ल्होछार दुई शब्दको संयोजनबाट बनेको हो। जसको अर्थ शेर्पा, भुटानी, योल्मो, डोल्पाली,तिब्बती लगायत भाषाहरूमा ‘लो’ अर्थात वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ‘लोसार’को अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । यसै अनुरूप यस चाडलाई भब्य रुपमा मनाउने गरिन्छ ।
ल्होछार मनाउने समुदायले बौद्ध ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार ‘लो’ अर्थात वर्षलाई १.ज्यिवा, २.लअङ्, ३.ताग, ४.योस, ५.ड्रुग्, ६.ड्रुल्, ७.त, ८.लुग, ९.ट्रेल्, १०.ज्य, ११.ख्यी, १२.फग गरी बाह्रवटा जीवजन्तुका नाम दिएर गन्ने गरिन्छ र उक्त बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।
जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको ल्होछार (नयाँ बर्ष)को स्वागतको लागि ठूलो उत्सब गरिन्छ ।
कसरी मनाइन्छ लोसार ?
ञिशुगु अर्थात कृष्ण पक्षीय चतुर्दशीको दिन अथवा जान लागको पुरानो बर्षको विदाई कार्यक्रममा ‘गु थुग्पा’ खान्छन् । नौ किसिमका विभिन्न चीज (गेडागुडी)हरू हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकै ठाउँमा जम्मा भई रमाइलो गरी ‘गु थुग्पा’ खाइन्छ । आउन लागेको लोसारको लागि विशेष गरी घरहरू सजाइन्छ । भरको भित्ता पाखामा स्वस्ति चिन्हहरू कोर्दछन् । चाङका चाङ रोटी (खमस्य) पकाएर थुपार्छन् ।
विभिन्न किसिमका फलफूल र गेडागुडीहरू पनि सजाइन्छन् । लोसारको विहान प्रातकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन । विभिन्न चिज विज हालेर बनाएको पीठोको परिकार (क्षेमर) र अमृत खाने गर्छन् । घरको आँगन र डाँडा पाखामा रंगीचंगी ध्वजाहरू फरफराउँछन् । साङसेरक्येम (कुलदेवता बुझाउन) लगाउँछन् ।
आफ्नो समूहका ठूलाबडा र गोम्पा तथा बौद्ध (चैत्य)को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको आँगनमा ध्वजा उठाई साङ सेरक्येमको पूजा सिद्धिएपछि घरपरिवार सबैले “किकी सो सो ल्ह ग्यल्लो” (देवताको जय, दानवको पराजय) भनि जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यस पछि दोश्रो दिनबाट फेरि गोम्पा वा सार्वजनिक स्थलमा भेलाभई एक आपसमा ‘टशि देलेक’ आदानप्रदान गर्दै आफ्ना मौलिक भेषभूषामा उभिएर मिठोमिठो खानेकुराहरू आदान–प्रदान गरी लोसार मनाउने गर्छन् । यसरी शेर्पा समाजमा व्यक्तिगत र सामाजिक रूपमा ठूलो हर्षोल्लासकासाथ १०-१५ दिनसम्म लोसार मान्ने परम्परा छ ।
