेष्ठ, आरन, एन्जल, एरिना लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए ।
बेलायतमा व्यवसाय गरिरहेका शिवजी श्रेष्ठ नेपालको लागि विभिन्न च्यारिटीमा संलग्न भइरहन्छन् । ‘आफ्नो देशको लागि गर्ने कुरा त छदैछ, तर आफू बसेको देशको लागि पनि केहि गर्नु आफ्नो कर्तव्य हो’, उनी भन्छन्, ‘संसारमा जहाँका मानिस चिसोले मरेपनि अहिलेको आधुनिक विश्वलाई चिमोट्ने कुरा हो, जे होस् यसले एउटा सनदेश भने दिएको छ ।’















प्रतिक्रिया