काठमाडौं, २० मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको पार्किङ्गलाई साँघुरो भएको बहानामा सुन तस्करीमा संलग्न भई हाल थुनामा रहेका व्यापारी बिमल पोद्दार सञ्चालक रहेको रसुवा केडी जेभी कम्पनीलाई पैसा समेत संकलन गर्ने गरी महाप्रबन्धक राजकुमार क्षेत्रीले पार्किङ्गको काम दिएका छन् ।
क्षेत्रीले पार्किङ्गबाट उठेको पैसामा समेत आफ्नो हिस्सा रहने गरी रसुवा केडीकै मातहतमा दिएको विमानस्थल स्रोतले बतायो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
रसुवा केडी जेभीले ३० बर्षको लागि सञ्चालन जिम्मा पाएको विमानस्थल परिसर भित्रको जमिनमा निर्माण गर्न लागिएको प्यासेन्जर आगमनस्थल हालसम्म पनि सम्पन्न भएको छैन ।
उक्त निर्माणतर्फ विमानस्थल व्यवस्थापनले ध्यान नदिई दिनहुँ करिब ५० हजार रुपैयाँ संकलन हुने पार्किङ्गलाई साँघुरोको बहानामा तल सारिए पछि क्षेत्रीलाई ठुलै लाभ मिलेको बताइन्छ ।
त्यसो त, साढे ३३ केजी सुन काण्डले मुलुकभर हंगामा मच्चाइरहेका बेला विमानस्थलभित्र अवैध धन्दा मौलाउन थालेको छ । व्यापारी सुवास श्रेष्ठले विमानस्थलको डोमेस्टिक कक्षभित्र कानुन विपरित रक्सीको बोर्ड राखेर विज्ञापन गरिरहेका छन् ।
यात्रुहरुलाई हिँड्नै अप्ठेरो हुने गरी श्रेष्ठले विमानस्थलभित्र सम्झौता विपरित यसरी गैरकानुनी रुपमा रक्सीको बोर्ड राखेर विज्ञापन गर्दासमेत उनीमाथि कुनै कारवाही हुन सकेको छैन ।
पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले विमानस्थलका महाप्रबन्धक राजकुमार श्रेत्रीलाई रक्सीको विज्ञापनको बोर्ड तत्काल हटाउन निर्देशन दिँदा पनि हटाइएको छैन ।
महाप्रबन्धक क्षेत्रीको मिलेमतोमा श्रेष्ठले विमानस्थलभित्र विभिन्न कम्पनीको विज्ञापनको बोर्ड राखेर कमाउँदै आएका छन् । श्रेष्ठले क्षेत्रीलाई मोटो कमिसन दिएका कारण मन्त्रीले आदेश दिँदा पनि रक्सीको बोर्ड राखिएको विज्ञापन हटाइएको छैन ।
विमानस्थलभित्र श्रेष्ठले सञ्चालन गरेको कान्तिपुर क्याफे बाहिर पार्किङ्गमा राखिएका विज्ञापनका बोर्ड हटाउनु भनि तत्कालिन महाप्रवन्धक देवानन्द उपाध्यायले २०७४ बैशाखमा पत्र काटेर निर्देशन दिएका थिए । तर, ती बोर्डहरु अझै हटाइएको छैन ।
त्यस्तै, विमानस्थल टर्मिनल भित्र यात्रु प्रस्थान तर्फको स्टेराइलकक्षमा सञ्चालन भइरहेको कफि सपबाट सम्झौता विपरितका सामानहरु विक्री वितरण भइरहेका छन् ।
क्षेत्रीको ध्यान त्यतातिर पुग्न नसक्नु पनि कमिसनकै खेल रहेको विमानस्थलका एक कर्मचारी बताउँछन् । प्रस्थान कक्षतर्फको अध्यागमनभित्र कफी शप, विभिन्न पसल र रेस्टुरेन्टहरु श्रेष्ठ आफैले सञ्चालन गर्दै आएका छन् ।















प्रतिक्रिया