शेर्पाले जस्तै तामाङ, गुरुङ र भोटेहरूले पनि हर्ष बडाई गरी यो लोसार चाड मान्दछन् । ज्योतिषशास्त्र र भौगालिक बस्तुस्थिति अनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट नयाँ बर्ष लागेको हुन्छ । नयाँ बर्षको मतलव चन्द्र, सूर्य र अन्य ग्रह नक्षत्रहर दक्षिणतिर जाने क्रम सिद्धिएर उत्तर तिर फर्केको हुन्छ ।
यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी, चरा चुरुंगी, किरा फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् , सर्पले काचुली फेर्छन र पृथ्बीभित्र छिपेका जीव बाहिर निस्कंछन । त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा ल्होछार मान्ने गरेको हो । वास्तविक बस्तुस्थिति यस्ता हुन् तापनि शेर्पा समाजले छयोठुल दुछेन (फागुणमा बुद्धले धार्मिक शक्ति प्रदर्शन गरी तैर्थीकलाई हराएको प्रातिहार्य दिवस पारेर लोसार चाड मान्ने गरेका छन्।
तमु लोसार,सोनाम लोसार,ग्याल्पो लोसार एकै दिन नपरेपनि यिनीहरुको सांस्कृतिक बिरासत एउटै हो। यी तिनै पर्वहरुको अर्थ नयाँ वर्ष नै हो र मनाइने प्रक्रिया फरक भएपनि एउटै भावले मनाइन्छ। अंग्रेजी नयाँ बर्षको वरिपरि मनाइने यी इथिकल पर्वहरु ऋतुसंग अभिन्न रुपले जोडिएका छन्।
संसारभर डिसेम्वर अन्तिम हप्ता तमुहरुको ल्होछार पर्व उल्लासमय तरिकाले मनाउने तयारि हुँदैछ । संसारभरका तमुहरु बीच प्रत्येक वर्ष भव्य एवं सानदार रुपमा तमु,तामाङ्ग, शेर्पाहरुको महान् पर्व तथा नयाँ वर्ष ल्होछार मनाउने परम्परा बनिसकेको छ । गत बर्षहरुमा पनि ल्होछार माघी लगायतका जनजातिका पर्वहरु अत्यन्त व्यवस्थित र भावनात्मक लगावले ओतप्रोत हुन्थ्यो । अहिले पनि त्यहि भावले यी पर्वहरु मनाउने तयारी चलेको छ। संसार भरिकाका जनजातिहरु आत्मैदेखि समर्पित भएर आफ्ना पहिचानका पर्वहरुमा भाग लिदै र रमाउदै आएका छन् ।
जनजातिका यी पर्वहरु आफैमा शानदार मात्र नभएर नेपालको सम्पूर्णताभित्रको एकताको प्रतिध्वनिहरु हुन् । बुझ्नेले जसरी बुझुन, यी पर्वहरुमा छुट्टै तमुवान खुम्बुवान, थारुवान वा मगरात मात्र नभएर सिंगो नेपालको राष्ट्रियता झल्किन्छ । त्यहाँ एउटा जाति विशेषको मात्र पूर्वाग्रह हुदैन , जातिय पहिचानको चित्रभित्र सिंगो राष्ट्रियता अटेको अटेको हुन्छ । ति पर्वहरुमा अलग पूर्वाग्रह हुँदैन , त्यहाँ त अस्तित्व र पहिचानको लागि सिंगो आकाशभित्रको मिठो भावना र सपना हुन्छ ।
पहिचानसंग किन सम्बन्धित छन् जातिय पर्वहरु ?
जनजातिका आफ्ना मौलिक पर्व जातिय पहिचानको पक्षमा अहिलेसम्म दिइएका तर्कहरुलाई तराजुमा राखेर दुवै पहेलुहरुको नजर अन्दाज गरौँ । दुवै तर्फको अलिक भिन्न रुपमा नमिठो लाग्ने तर सारमा ति पर्वहरुमा मात्र “सत्य शिवम् सुन्दरम्” को महान सपनाले सिंगारिएका राष्ट्रियताका अंशहरु भेटिन्छन । पहिचानको सांस्कृतिक अन्तर्सम्बन्ध विरुद्धका तर्कहरु हेर्दा मलाई मानवताको उच्च आदर्शलाई सम्मान गर्ने महानपुरुषहरुका इतिहासले पहिचान विरोधीहरुलाई गिज्याए झैं महशुस हुन्छ।
अन्तत सबैले स्विकार्नु पर्दछ कि पहिचान राष्ट्रियता ,नाम, थर, जात बर्ण र भिन्न संस्कृति सहितको जातिय अस्तित्वको मुर्त तस्विर हो ! पहिचान र संस्कृति अन्तर सम्बन्धि छ, पहिचानबाट संस्कृति झिकिदिनेहो भने त्यहाँ केहि पनि बाँकी रहदैन। पहिचान भाषा, सस्कृति, इतिहाँसको बिरासत, पहिरन र परम्पराको सामुहिक नाम हो। जसलाई जातिय सभ्यता, कुनै एक समुदायको सभ्यता, कुनै एक मानब इकाईको परम्परागत ऐतिहाँसिक बिरासत भन्न सकिन्छ। त्यसैले यो समुदायको मौलिक सांस्कृतिक सम्पत्तिसँग गहन रुपले जोडिएको हुन्छ।
पहिचानबारे बुझाई
बुझ्दै जाँदा,पहिचान त महासागरको ज्वारभाटा र तरंगजस्तै मस्तिष्क भित्र बिकसित प्रकाशपुञ्ज हो भन्न सकिन्छ । मानब मनोविज्ञानमा पहिचान नमेटिने छाप हो। संसारमा भएका महान् दुई तिहाई संघर्षहरु पहिचानका लागि भएका भएका छन् र समाज शास्त्रीहरुले पहिचानलाई मानवता भित्रको दबिएको इथिकल विवेक भनेका छन् । लठ्ठी हानेर पानी अलग गर्न नसकिए झैं पहिचानलाई मानव सभ्यता र राष्ट्रियताबाट कदापी अलग गर्न सकिदैन ।
पंतिकारले केहि महिना अगाडी कुनै एक वक्ताको भाषण सुनेको थियो केही समय पहिला बेल्जियममा । उनले एक नेपाली समुदायलाई पहचिान मेटेर आउनुस्, नेपाली भएर आउनुस् वल्ल तपाईलाई संगठनको नेतृत्व दिनेवारेमा सोच्न सकिन्छ भनेको थिए ।
म उनको भनाई सम्झेर अपराध वोधले लज्जित भएँ । यो मानवता विरोधी र राष्ट्रिय आत्मसम्मान विरोधि भावना हो भन्ने मलाई लाग्यो । उनलाई मैले प्रश्न गर्छु पहिचान मेटेर कुन राष्ट्रियताको कुरा गर्नु भएको हो महोदय ! नेपाली राष्ट्रियता त भिन्न भिन्न पहिचानका टुक्राहरुको माला हैनर ?
संसारमा पहिचान वाहेकको कुनै पनि चिजको कल्पना नै गर्न सकिदैन । फूलहरुको राजा पारिजात पहिचानले नै सवै फूलहरुबाट अलग भएको हो । त्यसको सुगन्ध फरक छ, त्यसको आकर्षण फरक छ, पात र वोटको आकार पनि फरक छ । त्यसैले यो पारिजात हो भनेर हामीले चिन्दछौं । त्यो नै उसको परिचय वा पहिचान हो ।
ब्रम्हाण्डमा भएका हरेक चीजहरुमा उसका विशेषता, विशेष गुण, उसको स्वरुप र अन्तरनिहित तत्व मिश्रणले उसलाई अरुबाट अलग पहिचान दिएको हुन्छ । पदमिनी, लालीगुँरास र तुलसीको पनि त्यहि हो अवस्था । भला मानवले कसरी पहिचान छोड्न सक्ला ? उसको घरायसी संस्कार, मातापिताको शिक्षा, समाजको छाप भिन्न दर्शनप्रतिको उसको लगाव,मानवतालाई सम्वोधन गर्ने उसको चेतनापुञ्ज र संसार बुझ्ने उसको चेष्टाले नै पहिचानलाई आकार दिन्छ । के मानवले आफ्नो पहिचानबाट अलग भएर बाँच्न सक्ला ? समाजबाट एकलव्य भएर आफ्नो भविष्यको गोरेटो तय गर्न सक्ला ? संस्कार र चाहनाहरुलाई पहिचानबाट अलग गराएर कसैले सपना देख्न सक्ला ? म त भन्छु, सक्दैन ।
पहिचानबारे समस्या केवल बुझाईमा हो ! सम्पूर्ण मानब सभ्यताहरुलाई सम्मान गर्ने ब्याक्तिले पहिचानको बिरोध गर्दैन। पहिचान आँफैमा इतिहाँस हो, यो कुनै मानब जाति वा कबिलाको इतिहाँस देखि अहिलेसम्म संग्रह गरेको सांस्कृतिक सम्पत्ति हो। मेरो जातिको मेरो पहिचान जति मूल्यमान छ उसको जाति वा सम्प्रदायको पहिचान पनि उत्तिकै मूल्यमान छ भन्ने यथार्थ बुझ्ने हो भने जातीय पहिचान समस्या हुदैन। त्यो भाषिक, जातिय , धार्मिक र आस्थागत पहिचान मिलेर सिंगो राष्ट्रियताको निर्माण हुन्छ। हाम्रो नेपाली राष्ट्रियताको आधार पनि सयौं जनजाति, आर्य, खस,भोजपुरा मगध सबै संस्कृतीहरुको अन्तरघुलनले बनेको छ। त्यसबाट कुनै एक अलग हुदा नेपाली राष्ट्रियता अधुरो हुन्छ। यो बुझाइले जातिय संघर्ष हैन जातिय एकताको बिकास हुन्छ। पहिचानलाई बुझ्ने यो बुझाई नै सहि बुझाइ हो।
पहिचानको सुन्दरतालाई देख्न नसक्नेहरुले यो भित्र कुरुपता, द्वन्द र संहार मात्र देख्छन। पहिचान भित्रको सुन्दरता भित्र त यस्तो हिरा छ जसलाई हामीले मुल्यमा खरिद गर्न सक्दैनौ। त्यसैले समाज बिज्ञानमा रुचि राख्नेहरुले मात्र पहिचानको दर्पणभित्र हरेक जात जाति वा इथिकल समूहहरुका महान संस्कृति बिरासत र भिन्नभिन्न मानब सभ्यताहरू देख्न सक्छन। पहिचानको मूल्य तिनीहरुले मात्र चिन्न सकेका हुन्छन। मानब मनोविज्ञानमा पहिचानको भूमिका कति गहनरुपले अन्तरसम्बन्धि छ त्यो समाजशास्त्रीहरुलाई थाहा हुन्छ।
पहिचान इथिकल सभ्यताको नाम हो, जुन इथिकल कल्चरसँग अभिन्न रुपले जोडिएको हुन्छ
दक्षिण अफ्रिकामा अंग्रेज शासनको दासताको विरुद्ध त्यति ठूलो लडाई भयो । त्यसको नेतृत्व काला जातिका नेता नेल्सन मण्डेलाले गरे । त्यो पनि वर्ण पहिचान सहितको स्वाभिमानका लागि लडिएको लडाईँ थियो । एउटा उत्पीडक जातिले छुट्टै संस्कार, भावना, चेतना र सपना भएको अर्को राष्ट्रको उत्पीडित जाति वा वर्गलाई दासताको सिक्रीले वाँधिएर राखिएको थियो त्यहाँ । काला जातिको पहिचानलाई वन्धक बनाइएको थियो ।
काला जातिको स्ववर्ग, स्वजाति र स्ववर्णको पहिचानको लागि औपनिवेषिक दासताको विरुद्ध अफ्रिकासँग सँगै सिंगो धर्ती उठ्यो, मानवता खारियो, पहिचानले मानवतासँगै नाता गाँस्दै राष्ट्रियतासँग भावनाले विश्वासको गीत एकै पटक गुञ्जायो धर्तीमा । चेतनाले विजय पायो, पहिचानसँगै राष्ट्रियताको बत्ति बल्यो र देश प्रगतिको पथमा लम्किन सफल भयो । त्यहाँ पनि पहिचान दवाउनेहरुलाई पहिचान मिचिएको उत्पिडित जातिले जितिछाड्यो ।
पहिचान खाली जाति विशेषसँग मात्र गाँसिदैन । यो संस्कृति, धर्म, वर्ग, भाषा, क्षेत्र र वर्णसँग पनि गाँसिएर आँउछ । त्यसैले कसैको पहिचानलाई मेटेर आउने धम्की भनेको कसैको आत्मा स्वभिमान प्रतिको चुनौती हो, भावनााप्रतिको खेलवाड हो । पहिचान आकाश हो, जहाँ सवै ताराहरुको अस्तित्वले आफ्नो क्षेत्र, स्वाभिमान र नाम पाएको छ । यदि कसैले आकाशलाई इन्कार गर्दछ भने त्यो त महामूर्ख हो ।
सोचौं, के नेपाल मात्र पहिचान वेगर अस्तित्वमा रहन सक्ला ? सक्दैन, किनकी पहिचानले नै धर्तीले आफ्नो विशेषतालाई अन्य समुह भन्दा अलग रुपमा वचाई राखेको छ । पहिचान वाहेक नेपाल बच्नै सक्दैन । पहिचान राष्ट्रियताको आत्मा हो । यदि आत्मा नै छैन भने आत्माविहिन राष्ट्रियताको के काम ? निर्जीव वस्तुको पहिचान हुन्छ । माटो, ढुंगा, पानी सवैको आ—आफ्नो पहिचान छ । बोट विरुवा, किट, पतगं, जनावर, चरा, चुरुगीं सवैको आ—आफ्नो पहिचान छ । दुनियाँका फरक—फरक विशेषताहरु नै पहिचान हुन् । पहिचान वाहेकको कुनै वस्तुको कल्पना गर्नै सकिदैन । त्यसैले पहिचान र विशेषताको सवैले सम्मान गर्न सक्नु पर्दछ ।
पहिचान विरोधिहरुले भन्ने गरेको एउटा उदाहरण हो पृथ्वीनारायण शाहको दिब्य उपदेशको भनाई “नेपाल चारजात छत्तिस वर्णको फुलवारी हो, त्यसमा पहिचान स्वीकारिएको छैन.’ शव्द शव्द केलाएर हेर्दा रुपमा यो सवैका पहिचानप्रति समानभाव दर्शाएको जस्तो देखिन्छ । उक्त भनाईले पनि सारमा पहिचानलाई सम्वोधन गरेको छ । चार जात र छत्तिस बर्ण भन्नु नै पहिचान हो। ति सबैका संस्कृति,चाल, चलन र धार्मिक आस्थाहरुको सम्बोधन हो। पहिचनको सम्वोधन गरेको उक्त भनाईको अन्तरवस्तुहरु जस्तै भाषा, जातीय संस्कार, धर्म र वृत्तिहरुलाई सम्मानको नाटकसँग त्यो बखत व्यवहारमा कुचिएको पनि सत्य हो ।
नेपालमा पहिचानको अबरोधबारे निर्मम समिक्षा गर्दा भन्ने पर्ने हुन्छ, नेपालको एकीकरण पछी लगाएतका राजाहरु वा सरकारले नेपाली भाषा वाहेक कुन भाषिकाको सम्मानमा कस्तो कार्यक्रम ल्याए त ? कुन धर्मको आस्थालाई उनले वढी प्रोत्साहन गरे ? कुन जातीय आत्मसम्मानको लागि उनको विशेष योगदान रह्यो ?
आदि कार्यहरुले सवै पहिचानलाई निमिट्यान्न पार्दै, हिन्दु, ब्रम्ह्णवादी र त्यसको वरिपरि रहेका पहिचानको व्यवहारत सेवा गरेको देखिन्छ । त्यसले पहिचानको मुद्धा हिजोबाट नै थिएन भन्ने कदापि होइन । हिजो पनि थियो तर दवाइएको थियो ।आफ्नो बलवुताले किरातका गुठीहरु संरक्षित रहे । हिन्दुका गुठी, मठ मन्दिरबाहेक अन्य आस्था र पहिचानलाई चण्डाल बनाउने कर्मसँग जोडेर हेर्ने संस्कार र कानूनलाई वढवा दिइएकै हो । भानुभक्तको रामायणलाई पुरस्कृत गरिँदा त्रिपिटकलाई दण्डित गरिएकै हो ।
भक्तबहादुर संगैका युद्धबन्दी पदम आचार्यलाई पहिचान कै आधारमा किर्तिपुरको लडाईमा जातीय विभेद गरी एकजनालाई मृत्युदण्ड र अर्कोलाई बाहुन भएकोले किर्तिपुरको गुठी संचालकको जिम्मा दिइएकै हो । भनाईभन्दा गराई नै ठूलो हो ! त्यसागर सागर मिलेर महासागागर बने झैं भिन्न भिन्न पहिचान मिलेर राष्ट्रियता वा देश बन्ने हो। सैले हामी सपनामा बरबराउनु हुदैन । किनकी हरेक मानवको यो पनि धर्म हो कि सवैको अस्तित्वलाई आफ्नो विशेष राजकीय सम्वोधन गुम्ने डरले अस्वीकार गर्नु हुदैन ।
पहिचान समृद्धिको आधार हुन सक्छ
जातिय पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणले विकास र समृद्धिमा सहयोग पुग्छ की पुग्दैन ? यो आलेखको बहस मुख्य यसै प्रश्नमा केन्द्रित छ। कतिपयले कला, साहित्य, जाति, भाषा, धर्म, संस्कृति र संस्कारलाई विकास नै ठान्दैनन् । ठिक विपरीत चिनको तिब्बतले भने यीनै कुराहरुबाट विकासको नयाँ संभावना पहिल्याएको छ । संसारमा संस्कृतिक,भाषिक र धार्मिक पहिचानको संरक्षण,सम्बर्धन र प्रचार प्रसार गरेर उभो लागेका धेरै क्षेत्र वा देशहरु छन्।
म्यान्मार,कम्बोडिया इन्डोनेशिया,भारत ,ब्राजिल र तिब्बतको अर्थतन्त्रको मुख्य हिस्सा सास्कृतिक प्रयटन हो। यिनीहरुलाई संरक्षण गर्ने दायित्व राज्यको हुनुपर्ने हो। तर नेपालमा पहिचानलाई सत्रुवत ब्याबहार किन गरिन्छ ? यो नै बुझिनसक्नु छ। पहिचानलाई देश समृद्धिको आधार बनाएर अघि बढ्ने सक्नेहो भने नेपालका भिन्न पहिचानहरु मुलुकको लागि बरदान साबित हुन सक्छन।
हाम्रो छिमेकी तिब्बतको उदाहरणलाई लिऊ। तिब्बतले छोटो समयमा नै आर्थिक रुपमा फड्को मारेको छ। छोटो समयमा विकास गरेको तिब्बतले नेपाल लगायत दक्षिण एसियाका बिभिन्न मुलुकलाई विकास र समृद्धिको पहिचानको संरक्षणमा नयाँ उदाहरण प्रस्तुत गरेको र यसको श्रेय तिब्बतको जातिय पहिचान तथा कला, संस्कृति,संस्कारलाई जाने तिब्बती अधिकारीहरु बताउछन् ।
ल्हासामा रहेको सताब्दिऔ पुरानो पोताला दरवार हेर्नमात्र बार्षिक करोड भन्दा बढी आन्तरिक एवं बाह्रय पर्यटकहरु आउने गरेको त्यहाँका अधिकारीहरुको भनाई छ । यसले के देखाउछ भने पहिचान समृद्धिको एक आधार हुन सक्छ र नेपालको सरकारले पहिचान पक्षधरहरुको मुद्धामा चासोमात्र देखाएर पुग्दैन। उनिहरुको भाषा,संस्कृति, भेषभुषा र रहनसहनलाई नीति बनाएर संरक्षण गर्नु आवस्यक छ।
















प्रतिक्रिया